मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
फिल्म

धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड

मङ्गलबार, ०२ पुस २०८१, ०६ : ००
मङ्गलबार, ०२ पुस २०८१

काठमाडौँ । केही दिन अगाडि निर्देशक वसन्त निरौलाले फिल्म ‘दशमी’ निर्माण घोषणा गरे । भक्तपुरको सूर्यविनायक स्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्म घोषणा गरियो । 

आगामी फूलपाती रिलिज मिति तोकिएको फिल्म रेड आई फिल्मस् र रोमन फिल्मस‍्को प्रस्तुतिमा राजकुमार पण्डितले बनाउन लागेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मका कलाकार छनौट हुन भने अझै बाँकी  छ ।

निरौला निर्देशित पछिल्लो फिल्म ‘ज्वाइँ साब’ गत दसैँमा प्रदर्शन भएको थियो । फिल्मले लगानी सुरक्षित गरेपछि निरौला नयाँ फिल्म निर्माणमा हौसिएका हुन् ।

त्यस्तै, अर्जुन सुवेदीको निर्देशन रहने फिल्म ‘सोल्टिनी’ पनि केही दिन पहिले घोषणा भयो । प्रकाश सपुत र परीक्षा लिम्बुलाई मुख्य कलाकारको रूपमा प्रचार गर्दै फिल्म घोषणा भएको छ । समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा भनिएको फिल्मको विस्तृत जानकारी छैन ।

निर्देशक ऋषि लामिछानेले पनि ७ वर्षपछि कमब्याक फिल्मको रूपमा ‘माग्ने राजा’ निर्माण घोषणा गरे । प्लानेट थ्री फिल्मसको प्रस्तुतिमा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्ममा केदार घिमिरे र वर्षा सिवाकोटी मुख्य कलाकारको रूपमा छानिएका छन् । रिलिज मिति पनि २०८२ को असोज ३ गते संविधान दिवस तोकिएको फिल्मको छायांकन मिति भने अझै  निश्चित छैन ।

२७औँ निर्देशकीय फिल्मको रूपमा शोभित बस्नेतले ‘पीआर’ हालै घोषणा गरे ।  सलोन सलिना फिल्मस्को ब्यानरमा बन्ने फिल्मको सबै छायांकन अस्ट्रेलियामा हुने बताइन्छ । अस्ट्रेलियामा भएका नेपालीको वास्तविक घटनालाई आधार मानेर फिल्म बन्न लागेको हो । फिल्मको कलाकार छनौट बाँकी छ । छायांकन कहिले टुङ्गो छैन ।

माथिका त केही उदाहरण मात्र हुन् । अहिले लक्ष्मण सुनार निर्देशनमा ‘परालको आगो’, दिनेश राउतको निर्देशनमा ‘महाभोज’ र ‘कल्ली’, मिलन तामाङ निर्देशनमा ‘माइतीघर’ लगायत थुप्रै फिल्म निर्माणको घोषणा भएका छन् । 

एकपछि अर्को गर्दै धमाधम फिल्म निर्माण घोषणालाई पछिल्लो समय बढेको फिल्मको व्यवसायसँग जोड्न सकिन्छ । फिल्मको व्यवसाय बढेसँगै फिल्म निर्माण घोषणा बढ्नु स्वभाबिच भएको समीक्षक तथा फिल्म निर्देशक मनोज पण्डित बताउँछन् ।

‘यो वर्ष फिल्मको व्यवसाय देखेर धेरै हौसिएका छन् । अर्काे बर्ष धेरै निराश हुन्छन्’, पण्डित भन्छन्, ‘अहिले फिल्म चल्छ रे भनेर बन्न थालेका छन् ।’ आफ्ना कथा भन्न भन्दा चल्छ रे भनेर फष्टफुड फिल्म बन्ने क्रम बढ्न थालेको पण्डितको धारणा छ ।

‘फिल्मसँगको मेकरको व्यक्तिगत कनेक्सन यस पटक चलेको फिल्मले देखायो’, पण्डित भन्छन्, ‘चलेका फिल्म मध्य ‘१२ गाउँ’ बिराज भट्टको पर्सनल कनेक्सन थियो । छोरो स्थापित गर्नु थियो । छोरो तत्त्व चल्यो । अर्को धेरै चलेको ‘पूर्णबहादरको सारङ्गी’ पनि बाबु छोरा तत्त्व चलेका हो ।’ 

‘एउटा फिल्म मेकरलाई बुबा गुमाएपछि महत्त्व फिल भएर ‘पूर्णबहादरको सारङ्गी’ बनाएका हुन्’, पण्डित थप्छन्  । ‘फिल्म मेकरको पर्सनल कनेक्सन फिल्मसँगको कनेक्सनमा बढी महत्त्वपूर्ण हुने उनले धारणा राखे ।

पण्डितको तर्कसँग केही सहमत छन् निर्माता निर्देशक लक्ष्मण सुवेदी । फिल्मको व्यवसाय बढेसँगै फिल्म निर्माण घोषणा धेरै हुनु उनी पनि स्वभाविक ठान्छन् उनी ।

‘फिल्म निर्माण घोषणा हुनु ठुलो कुरो होइन । घोषणा भएका फिल्म कति र कस्ता बन्छन् त्यो महत्त्वपूर्ण हो’, सुवेदीले भने, ‘विगतमा धेरै घोषणा भए, थोरै बने ।’ यो बर्षपनि यस्तै हुने संकेत उनले देखेका छन् ।

घोषणा भएका कति बन्छन् ?

नेपालमा फिल्मको व्यवसाय बढेसँगै धेरै निर्माण घोषणा हुने र व्यवसाय घटेसँगै हराउने पहिले देखिनै चल्दै आएको चलन हो । अर्थात घोषणा भएका कैयन फिल्म बन्दैनन् । समग्रमा भन्नुपर्दा घोषणा भएर नबनेका/नबनाइएको फिल्मको रेकर्ड हेर्दा स्थिति खराब रहेको  फिल्मकर्मीहरु बताउँछन् । 

भुवन केसीको ‘एन्टी हिरो’, ‘पारस’, ‘माइतीघर २’, ‘करोडपति २’, सरोज न्यौपानेको ‘लोकल हिरो’, रोज राणाको ‘दादागिरी २’, रेखा थापाको ‘काली २’, शोभित बस्नेतको हिन्दी फिल्म ‘मे व नही’, अरुण खड्काको ‘फटा फणिन्द्रे’, माधव वाग्लेको ‘हिमानी’ र ‘विवेक’ निर्माण गर्ने भनेर घोषणा भएको धेरै भइसक्यो ।

suhana-768x557

त्यस्तै, सन्तोष सेनले धूमधामसँग कार्यक्रम सहित घोषणा गरेको ‘दीपेन्द्र सरकार’, अर्जुन कुमारको ‘गोरे सार्की’, ‘जनकदीप पराजुलीको ‘पापी मान्छे ३’, ‘चिलगाडी’, अपिल बिष्टको ‘दासढुङ्गा २’, सुदर्शन थापाको ‘सबैभन्दा माथि छ’, दिनेश राउतको ‘छब्बिस करोड’, ‘भैरवी’, अरुण थापाको जीवनीमा बन्ने एक फिल्म, निखिल उप्रेतीको ‘भैरव २’, आर्यन सिग्देलले बनाउने भनेको ‘करिब सिंह’को नेपाली रिमेक, लक्ष्मण रिजालको ‘काजी’, ‘डिसेम्बर फल्स २’, असोक शर्माको ‘अल्लारे २’, ‘छोरी’, नरेश पौडेलको ‘धड्कन २’, शंकर कार्कीको ‘सत्यम’ लगायत फिल्म पनि धेरै अगाडि घोषणा भएपनि अहिलेसम्म बनेका छैनन् । 

घोषणा भएका फिल्म करिब आधा भन्दा कम बन्ने गरेको पाइन्छ । जानकारहरूका अनुसार कतिपय मेकर निर्माता खोज्न फिल्म घोषणा गर्छन्, भने कतिपय आफ्नो उपस्थिति देखाउन । कतिपय बनाउने क्रममा बजेटको अभावमा पनि हराउँछन् ।

कतिपय मेकर विदेश पलायन भएका कारणले पनि फिल्म घोषणामै सीमित रहन्छ । 

magneraja

निर्माता छविराज ओझा फिल्मको राम्रो व्यवसायसँगै घोषणा गर्ने र पछि हराउने धेरै भएको बताउँछन् । 

‘दसैँमा रिलिज तीनवटा फिल्म चल्यो । त्यसपछि आएको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमै करिब ५० करोडको व्यवसाय गर्‍यो’, ओझाले भने, ‘फिल्म ‘कुस्मा’देखि ‘तेलभिषा’सम्मका सबै फिल्म राम्रो भयो ।’ नेपाली फिल्म राम्रो भयो भन्ने भएपछि विदेशमा रहेकाहरूले पनि फिल्म घोषणा गर्ने र घट्यो भनेपछि निर्माण नगर्ने क्रम हुने छविले सुनाए । ‘कतिपयले चर्चा र कतिपयले अरूलाई फसाउन पनि फिल्म घोषणा गर्छन्’ छविले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप