वर्षाले बिथोल्यो तेस्रो दिनको खेल, भारतले गुमायो सस्तैमा चार विकेट
काठमाडौँ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गत अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट क्रिकेटको तेस्रो दिन सोमबारको खेल वर्षाबाट प्रभावित भएको छ । वर्षाका कारण पटक–पटक खेल स्थगित भएको थियो । यसअघि पहिलो दिनको खेल पनि वर्षाबाट प्रभावित भएको थियो ।
तेस्रो दिनको खेल सकिँदासम्म भारतले आफ्नो पहिलो पालीमा केवल ५१ रन बनाउँदै चार विकेट गुमाइसकेको छ । भारतका लागि ओपनर केएल राहुल अविजित ३३ रन र कप्तान रोहित शर्मा अविजित शून्य रनमा क्रिजमा छन् ।
ओपनर यशस्वी जैसवाल चार रन र शुभमन गिल एक रन बनाउँदै आउट भएका थिए । अनुभवी ब्याट्सम्यान विराट कोहली पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।
अस्ट्रेलियाका बलर मिचेल स्टार्कले दुई विकेट लिए । जस हेजलउड र प्याट कमिन्सले पनि एक–एक विकेट हात पारे । त्यसअघि अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा चार सय ४५ रनको सम्मानजनक स्कोर तयार पारेको थियो ।
ब्रिसबेनमा जारी तेस्रो टेस्टमा अस्ट्रेलियाका लागि पहिलो पालीमा दुई ब्याट्सम्यानले शतकीय योगदान गरेका थिए । अस्ट्रेलियाले ७५ रनको कुल स्कोरमा माथिल्ला तीन विकेट गुमाएको थियो । ओपनर उस्मान ख्वाजा २१, अर्का ओपनर नाथन म्याकस्विनी नौ र मार्नस लाबुशेन १२ रन बनाउँदै आउट भएका थिए ।
त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथ र पाँचौँ नम्बरका ब्याट्सम्यान ट्राभिस हेडले टोलीको स्कोरलाई तीन सय १६ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । स्टिभन स्मिथले टोलीका लागि एक सय एक रनको योगदान गरे । उनले एक सय ९० बलको सामना गरी १२ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्टिभन स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३३ औँ शतक पनि हो ।
ट्राभिस हेडले पनि टोलीका लागि एक सय ५२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल एक सय ६० बलको सामना गरी १८ वटा चौका हिर्काए । ३० वर्षीय ट्राभिस हेडले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ शतक हो ।
अस्ट्रेलियाका लागि विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले ७० रन बनाए । उनले ८८ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । ३३ वर्षीय केरीले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो ।
मिचेल मार्स भने पाँच रन बनाउँदै आउट भए । कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा २० रन थपे । मिचेल स्टार्कले पनि १८ रन बनाए । अस्ट्रेलियाले अतिरिक्त रुपमा पनि ३५ रन पायो । भारतका बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिए । उनले २८ ओभरमा नौ मेडन राख्दै ७६ रन खर्चिए । मोहम्मद सिराजले दुई तथा नितिष कुमार रेड्डी र आकाश दीपले एक–एक विकेट हात पारे ।
पाँच टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । पर्थमा खेलिएको शृंखलाको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो ।
दोस्रो टेस्ट दिवा–रात्री रुपमा खेलिएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले यो शृंखला दुबै टोलीका लागि निकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र
-
इजलासमा मीनबहादुरका वकिलले भने– ‘सम्पत्ति कमाएको छु, दान दिन्छु भन्न पनि नपाउनु ?’
-
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने