दाल, चामल, तेल र चिनीको मूल्य कति घट्यो ?
काठमाडौँ । पछिल्लो समय बजारमा दाल, चामल, तेल र चिनीको मूल्य घटेको छ । दसैँ, तिहारजस्ता चाडपर्वको अगाडि चामल, तेल, चिनी लगायतका खाद्यान्नको मूल्य बढेको थियो । अहिले यी सबै खाद्यान्नको मूल्य घटेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ बताउँछन् ।
‘अहिले दाल, चामल, तेल लगायतका खाद्यान्नमा कुनै समस्या छैन । महँगो भयो भनेर चिन्ता लिनु पर्दैन । सबैजसो खाद्यान्नको मूल्य घटेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार बजारमा २६ सय प्रतिबोरा पर्ने चामल अहिले २४ सय रुपैयाँमा झरेको छ । यस्तै प्रतिबोरा २४ सय रुपैयाँ पर्ने चामल २१ सय हाराहारीमा आएको छ । सोना मन्सुली, जिरामसिनो, त्रिशूलीको पोखरेली चामल लगायत सबै प्रकारका चामलको प्रतिबोरा डेढ सयभन्दा बढी मूल्य घटेको छ ।
अहिले २५ किलो परिमाण भएको जिरा मसिनो चामल १९५० रुपैयाँबाट सुरु हुन्छ । यसै गरी २५ किलो परिमाणको सोना मन्सुली चामल प्रतिबोरा १६ सय हाराहारीमा झरेको श्रेष्ठको भनाइ छ ।
चामलको मूल्य घट्नुमा दुईवटा कारण छन् । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहिलो कारण अहिले धान पाकेर भित्र्याउने सिजन हो । नयाँ धान आउने समयमा हरेक साल मूल्य घट्छ । अर्को भारतीय खाद्यान्नमा मूल्य घटेको छ ।’
श्रेष्ठका अनुसार चिनी, तेल र चामलको मूल्य पनि घटेको छ । पछिल्लो समय बजारमा चिनी प्रतिकिलो १०० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । अहिले चिनीको मूल्य प्रतिकिलोमा ५ रुपैयाँले घटेको हो ।
भारतमा चिनीको मूल्य घटेसँगै नेपालमा पनि यसको प्रभाव परेको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘नेपालको तुलनामा भारतमा निकै सस्तो मूल्यमा चिनी पाइन्छ । तर यता आयात गर्दा भन्सार महँगो भएकाले अझै पनि चिनी महँगो नै हो ।’
- दाल तथा गेडागुडीको मूल्य ७ प्रतिशत घट्यो
यस्तै दाल तथा गेडागुडीको मूल्यमा पनि सुधार भएको छ । पछिल्लो समय बजारमा दाल तथा गेडागुडीको मूल्य करिब ७ प्रतिशतले घटेको छ । गत मङ्सिर ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गरेको छ । सरकारले अग्रिम कर घटाएसँगै दाल तथा गेडागुडीको मूल्य ७.५ प्रतिशतले मूल्य घटेको हो ।
चालु आर्थिक वर्ष (२०८१/८२) को बजेट वक्तव्यमार्फत सरकारले दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएको थियो । सरकारले आयातमा अग्रिम कर लगाएपछि दाल उद्योगीहरूले मूल्य वृद्धिको नकारात्मक प्रभाव पर्ने भन्दै विरोध जनाएका थिए । तर सरकारले उक्त विरोधको कुनै चासो लिएन । त्यति बेला बजारमा दाल तथा गेडागुडीको मूल्य १० प्रतिशतले बढ्नुपर्नेमा झन्डै दोब्बर मूल्य बढाइएको थियो । करिब ७ महिनासम्म दाल तथा गेडागुडी महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता उपभोक्तालाई रह्यो । अहिले भने सरकारले अग्रिम कर घटाएसँगै मूल्य पनि घटेको छ ।
- घट्यो खाने तेलको मूल्य
भारततर्फ निर्यात बढेपछि आकासिएको तेलको मूल्य अहिले घटेको छ । भारतले अन्य मुलुकबाट आयात गर्दा लाग्ने भन्सार शुल्क बढाएपछि नेपाली बजारलाई प्रभावित पारेको छ । भारततर्फ निकासी हुने भएकाले तेल आयातकर्ता तथा उद्योगीहरूले स्थानीय बजारमा पनि तेलको मूल्य २० प्रतिशत जति बढाएका थिए ।
पछिल्लो समय चाडपर्व सकिएको तथा भारततर्फ निर्यात घटेसँगै नेपालमा तेलको मूल्य घटेको तेल उत्पादक संघका कार्यसमिति सदस्य विभोर अग्रवाल बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा घटेको डलरको भाउको प्रभावले समेत तेलको मूल्य घटेको उनको भनाइ छ ।
‘अहिले अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ घटेसँगै तेलको मूल्य घटेको हो । यसको प्रभाव नेपालमा परेको हो । अनि चाडपर्वमा बढी तेल खपत हुन्थ्यो चाडपर्व सकिएसँगै खपत पनि घटेको छ,’ अग्रवाल भन्छन्, ‘भारतमा उत्पादित तेलको मूल्य घटेसँगै भारततर्फ निर्यात घटेको छ । यससँगै नेपाली बजारमा तेलको मूल्य घटेको हो ।’
अग्रवालका अनुसार भारतमा तेलको मूल्य घटेपछि नेपालबाट निर्यात घट्न थालेको छ । अहिले बजारमा तेलको मूल्यमा ७ प्रतिशत घटेको छ । दसैँ तिहारमा प्रतिकार्टुन २३ सय रुपैयाँ पर्ने तेल अहिले साढे २१ सय पर्न थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घट्यो, विदेशी मुद्रा अन्यको भाउ कति ?
-
पालिकाको प्रगति, ६ करोडको अदुवा बिक्री
-
१२ बजे, १२ समाचार : विपक्षी मोर्चामा ८० सांसद देखाएर प्रचण्ड देउवालाई फकाउँदैदेखि रविलाई कारागार पठाउन उच्च अदालतमा निवेदनसम्म
-
मधेसका स्वास्थ्य मन्त्री सवार गाडी दुर्घटना, तीन जना घाइते
-
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
-
रुसी राष्ट्रपति पुटिनले ट्रम्पलाई बधाई दिँदै युक्रेन युद्धबारे के भने ?