महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
![महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी](https://npcdn.ratopati.com/media/news/sim_iGyU1Bewhz.jpg)
काठमाडौँ । भारतमा सन् २०२५ मा आयोजना हुने महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको मिनी अक्सनमा यसपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका (क्याप्ड) भन्दा देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेका (अनक्याप्ड) खेलाडीहरू बढी चर्चामा रहे ।
अनक्याप्ड खेलाडीहरूमा सिमरन शेख सबैभन्दा महँगो बिक्री भएकी छन् । गुजरात जायन्ट्सले सिमरन शेखका लागि एक करोड ९० लाख भारतीय रुपैयाँमा खर्चिएको हो । सिमरख शेखका अतिरिक्त अन्य दुई अनक्याप्ड खेलाडी पनि एक करोडभन्दा बढी मूल्यमा बिक्री भए ।
जी. कमालिनी र प्रेमा रावत एक करोडभन्दा बढीमा बिक्री भएका हुन् । मिनी अक्सनमा पाँच टोलीले १९ जना खेलाडी खरिद गर्न कुल नौ करोड पाँच लाख भारतीय रुपैयाँ खर्च गरे । मिनी अक्सनमा कुल एक सय २० जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
अक्सनबाट पाँचजना विदेशी खेलाडी मात्र खरिद गर्न पाउने नियम राखिएको थियो । सिमरन मुम्बईको धरावीमा बस्छिन् । उनले महिला प्रिमियर लिगको यसअघिको संस्करणमा गतिलो प्रदर्शन भने गरेकी थिइनन् । त्यसैले यति महँगोमा बिक्री भएपछि उनी आफै पनि आश्चर्यमा परेकी थिइन् ।
महिला प्रिमियर लिगको पहिलो संस्करणमा उनले यूपी वारियर्सबाट खेलेकी थिइन् । त्यो संस्करणमा उनले नौ खेल खेल्दै कुल २९ रनमात्र बनाउन सकेकी थिइन् । दोस्रो संस्करणमा भने उनी मुम्बई इन्डियन्समा आबद्ध भएकी थिइन् । तर, उनले एक खेल पनि खेल्ने अवसर पाइनन् ।
खासगरी अघिल्लो दुई संस्करणमा गुजराज जायन्ट्सको ब्याटिङ निकै कमजोर देखिएको थियो । त्यसैले आफ्नो मध्यक्रमलाई बलियो बनाउने उद्देश्यसहित गुजरात जायन्ट्सले सिमरन शेखलाई टोलीमा आबद्ध गरेको हो । यसका अतिरिक्त दिल्ली क्यापिटल्सले पनि सिमरन शेखमाथि बोली लगाएको थियो ।
दिल्ली क्यापिटल्सले उनका लागि एक करोड ८० लाखसम्म बोली लगाएको थियो । त्यसैले अक्सनमा सिमरन शेखको मूल्य बढेको थियो । सिमरन शेख निकै सङ्घर्षबाट खारिएकी क्रिकेटर हुन् । उनी धारावीको पार्कमा क्रिकेटको अभ्यास गर्थिन् ।
कमालिनीलाई भने मुम्बई इन्डियन्सले खरिद गरेको हो । १६ वर्षीया कमालिनी विकेटकिपर हुन् । उनी बायाँहाते ब्याटर पनि हुन् । टोलीलाई आवश्यक पर्दा उनी स्पिन बलिङ पनि गर्छिन् । मुम्बई इन्डियन्सले विकेटकिपर यस्तिका भाटियाको स्थानमा उनलाई टोलीमा समावेश गरेको हो ।
कमालिनी खासगरी सन् २०२३ देखि चर्चामा आएकी हुन् । यू–१९ टी–२० ट्रफीमा तमिलनाडुका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी चर्चामा आएकी थिइन् । त्यतिबेला तमिलनाडुलाई ट्रफी दिलाउन उनले आठ खेलमा कुल तीन सय ११ रन बनाएकी थिइन् ।
हालै सम्पन्न उमेर समूहको एसिया कपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । खासगरी पाकिस्तानविरुद्धको खेलमा उनले २९ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४४ रन बनाउँदै भारतलाई नौ विकेटको जित दिलाएकी थिइन् ।
यसैगरी, प्रेमा रावतलाई मिनी अक्सनमा रोयल च्यालेन्जर्स बेंगलुरुले खरिद गरेको हो । केही समय अघिसम्म प्रेमा धेरैका लागि अपरिचित अनुहार थिइन् । तर, केही समयअघि उत्तराखण्ड प्रिमियर लिगमा मन्सुरी थन्डर्सका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनी एकाएक चर्चाको शिखरमा पुगेकी थिइन् ।
उनी क्षमतावान लेग स्पिनर हुन् । उनी कुशल फिल्डर पनि हुन् । रोयल च्यालेन्जर्स बेंगलुरुमा आशा शोभनाका रूपमा पहिले नै लेग स्पिनर रहे पनि उनी पछिल्लो समय चोटग्रस्त छिन् । त्यसैले बेंगलुरुले प्रेमालाई टोलीमा आबद्ध गरेको हो ।
यसैगरी, डिएन्ड्रा डोटिन पनि मिनी अक्सनमा एक करोड ७० लाख भारतीय रुपैयाँमा बिक्री भइन् । उनी यसपटक अक्सनमा बिक्री हुने सबैभन्दा महँगो विदेशी खेलाडी पनि हुन् । वेस्ट इन्डिजकी यी खेलाडीलाई गुजरात जायन्ट्सले खरिद गरेको हो ।
अघिल्लो सिजनको महिला प्रिमियर लिगमा भने उनले खेलेकी थिइनन् । लिडएन्ड्रा डोटिनलाई भित्राएपछि गुजरात जायन्ट्सको मध्यक्रम पनि बलियो बनेको छ । आक्रामक ब्याटर डोटिन महिला टी–२० प्रतियोगितामा शतक बनाउने खेलाडी पनि हुन् ।
यसका अतिरिक्त, उनी महिला टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी पनि हुन् । उनले केवल ३८ बलमा नौ छक्का र पाँच चौकाको मद्दतले शतक पुरा गरेकी थिइन् । उनको नाममा सबैभन्दा छिटो अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि छ । उनले सन् २००९ मा खेलिएको टी–२० विश्वकपमा केवल २२ बलमा अर्धशतक पुरा गरेकी थिइन् ।
आइतबार भएको मिनी अक्सनमा अनक्याप्ड खेलाडीहरू चर्चामा रहे भने केही चर्चित खेलाडी बिक्री नै भएनन् । अक्सनमा स्नेहा राणा, हिथर नाइट, लाउरा ह्यारिसजस्ता प्रभावशाली खेलाडीलाई खरिद गर्न कुनै पनि क्लबले चासो देखाएनन् ।
सन् २०२३ को महिला प्रिमियर लिगमा स्नेहा राणालाई गुजरातले ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । टोलीकी नियमित कप्तान बेथ मुनी घाइते भएपछि स्नेहाले कप्तानको भूमिका पनि निर्वाह गरेकी थिइन् । तर, यसपटक उनी बिक्री भइनन् ।
हिथर नाइट भने इङ्ल्यान्डको टी–२० टोलीकी कप्तान हुन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निकै स्तरीय प्रदर्शन गर्दै आएकी छन् । तर, यसपटक उनलाई पनि महिला प्रिमियर लिगका लागि कुनै टोलीले खरिद गरेनन् ।
यसैगरी, लाउरा ह्यारिस अस्ट्रेलियाकी प्रभावशाली खेलाडी हुन् । उनले पनि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् । तर, यसपटक उनी पनि अक्सनमा बिक्री भइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता