बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
महालेखा नियन्त्रक कार्यालयको रिपोर्ट

पाँच महिनामा सरकारको पुँजीगत खर्च ४१ अर्ब

सोमबार, ०१ पुस २०८१, १० : ५०
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा झण्डै ४१ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्म ४० अर्ब ८० करोड ६ लाख रुपैयाँ बराबरको खर्च भएको हो । 

यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । त्यसमध्ये मंसिर मसान्तसम्म भएको खर्च ११.५८ प्रतिशत बराबर हो । 

गत वर्ष सरकारले यही अवधिमा ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ खर्च गरेको थियो । सो वर्ष सरकारले कुल ३ खर्ब २ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो उक्त खर्च ११.९४ प्रतिशत बराबर हो । यो वर्ष रकमका आधारमा खर्च बढे पनि प्रतिशतका आधारमा भने खर्च घटेको देखिन्छ । 

पाँच महिनामा खर्च भएको रकममध्ये साउनमा ८ अर्ब ५५ करोड, भदौमा ६ अर्ब ३४ करोड, असोजमा १४ अर्ब ४८ करोड, कात्तिकमा ५ अर्ब १६ करोड र मंसिरमा १ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ । 

कुल खर्च ३० प्रतिशत 

पाँच महिनाको अवधिमा बजेटमा उल्लेख गरिएको ३० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको बजेटमा १८ खर्ब ६० अर्ब रुपेयाँ खर्च गर्ने लक्ष्य रहेकोमा यो अवधिमा ५ खर्ब ५६ अर्ब रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।

यो रकममध्ये चालु खर्चतर्फ ३ खर्ब ६३ अर्ब (२९.२९ प्रतिशत) र पुँजीगततर्फ ४० अर्ब ८० (११.५८ प्रतिशत) करोड तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ५१ अर्ब (४१.३२ प्रतिशत) रहेको छ । 

राजश्व संकलन लक्ष्यको २८ प्रतिशत

यो अवधिमा सरकारले राजश्व संकलनतर्फ २८.१५ प्रतिशत उपलब्धि हासिल गरेको छ । १४ खर्ब १९ अर्बको कुल राजश्व संकलनको लक्ष्य लिएको सरकारले यो अवधिमा ३ खर्ब ९९ अर्ब रुपैयाँ राजश्व उठाएको हो । 

यो रकममध्ये कर राजश्वबाट ३ खर्ब ६२ अर्ब र गैरकर राजश्वबाट ३७ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ । यो अवधिमा सरकारलाई कुनै पनि अनुदान प्राप्त भएको छैन भने ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अन्य आम्दानी प्राप्त गरेको छ । 

सरकारले चालु आर्थिक वर्षभित्र ५२ अर्ब ३२ करोड अनुदान प्राप्त गर्ने लक्ष्य लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप