सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

प्ले अफ चरणमा पुग्न संघर्षरत कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

सोमबार, ०१ पुस २०८१, १० : ३६
सोमबार, ०१ पुस २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रारम्भिक चरणको अन्तिम खेलमा सोमबार कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनाएको हो ।

प्ले अफ चरणमा पुग्न आफ्ना लागि निकै महत्वपूर्ण रहेको खेलमा पनि कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै कर्णाली याक्सले आफ्नो महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

अर्का ओपनर रित गौतमले त खातासम्म खोल्न सकेनन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका चाडविक वाल्टनले ११ रन बटुले । विकेटकिपर ब्याट्सम्यान वाल्टनले १६ बलको सामना गरी एक चौका हिर्काएका थिए । चौथो नम्बरका ब्याट्सम्यान देब खनाल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विलियम बोसिस्टोले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाए । यसबिचमा जिसन मक्सुदले टोलीलाई केही राहत दिएका थिए ।

तल्लोक्रममा क्रिज समाल्न आएका कप्तान सोमपाल कामीले टोलीको खातामा ११ रन थपे । उनले नौ बलको सामना गरी दुई चौका पनि हिर्काए । गुलसन झा भने दुई रनमै पेभेलियन फर्किए । अर्जुन घर्ती तीन रनमा अविजित रहे । नन्दन यादब र विपिन शर्मा भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

कर्णाली याक्सले अतिरिक्त रुपमा पनि आठ रन पायो । सुदूरपश्चिम रोयल्सका बलर हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलियनले पनि दुई–दुई विकेट हात पारे । सेफ अली जेबले पनि एक विकेट लिए । नेपाल क्रिकेट संघ (क्यान)द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता एनपीएलको प्ले अफ चरणमा पुग्ने तीनवटा टोलीको टुंगो लागिसकेको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा पुगिसकेका छन् ।

प्ले अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टंगो लाग्न बाँकी छ । कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्ले अफ चरणमा पुग्नेछ । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच हाल भइरहेको खेलले नै त्यसको टुंगो लगाउने छ । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्ले अफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ । सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान) र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स (आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

हाल आठ–आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ । चितवन राइनोजको नेट रन रेट ०.६३४ रहेको छ । कर्णाली याक्सको नेट रन रेट ०.०९५ छ । काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउन सके कर्णाली याक्स सजिलै प्ले अफ चरणमा प्रवेश गर्नेछ । यस्तो स्थितिमा कर्णाली याक्सको १० अंक पुग्नेछ भने काठमाडौँ गुर्खाज उपाधि होडबाट बाहिरिने छ ।

काठमाडौँ गुर्खाजको आठ अंकमात्र रहने छ र नेट रन रेटमा पनि ऋणात्मक नै रहने छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई सामान्य अन्तरले हराएको अवस्थामा पनि कर्णाली याक्स नै प्ले अफ चरणमा पुग्नेछ ।

यस्तो स्थितिमा नेट रन रेट ऋणात्मक हुनु काठमाडौँ गुर्खाजका लागि दूर्भाग्य बन्नेछ । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिचको खेल अनिर्णित अवस्थामा सकिए पनि कर्णाली याक्स नै प्ले अफ चरणमा पुग्नेछ । यस्तो स्थितिमा सुदूरपश्चिम रोयल्सको ११ र कर्णाली याक्सको नौ अंक हुनेछ ।

तर, सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ठूलो अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने सम्भावना छ । सोमबारको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ५५ रनभन्दा बढीको अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्ले अफ चरणमा अवस्था थियो ।

यस्तो स्थितिमा कर्णाली याक्स नेट रन रेटमा काठमाडौँ गुर्खाजभन्दा पछि पर्नेछ । तर, कर्णाली याक्सले पहिले ब्याटिङ गरेको अहिलेको अवस्थामा भने सुदूरपश्चिम रोयल्सले १२ ओभरभित्रै विजयलक्ष्य प्राप्त गर्नु पर्नेछ । यस्तो स्थितिमा पनि काठमाडौँ गुर्खाज प्ले अफ चरणमा प्रवेश गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप