मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सङ्कटमा स्वास्थ्य तथा शारीरिक शिक्षा

बिहीबार, १० जेठ २०७५, ११ : १५
बिहीबार, १० जेठ २०७५

नरनाथ पाण्डे

हामीलाई थाहै छ, दैनिक जीवनयापनका लागि व्यक्तिले दैनिक प्रयोगमा आउने चीज वा परिस्थितिहरू जानेको हुनुपर्छ । यदि आफूले आफ्ना दैनिक क्रियाकलापबाट आफ्नो गुजारा गर्न वा आफ्नो स्वास्थ्यको ख्याल गर्न सकिएन भने अनुकूलताको सिद्धान्त जस्तै व्यक्ति लोप भएर जाने सम्भावना पनि हुन्छ । त्यसकारण मानिसले आफूलाई सक्षम, तन्दुरुस्त, फूर्तिलो, सक्रिय, निरोगी राखी दैनिक जीवनयापन गर्नमा लालायित हुन्छ ।

कुनै पनि व्यक्तिलाई जस्तोसुकै सम्पत्ति प्राप्ति किन नहोस् यदि उसको स्वास्थ्य नै खराब छ भने उसलाई पैसाको के काम ? पैसाले मात्र गर्ने के ? त्यसकारण मानिसको स्वास्थ्य यति महत्वपूर्ण चीज हो, उसले आफू दीर्घजीवी भई बाँच्न आफू स्वस्थ रहने कुरा, आफूले आफ्नो स्वास्थ्य रक्षा गर्ने कुरा, आफ्ना परिवार र बच्चा बच्चीलाई सानैदेखि स्वस्थकर क्रियाकलाप गर्न सिकाउने कुरा, आफू तन्दुरुस्त हुन जीवनशैली अपनाउने तरिका आदि कुरा आफैले जान्नैपर्ने कुरा हुन् । यी कुरा औपचारिक वा अनौपचारिक शिक्षाको माध्यमबाट मात्र प्राप्त गर्न सकिन्छ । यस्ता संस्कारहरू शिक्षित व्यक्तिले मात्र अपनाउन सक्छ र आफ्ना परिवार र बच्चालाई पनि सोही अनुसार तालिम दिन सकिन्छ ।

त्यसकारण स्वास्थ्य तथा शारीरिक शिक्षा यस्तो एउटा महत्वपूर्ण दैनिक जीवनमा आउने विषय हो, जसको योगदान समाजमा कति छ भन्ने कुरा तुलना नै गर्न सकिँदैन । यसै परिवेशमा हाल कक्षा ११ र १२ को पाठ्यक्रम पनि परिवर्तन हुँदैछ । तर परिवर्तन हुने पाठ्यक्रममा स्वास्थ्य र शारीरिक शिक्षाको विषय र यसको महत्व नै नामेट पार्ने खालका कुरा आइरहेका हुँदा स्वास्थ्य र शारीरिक शिक्षा विषय नै गम्भीर सङ्कटमा परेको हुँदा यो विषयको अस्तित्व नै धरापमा परेको हुँदा यस विषयको आवश्यकता र महत्वको बारेमा यस्तो व्यावहारिक विषय बचाउन जनदबाब सिर्जना गर्ने उद्देश्यले यो आलेखमा चर्चा गर्नुपरेको हो ।
    विश्वमा स्वास्थ्य र स्वास्थ्य शिक्षाको विकासक्रमको इतिहास हेर्ने हो भने प्राचीन कालीन जङ्गली युगतर्फ नजर लगाउनु पर्छ । जङ्गली युगमा मानिस रहँदा उसको एउटै ध्यान कसरी आहारा प्राप्त गर्ने र दिनभरलाई पुग्ने गरी टन्न खाने भन्नेमा मात्र सीमित थियो । यदि शिकार गर्नसक्यो भने उसले खान पाउँथ्यो नत्र भोकभोकै बस्नुपथ्र्यो । एक्लैले जङ्गली जनावरहरूको शिकार गर्न नसक्ने भएपछि समूहको खोजी हुनथाल्यो र त्यतिबेलादेखि नै समाजको अवधारणा आयो । समूहमा बस्दा र सामूहिक तवरले शिकार खेल्दा धेरै सजिलो महसुस् हुनथालेपछि अब मानिसको पुर्खाले हतियारको रूपमा विभिन्न खालका औजारहरूको आविष्कार ग¥यो ।

हतियार भएपछि धेरै राहत मिल्यो र शिकार सजिलै गर्न सक्ने भयो । यसबाट आफ्नो शरीरलाई पनि केही आराम मिल्न थाल्यो । अनि मानिसको पुर्खाले काँचै खाइने शिकार नमीठो पनि हुने र त्यसले आफ्नो पेटलाई पनि राम्रो नगर्ने भएको महसुस गरी सिर्जनात्मक क्षमताको प्रयोग गरी आगोको आविष्कार गरे । जब आगोको आविष्कार भयो र शिकारलाई पोलेर खान थालियो तब मानिसका आधा रोगहरू निवारण भए । यसै कुराबाट पाठ सिक्दै र स्वास्थ्यलाई नै सबैभन्दा महत्वपूर्ण स्थान दिँदै मानिसका पुर्खाहरूले आजको यस वैज्ञानिक प्रविधिले भरिपूर्ण युगसम्म आइपुग्ने अवसर पाएका हुन् । प्राचीनकालमा स्वास्थ्य र शारीरिक क्रियाकलापहरू प्रशस्तै हुने गर्थे । यसले गर्दा व्यक्तिहरू पनि तन्दुरुस्त थिए र विभिन्न खालका रोगहरूले सितिमिति आक्रमण पनि गर्दैनथे र मानिसहरू बलिया खालका थिए । यिनै कुरालाई निरन्तरता दिँदै प्राचीन ग्रिस, रोम, इटली, जर्मनी, स्वेडेन, फ्रान्स, चीन आदि देशले शारीरिक क्रियाकलापलाई जोड दिँदै आए र मानिसको स्वास्थ्य स्वस्थ र तन्दुरुस्त राख्ने खालका उपायहरू अपनाउन थाले । फलस्वरूप अहिले स्वास्थ्य क्षेत्रमा निकै सुधारात्मक परिस्थितिहरू देखापरेका छन् भने शारीरिक शिक्षातर्फ विभिन्न खालका खेलकुदको विकास पनि भएको छ । यो सबै स्वास्थ्यप्रतिको संवेदना र शारीरिक शिक्षाप्रतिको महत्व बुझाइका कारण सम्भव भएको हो ।

    इतिहासले समेत महत्व दिएको यस विषयलाई हाल विश्वका धेरै देशहरूमा अहिले पनि स्वास्थ्य र शारीरिक शिक्षा अनिवार्य विषयका रूपमा राखिएको छ । स्वास्थ्य र शारीरिक शिक्षालाई धेरै महत्व दिइएको छ । किनकि विकसित देशहरूले सर्वप्रथम आफ्ना नागरिकलाई निरोगी र फुर्तिला बनाउन चाहन्छन् । यदि देशका नागरिकहरू स्वस्थ, सक्रिय, फूर्तिला र उत्साहित भए भने मात्र आर्थिक विकास हुनसक्छ, अन्यथा देशमा आश्रित जनसङ्ख्या मात्र बढ्दै जान्छ भन्नेकुरा ती देशका मानिसहरूले बुझेका छन् । त्यसकारण उनीहरू स्वास्थ्य र शारीरिक शिक्षा जस्तो विषयलाई अझै परिमार्जन गरी व्यावहारिक बनाउन खोज्दैछन् र यी विषयलाई औपचारिक तथा अनौपचारिक शिक्षामा अनिवार्य विषयका रूपमा संलग्न गराइरहेका छन् । तर यसको ठीक विपरीत हाम्रो देशमा यस्ता विषयको महत्व बुझिँदैन र विषय नै हटाउने काम गरिन्छ । ऐच्छिक विषयका रूपमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय त छँदैथियो र त्यसलाई खास महत्व पनि दिइएको थिएन । यसको सट्टा गणित, अङ्ग्रेजी र अन्य विषयहरूलाई मात्रै महत्व दिइने गरिन्छ । ती विषय पनि आवश्यक छन् तर सँगसँगै त्यत्तिकै महत्वपूर्ण स्वास्थ्य तथा शारीरिक शिक्षा पनि छ भन्नेकुरा हामीले कहिले बुझ्ने ?
  

 आफ्ना बच्चालाई सानैदेखि आफू कसरी स्वस्थ र सक्रिय बन्न सकिन्छ भन्ने कुराका साथै स्वस्थप्रद आनीबानीको बारेमा समेत प्रशिक्षित गराउँदै लैजान सकियो भने मात्र उसले पछिल्ला दिनमा पनि स्वस्थकर आनीबानी र व्यवहार नै अपनाउन पुग्दछ । यदि बच्चालाई आफू स्वस्थ हुन के–कस्ता व्यवहार अपनाउने, आफ्नो घर समुदाय र वातावरणको स्वच्छता कसरी कायम गर्ने, के–कस्ता खाद्यपदार्थले स्वस्थ बनाउँछन् र के कस्ता खाद्यपदार्थ हानिकारक हुन्छन्, आफ्ना नियमित कार्यक्रममा दैनिकि कस्तो बनाउने, शारीरिक अभ्यास र खानपानले स्वास्थ्यमा कसरी परिवर्तन ल्याउने भन्नेजस्ता आदि कुराहरू व्यक्तिले शिक्षाबाटै सिक्ने र सिकेको कुरा व्यवहारमा उतार्ने हो । यदि घरका आमाबाबु शिक्षित छन् । स्वास्थ्यका बारेमा सचेत छन्, आफ्ना बच्चाको पनि स्वास्थ्य अवस्था कायम गराउन चाहन्छन् भने आफूले पनि स्वास्थ्यको बारेमा केही न केही त बुझेकै हुनुपर्छ । अन्यथा आफ्ना बच्चालाई कसरी सिकाउने ? कसरी आफू र आफ्ना परिवारलाई स्वस्थकर खाना खुवाउने ? कसरी स्वस्थकर व्यवहार अपनाउन उत्प्रेरित गर्ने ? कसरी जीवनशैली परिवर्तन गर्ने ? अहिले बढ्दै गइरहेका विभिन्न खालका नयाँ नयाँ रोगहरूबाट कसरी सुरक्षित हुने ? सक्षम र स्वस्थकर नागरिकको अपेक्षा राज्यले कसरी गर्ने ?  यी यावत प्रश्नका उत्तर हामीले खोज्यौं भने त्यसको एउटै उत्तर हुनेछ– स्वास्थ्य तथा शारीरिक शिक्षा जस्तो व्यावहारिक र दैनिक जीवनमा प्रयोगमा आउने विषयलाई परिमार्जित गर्दै व्यक्तिको उमेर, परिपक्वता र तहअनुसार व्यावहारिक खालले पठनपाठन गराई उच्च तहसम्मको शिक्षा प्रदान गर्ने । यही उत्तर प्राप्त गर्न हामीले र हाम्रो राज्यले स्वास्थ्य र शारीरिक शिक्षा जस्तो व्यावहारिक विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्दैन र ? के यस विषयलाई पूर्वप्राथमिक विद्यालय तहदेखि उच्च तहसम्मको शैक्षिक प्रणालीभित्र समेट्नु पर्दैन र ? उत्तर एउटै प्राप्त हुन्छ– अवश्य पर्छ । यदि यस्तो व्यावहारिक विषयलाई पनि आज अनावश्यक विषयका रूपमा परिभाषित गरी विषयको महत्व नै नबुझी शिक्षा क्षेत्रमा लामो कार्यअनुभव गरेका व्यक्तिहरूले नै स्वास्थ्य र शारीरिक शिक्षालाई माध्यमिक तहको पाठ्यक्रमबाटै हटाउन खोजिँदैछ भने त्यसलाई हामीले कसरी बुझ्ने ? प्रश्न यहीँनेर निकै गम्भीर रूपमा तेस्र्याउन खोजिएको छ ।

    वास्तवमा स्वास्थ्य तथा शारीरिक शिक्षामाथि लाग्न थालेको ग्रहणप्रति सबै चनाखो हुनु जरुरी छ । कुनै पनि हालतमा स्वास्थ्यजस्तो निकै संवेदनशील र व्यावहारिक विषयलाई माध्यमिक तहबाट हटाउनु हुँदैन भन्ने पक्षमा रही वकालत गर्न सबै पक्षहरू लाग्न जरुरी देखिन्छ । स्वास्थ्य र शारीरिक शिक्षा विषय माध्यमिक तहबाट हटाउँदा त्यसले कालान्तरमा देखाउनसक्ने प्रतिअसरहरूको बारेमा आजै चनाखो हुन जरुरी छ । यदि कुनै एउटा मात्र समूहले स्वास्थ्य र शारीरिक शिक्षा पढ्न पाएन भने पनि उक्त समूह जीवनभर पश्चात्तापमा पर्नेछ । कुनै पनि हालतमा विद्यार्थी, शिक्षाविद्, समुदायवासी तथा शिक्षकहरू सबै यस्तो अवस्था आउन सक्ने सम्भावित निर्णयका विरुद्धमा उठ्नै पर्दछ ।

सम्पूर्ण पक्षबाट जनदबाब दिन सकियो भने मात्र यो विषयले पुनर्जन्म पाउन सक्ने देखिन्छ । यसका लागि स्वास्थ्य र शारीरिक शिक्षाको हितका लागि गठन भएका हेन, हेडा जस्ता संस्थाका भूमिका निकै महत्वपूर्ण हुन जरुरी छ । केन्द्र स्तरमा मात्र सीमित रहेका, ठूलाबडा व्यक्ति मात्र संलग्न, ठूला पद लिएर बसेका व्यक्तिहरूले मात्र संस्था ओगट्ने तर काम माखो नमार्ने प्रवृत्तिका कारण स्वास्थ्य शिक्षामा क्रियाशील हुनुपर्ने यस्ता संस्थाहरू आज अस्तित्वमा नै देखापरेका छैनन् । यो त स्वास्थ्य र शारीरिक शिक्षामा भरोसा राख्ने व्यक्तिहरूका लागि निकै दुखद् कुरा हो । संस्था स्थापना भइसकेपछि त्यसका गतिविधिहरू र संस्थागत क्रियाकलापहरू जारी रहनुपर्नेमा त्यस्तो हुन सकेको छैन । यी सबै कारणहरूले नै आज स्वास्थ्य तथा शारीरिक शिक्षा ओझेलमा पर्दै गएको हो । विषयगत महत्व बुझाउन नसक्दा यस्ता परिस्थिति सिर्जना भएका हुन् भन्न सकिने अवस्था आएको हो ।

    अन्त्यमा, निकै सङ्कटको मोडमा उभिइरहेको स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको अवस्थालाई नियाली हेर्दा यो विषयको महत्व बुझ्न र बुझाउन नसक्दाको परिणाम नै अहिलेको अवस्था हो भन्न सकिन्छ । अब नेपालमा स्वास्थ्य तथा शारीरिक शिक्षाको महत्व हराएको होइन कि झन् आवश्यकता खड्किएको हो भन्नेमा सबै सहमत हुनुपर्दछ । पूर्व प्राथमिक विद्यालयको पाठ्यक्रमदेखि नै यस विषयलाई महत्वका साथ राखी उमेर, तह र परिपक्वता अनुसार क्रमशः परिमार्जित गर्दै लैजाने र स्वास्थ्य तथा शारीरिक शिक्षामा व्यावहारिक ज्ञान दिनेगरी आधुनिक प्रविधिको प्रयोग गरी पठनपाठनलाई निरन्तरता दिन जरुरी देखिन्छ । यस अभियानमा तपाईं हामी सबैजना मिलेर एउटै आवाज बुलन्द गर्नुपर्दछ र डुब्नै लागेको यस विषयलाई सकुशल अवतरण गराई जीवन रक्षा गर्नुपर्छ । यसैमा हामी सबैको भलाइ छ । 

कावासोती—८, नवलपुर
[email protected]

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप