बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उमागौरी सहकारी ठगी प्रकरण

सांसद पत्नी अंजलासहित २६ जनालाई २२ करोड ४८ लाखको बिगो, ८ वर्षसम्म कैद सजायको माग

सोमबार, ०१ पुस २०८१, १० : १६
सोमबार, ०१ पुस २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मङ्सिरमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो कायम गरेको हो । 

२८ मङ्सिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अन्य प्रतिवादी भने फरार छन् । 

सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरूको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ शेयर रकम रहेको र ७०७ जना ऋणीहरूले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ । यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरूको निवेदन समेतको ब्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशील कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरूले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नबिल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धित ऋणीलाई उपलब्ध गराई आधा रकम आफैँले खाइ मासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ । 

उक्त सहकारीले नियामक निकायबाट केन्द्र विस्तार गर्ने अनुमति समेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतको ठाउँमा शाखा बिस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरूको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज कटिने भनेर प्रलोभन देखाई रकम बचत जम्मा गर्न लगाएको देखिएको छ । यस्तै ‘कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरूको सहमति बिना नै नबिल बैंकमा धितो राखी उक्त रकम निकासा भए पश्चात् अपचलन गरेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ । 

‘प्रमाणहरू समेतबाट संस्थामा आबद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारण सभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरू संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नता समेत स्थापित भएको...,’ अभियोगपत्रमा भनिएको छ । 

उक्त अभियोगपत्रमा शम्भु प्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भु प्रसाद सिंह, आमोद कुमार मण्डल, जितमान ठाकुर, विजय कुमार यादव, सुरेन्द्र कुमार राजवंशी, अशोक कुमार विश्वास, दिलमाया राई, अंजला कोइराला, उपासी राजवंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भु प्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योति बास्कोटा, सुमन लोहनी, मित्र प्रसाद सिवाकोटी, सरदराज सिंह, मो. नसरुदिन, मनोज कुमार सोनी, यशोदा कुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ । 

प्रतिवादीहरूले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ), (ज), (ञ) र (त) बमोजिमको कार्य कसुर गरेको पुष्टि हुने अभियोग पत्रमा उल्लेख छ । प्रतिवादीहरूलाई सहकारी ऐन दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम बिगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बिस पैसा बिगो कायम गरी संस्था मार्फत नै पीडित जाहेरवालाहरूलाई बिगो भराई सो बाहेकको दायित्व समेतको बाँकी रकम समेत संस्थालाई दिलाई भराई प्रतिवादीहरूलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ । 

फरार प्रतिवादीको सूचीमा रङ्गेली नगरपालिका– वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्वउपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय भने अहिले बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् । 

सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका– ४ का पूर्व वडा अध्यक्ष राजवंशी यो सहकारीबाट आफै पीडित रहेको बयान दिएका छन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले राजवंशीको आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेका छन् । ऋण माग गर्दै सहकारीमा गएपछि आफूलाई सहकारीको सञ्चालक बनाएको दाबी गर्दै राजवंशीले आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख मात्रै दिएको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप