अन्तिम जितसँगै सुदूरपश्चिम पहिलो, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफ चरणमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा पनि सुदूरपश्चिम रोयल्सले सफलता हात पारेको छ । सुदूरपश्चिम रोयल्सले सोमबार खेलिएको खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम रोयल्सले भने १५.२ ओभरमै केवल चार विकेट गुमाएर एक सय पाँच रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
यो खेलसँगै प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने चौथो टोलीको पनि टुंगो लागेको छ । काठमाडौँ गुर्खाजलाई पछि पार्दै कर्णाली याक्स प्रतियोगिताको प्ले अफ चरणमा पुगेको छ । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोज भने यसअघि नै प्ले अफ चरणमा पुगिसकेका छन् ।
प्रतियोगितामा सहभागी आठवटै टोलीले सात–सात खेल खेलिसक्दा १२ अंकसहित सुदूरपश्चिम रोयल्स पहिलो हुँदै प्ले अफ चरणमा पुगेको हो । सुदूरपश्चिम रोयल्सले ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो ।
जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो हुँदै प्ले अफ चरणमा प्रवेश गर्यो । जनकपुर बोल्ट्सले पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो । आठ अंकसहित चितवन राइनोज तेस्रो र आठ अंकसहित कर्णाली याक्स चौथो हुँदै प्ले अफ चरणमा पुगेका हुन् ।
चितवन राइनोजले चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो भने कर्णाली याक्सले चार खेलमा जित र तीन खेलमा हार भोग्यो । सोमबारको खेलमा सुदुरपश्चिम रोयल्सले १२.२ ओभरमा जित हात पारेको भए कर्णाली याक्सलाई पछि पार्दै काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेल बुधबार खेलिने छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । त्यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
तर, आठ अंक बटुले पनि काठमाडौँ गुर्खाज उपाधि होडबाट बाहिरियो । काठमाडौँ गुर्खाजले चार जित र तीन हारको नतिजा निकाल्यो । तालिकाको पाँचौँ स्थानमा रहेको काठमाडौँ गुर्खाजको नेट रन रेट ऋणात्मक (–०.३२१) रह्यो ।
नेट रन रेटमा काठमाडौँ गुर्खाज कर्णाली याक्ससँग थोरै अन्तरले पछि पर्यो । यद्दपि, अन्तिम खेलपछि कर्णाली याक्सको नेट रन रेट पनि ऋणात्मक नै रहेको थियो । सोमबारको खेलपछि कर्णाली याक्सको नेट रन रेट –०.१८४ रहेको छ ।
चार अंकसहित छैटौँ भएको विराटनगर बोल्ट्स, चार अंकसहित सातौँ भएको पोखरा एभेन्जर्स र दुई अंकसहित आठौँ भएको लुम्बिनी लायन्स पनि उपाधि होडबाट बाहिरिए । विराटनगर किङ्सले दुई जित र पाँच हार, पोखरा एभेन्जर्सले दुई जित रपाँच हार तथा लुम्बिनी लायन्सले एक जित र ६ हारको नतिजा निकाले ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेल बुधबार खेलिने छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । त्यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
बुधबार नै चितवन राइनोज र कर्णाली याक्सबिच इलिमिनेटर खेल खेलिने छ । इलिमिनेटर खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । त्यो खेलमा विजयी हुने टोलीले पहिलो क्वालिफायर खेलमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
दोस्रो क्वालिफायर खेल बिहीबार खेलिने छ । दोस्रो क्वालिफायर खेलमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । त्यो खेलमा विजयी हुने टोलीले भने पहिलो क्वालिफायर खेलमा विजयी हुने टोलीसँग फाइनलमा उपाधिका लागि भिडन्त गर्नेछ । फाइनल खेल आगामी शनिबार खेलिने छ ।
सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८–३८ रनको योगदान गरे । दीपेन्द्रले २९ बलमा एक छक्का र चार चौका हिर्काए । इशानले पनि ३६ बलमा चार चौका प्रहार गरे । इशान अन्तिमसम्म अविजित रहे ।
ओपनर सेफ अली जेबले पनि टोलीको खातामा ११ रन थपे । अर्का ओपनर विनोद भण्डारी चार रन बनाउँदै आउट भएका थिए । ब्रान्डन म्याकमलेन पनि तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । आरिफ शेख चार रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रुपमा सात रन पायो । कर्णालीका बलर सोमपाल कामी, विपिन शर्मा र यन्दन यादवले एक–एक विकेट लिए ।
त्यसअघि, प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै कर्णाली याक्सले आफ्नो महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।
कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।
अर्का ओपनर रित गौतमले त खातासम्म खोल्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका चाडविक वाल्टनले ११ रन बटुले । विकेटकिपर ब्याट्सम्यान वाल्टनले १६ बलको सामना गरी एक चौका हिर्काएका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान देब खनाल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विलियम बोसिस्टोले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाए । यसबिचमा जिसन मक्सुदले टोलीलाई केही राहत दिएका थिए ।
तल्लोक्रममा क्रिज समाल्न आएका कप्तान सोमपाल कामीले टोलीको खातामा ११ रन थपे । उनले नौ बलको सामना गरी दुई चौका पनि हिर्काए । गुलसन झा भने दुई रनमै पेभेलियन फर्किए । अर्जुन घर्ती तीन रनमा अविजित रहे । नन्दन यादब र विपिन शर्मा भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।
कर्णाली याक्सले अतिरिक्त रुपमा पनि आठ रन पायो । सुदूरपश्चिम रोयल्सका बलर हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलियनले पनि दुई–दुई विकेट हात पारे । सेफ अली जेबले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता