बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
महिला यू–१९ एसिया कप क्रिकेट

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो

सोमबार, ०१ पुस २०८१, १४ : ५५
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । मलेसियामा जारी उक्त प्रतियोगिताको सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हारको स्वाद चखाएको हो । 

टस जिती ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९ ओभरमा केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

नेपालको जितमा कप्तान पूजा महतोले अविजित ४७ रनको योगदान गरिन् । उत्कृष्ट पाली खेलेकी कप्तान पूजाले ४७ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १३ रन थपिन् । उनले २० बलमा एक चौका प्रहार गरिन् ।

puja-sony

ओपनर सावित्री धामीले आठ रन बटुलिन् । सिमाना केसीले पनि टोलीका लागि १२ बलमा अविजित १२ रनको योगदान गरिन् । ओपनर साना प्रविनले पनि १५ बलमा एक चौकाको मद्दतले १० रन बनाइन् । नेपालले अतिरिक्त रूपमा पनि १५ रन पायो । 

त्यसअघि, पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । उनले ४४ बलमा दुई चौका पनि प्रहार गरिन् । महाम एनिसले पनि टोलीको खातामा अविजित २९ रन थपिन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । 

राविल फरहानले १३ र कप्तान जुफिसान आयाजले १२ रन बनाए । फातिमा खान ६ रनमा अविजित रहिन् । नेपाली टोलीकी बलर पूजा महतोले दुई विकेट लिइन् । रचना कुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले पनि एक–एक विकेट हात पारे । 

470237348_1020398540116526_3240195873146978389_n

आठ दिनसम्म चल्ने प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । 

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि नेपालकै समूहमा परेका छन् । नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ । 

प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।

प्रतियोगिताको दोस्रो दिन सोमबार नै खेलिएको पहिलो खेलमा भने बंगलादेशले श्रीलंकालाई २८ रनले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर एक सय २२ रन बनायो । जवाफमा श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्यो । 

त्यसअघि प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । अर्को खेलमा श्रीलंकाले आयोजक मलेसियालाई ९४ रनको फराकिलो अन्तरले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप