फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले कुल ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यसमा नेपालले जम्मा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ वस्तु तथा सेवाको निर्यात गरेको छ । आयातको तुलनामा निर्यातको हिस्सा असाध्यै सानो छ । अर्थात् नेपालले १०० रुपैयाँको सामान आयात गर्दा १० रुपैयाँको सामान मात्रै नेपालबाट बाहिर पठाइरहेको छ ।
गत आवको पहिलो चार महिनाको तुलनामा यो आवको सोही अवधिमा निर्यात ४.१६ प्रतिशतले बढेको छ । यसमा पनि हरेक वर्ष जसो निर्यात हुने वस्तुको सूची फरक–फरक देखिन्छ । अहिले नेपालबाट फलाम, तामा, धागो, गलैँचा, अलैँची, चिया, प्लाइउड, अदुवा, तयारी पोसाक जस्ता वस्तु सबैभन्दा धेरै निर्यात हुने गरेका छन् । त्यस्तै जुस, जडीबुटी, चाउचाउ, कुकुर बिरालोका आहारा, पिना, पस्मिना सल लगायतका वस्तु पनि धेरै निर्यात हुने वस्तु हुन् ।
पछिल्लो समय नेपालबाट वनस्पतिजन्य तेलको निर्यात उच्च दरमा बढेको देखिन्छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार कुल निर्यातमा करिब १० प्रतिशत हिस्सा भटमास, सूर्यमुखी र पाम तेलको रहेको छ । निर्यात हुने वस्तुको सूचीमा भटमासको तेल चौथो नम्बरमा छ । सूर्यमुखी फूलको तेल १२ औँ नम्बरमा र पाम आयल २० औँ नम्बरमा रहेको छ ।
गत आर्थिक वर्षमा भटमासको तेल निर्यातको २८ औँ नम्बरमा थियो । अहिले सूर्यमुखी तेल ३८ औँ र पाम आयल हाल २० औँ स्थानमा झरेको छ । गत आवमा पाम आयल निर्यात हुने वस्तुको सूचीको नवौँ नम्बरमा थियो ।
केन्द्रका अनुसार गएको कात्तिकसम्म ३ अर्ब ४१ करोड रुपैयाँको भटमासको तेल निर्यात भएको छ । साउनदेखि कार्तिकसम्म सूर्यमुखी तेल १ अर्ब ५० करोड र पाम आयल ५२ करोड ५९ लाख रुपैयाँ बराबरको निकासी भएको तथ्याङ्क छ ।
केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको तुलनामा यो निर्यात असाध्यै उच्च हो । गत आवको साउन–कार्तिकसम्मको अवधिको तुलनामा अहिले भटमासको तेलको निर्यात २६६.८ प्रतिशतले बढेको छ भने सनफ्लावर तेलको निर्यात २०९ प्रतिशत बढी हो । तर, पाम आयलको निर्यात भने ७२ प्रतिशतले घटेको छ ।
जानकारहरू अन्य देशसँग निर्यात हुने वस्तुको सूची स्थिर भए पनि भारतसँग बढी अस्थिर रहेको बताउँछन् । त्यसो त नेपालको वैदेशिक व्यापारको ८० प्रतिशत भारतमा निर्भर छ ।
वनस्पतिजन्य तेलको निर्यात उत्साहजनक रूपमा बढ्दा अघिल्लो वर्ष विदेशतर्फ राम्रो व्यापार गरेको आइरन एन्ड स्टिलका सामग्रीको निर्यात व्यापक घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा ४ अर्ब ५७ करोडको आइरन एन्ड स्टिलजन्य सामानको निर्यात भएको छ । नेपालबाट निर्यात हुने वस्तुको सूचीमा पहिलो नम्बरमै भए पनि चालु आवको चार महिनाको यो तथ्याङ्क गत आवको यही अवधिको तुलनामा २० प्रतिशतले कमी हो । निर्यातको दोस्रो नम्बरमा रहेको धागोले चार महिनामा ४ अर्ब २१ करोडको रुपैयाँ भित्र्याएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.६ प्रतिशतले बढी हो । यो चार महिनामा चियाको निर्यात झण्डै ५९ प्रतिशतले बढेको छ । चार महिनाको अवधिमा मात्रै नेपालले २ अर्ब ३६ करोड रुपैयाँको चिया बेचेको छ ।
आइरनसँगै चालु आवको चार महिनामा अलैँची र जुस निर्यात पनि ओरालो लागेको छ । गत वर्षको तुलनामा अहिले अलैँची १२ र जुस निर्यात १६.७ प्रतिशतले कम निर्यात भएको छ । कार्पेट ३ प्रतिशत र तयारी पोसाक ९.२ प्रतिशतले घटेको निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ ।
यसरी नेपालबाट निर्यात हुने वस्तुको सूची हरेक वर्ष जसो बदलिरहन्छ । जानकारहरू अन्य देशसँग निर्यात हुने वस्तुको सूची स्थिर भए पनि भारतसँग बढी अस्थिर रहेको बताउँछन् । त्यसो त नेपालको वैदेशिक व्यापारको ८० प्रतिशत भारतमा निर्भर छ । यसले गर्दा भारतमा हुने निर्यातले ठुलो भूमिका खेलेको देखिन्छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा नेपालको उत्पादन क्षेत्र कमजोर हुँदा निर्यातको सूची हरेक वर्ष फेरिरहेको बताउँछन् । ‘ठुलो परिमाणमा उत्पादन हुन्थ्यो भने विश्व बजारसँग प्रतिस्पर्धी वस्तु तथा सामग्री बन्थ्यो,’ उनले भने, ‘तर थोरै थोरै हुँदा निकासी स्वतः कम हुने भयो । यसमा झन् भारतको भन्सार दर बदलिँदा नेपालको वस्तुलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ ।’ उताको दर बदलिँदा नेपाली वस्तु तथा सामग्रीको निर्यात घटबढ हुने गरेको उनको भनाइ छ ।
राणाका अनुसार नेपालबाट सुरुवातमा जुटका सामान विदेशी बजारमा पुगेका थिए । त्यसपछि बिस्तारै वनस्पति घिउले बाहिरी बजार पायो । अनि नेपालबाट कपडा सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा परेको थियो । त्यसपछि फेरि जुट निर्यात उच्च भयो । अहिले भने तेलको निर्यात दर बढेको देखिन्छ ।
नेपाल निर्यात परिषद्का उपाध्यक्ष डा. रामशरण थपलिया भारतको भन्सार नीतिमा नेपालको निर्यात व्यापार निर्भर रहेको बताउँछन् । ‘भारतले विभिन्न समयमा भन्सार नीति परिवर्तन गर्ने गरेको छ । उसले आफूलाई केन्द्रमा राखेर नीति बनाउँदा नेपालको निर्यात सूची तलमाथि हुन्छ,’ उनले भने, ‘हाल वनस्पति तेलको निर्यात बढ्नुको कारण यही हो । किनभने यति बेला भारत यसमा लचिलो देखिएको छ ।’ उत्पादन प्रतिस्पर्धी र प्रशस्त हुँदा अर्को देशको नीतिले खासै प्रभाव पार्न नसक्ने उनको भनाइ छ । निर्यात हुने वस्तुको सूची स्थिरसँगै विविधीकरण हुन सके मात्रै अर्थतन्त्र बलियो भएको मान्न सकिने थपलिया बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा