बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नतिजा सुधारको पहल

एसईईमा उत्तीर्ण दर ७० प्रतिशत पुर्‍याउन सरकारले के गर्दैछ ?

सोमबार, ०१ पुस २०८१, १३ : ००
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.८७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २ गते आगामी नतिजा ७० प्रतिशत पुर्‍याउने उद्घोष गरे । 

उत्तीर्ण दर सुधार्न उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन समेत दिएका थिए । 

त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए, ‘हुन त केही विद्वान मित्रहरूले भन्ने गरेका पनि छन्। तर हामी अनलाइन कक्षा चलाएर यो वर्ष नै २२ प्रतिशत नतिजा सुधार गर्छौँ । हामीले त्यस्तो भनिरहँदा विद्वान मित्रहरूले विरोध गर्न थालेका छन् । हुन त उहाँहरूको कामै त्यही हो । हामी यही वर्ष नै २२ प्रतिशत सुधार गर्नेतिर लागेका छौँ ।’

नतिजा सुधार्ने योजनाअनुसार अहिले शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।  शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रविधिको प्रयोग गरेर सहयोगी सामग्री बनाइरहेको छ । एसईईमा सामेल हुने विद्यार्थीहरूलाई लक्षित गरी केन्द्रले तालिम प्राप्त शिक्षकहरूबाट प्रभावकारी ढङ्गले पठनपाठन गरिएका अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडियो पाठहरू युट्युब च्यानलमा राखेको छ । 

विद्यार्थीहरूले आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका जुनसुकै पाठहरू निःशुल्क डाउनलोड गरी हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको केन्द्रको भनाइ छ । केन्द्रले सबै विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र अभिभाव समेतलाई ती भिडियोहरू विद्यार्थीहरूलाई विद्यार्थीलाई उपलब्ध गराउन अनुरोध गरेको छ । 

केन्द्रका महानिर्देशक दीपक शर्माले विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त अडियो भिडियो सामग्रीहरू प्रकाशन प्रसारण भइरहेको बताए । 

‘स्कुलमा हुने पठनपाठनको विषय त भइहाल्यो । त्यो बाहेक हामीले अडियो भिडियो मेटिरियल्सहरू प्रकाशन प्रसारण गरेका छौँ । ती सबै सामग्री रेडियो, टेलिभिजन तथा युट्युबमा समेत राखेका छौँ,’ उनले भने । 

त्यसका लागि युट्युबमा ३६०० पाठहरूमा विज्ञ शिक्षकहरूबाट भिडियो सामग्री बनाएर राखिएको उनको भनाइ छ । ती भिडियोहरू विद्यार्थीले पढेको कुरा कुनै विषयमा बुझेनन् अथवा स्कुलमा पढ्न छुट्यो भने सम्बन्धित पाठ खोजेर समेत पढ्न सजिलो हुने उनको भनाइ छ । 

त्यस्तै विद्यालयले पनि शिक्षक नभएको बेला वा खाली समयमा विद्यार्थीहरूलाई त्यही सामग्रीहरू पढाउन सक्ने बताए । 

‘हामीले डिजिटल कन्टेन्ट बनाएर सर्पोट गर्ने हो । तर पनि पढ्ने भनेको विद्यार्थीले नै हो । मोटिभेट गर्ने भनेको शिक्षकले हो,’ उनले भने, ‘हामीले बारम्बार भनिराखेका के हौँ भने कमसेकम स्कुल वा शिक्षकले हामीले बनाएका सामग्रीहरू हेरिदिनुपर्‍यो । विद्यार्थीहरूलाई त्यो कुरामा शिक्षकहरूले प्रोत्साहन गर्नुपर्‍यो ।’ 

कक्षा कोठामा हुने पढाइ नै मुख्य कुरा हुने बताउँदै महानिर्देशक शर्माले भिडियो सामग्रीहरूलाई पठनपाठनमा थप बल पुग्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री कार्यालयबाट ‘एम्बिसन गुरू’ 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अर्को तरिकाबाट काम गरिरहेको छ । ‘एम्बिसन गुरू’ नामक मोबाइल एपमार्फत विद्यार्थीको सहभागिता सुनिश्चित गर्नेगरी काम गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीको चाहना अनुसार नै निजी कम्पनीमार्फत उत्पादित सामग्रीहरू विद्यार्थीका लागि राखिएका हुन् । यसमा समावेश भएका पाठ्यक्रम कक्षा १० का विद्यार्थीका लागि तयार पारिएको एम्बिसन गुरुले जनाएको छ । 

यसले नेपालभरिका विद्यार्थीलाई एसईईमा उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुग्ने उद्देश्यले सामग्रीहरू राखिएको जनाइएको छ । 

विद्यालयले हरेक विषयको प्रत्येक पाठको प्रत्यक्ष कक्षाहरू, रेकर्ड गरिएका भिडियोहरू, नोटहरू, मोडेल सेटहरू, अडियो सामग्रीहरू, टेस्टहरू जस्ता सुविधा दिइएको एम्बिसन गुरुले जनाएको छ । 

यी सबै सामग्रीहरू एसईई परीक्षा सम्पन्न नभएसम्म पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ती सामग्रीहरू कम्पनीले निःशुल्क रूपमा उपलब्ध गराएको छ ।  

ओली प्रधानमन्त्री हुनुअघि उनको गृह जिल्ला झापाका विद्यार्थीको नतिजा सुधार गर्न सोही कम्पनीले निःशुल्क रूपमा पठनपाठन गराएको थियो । प्रधानमन्त्री भएपछि ओलीले आफ्नो गृह जिल्लामा मात्रै नभई देशभरका सम्पूर्ण विद्यार्थी लक्षित गर्न आग्रह गरेका थिए । सोही आधारमा एसईई नतिजासम्मका लागि सम्पूर्ण सामग्रीहरू निःशुल्क प्रदान गरिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 

तर, निजी कम्पनीमार्फत नतिजा सुधार गर्ने अभियान थालिएको भन्दै विरोध समेत भएको थियो । त्यसपछि कम्पनीले हाललाई सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराएको प्रधानमन्त्रीको कार्यालय स्रोतको दाबी छ । त्यसका लागि शिक्षा मन्त्रालयका दुई जना कर्मचारीलाई खटाएर सामग्रीहरू तयार गर्न सघाइउने काम भएको छ । 

केन्द्रले चाहिँ एक देखि १० कक्षासम्मका पठन सामग्री तयार पारेर युट्युबमा राखेको छ । कक्षा एकको एक सय ९१, दुईको एक सय ९५, तीन कक्षाको दुई सय २०, चार कक्षाको दुई सय ७६, पाँच कक्षाको दुई सय ९२, कक्षा छ को तीन सय ६८, कक्षा सातको तीन सय ४७, कक्षा आठको तीन सय ८५, कक्षा नौको चार सय ७५ र कक्षा १० को चार सय ३९ वटा कार्यक्रम उत्पादन गरेर युट्युबमा राखिएको हो । गत वर्ष मात्रै नौ सय ९२ वटा कार्यक्रम उत्पादन गरिएको थियो । 

यसका लागि केन्द्रमा नै अत्याधुनिक स्टुडियोको व्यवस्था गरिएको छ भने छुट्टै कर्मचारीको पनि व्यवस्था गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप