बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार :  पत्रकार महासंघ चुनावी अन्तिम नतिजाको सूचीदेखि एक महिनामा ओली सरकार ढल्ने ‘दावी’सम्म

सोमबार, ०१ पुस २०८१, ०० : ४५
सोमबार, ०१ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. पत्रकार महासंघको अन्तिम नतिजा 

नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । 

२. मूल्य समायोजन 

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो । 

३.ओलीका दुई सन्देश

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत प्रवृत्ति बढेको भन्दै कार्यकर्ताहरूलाई गुटको राजनीति नगर्न कडा चेतावनी दिएका छन् । साथै उनले अहिले एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट रहेको भन्ने बाहिरी चर्चामा कुनै सत्यता समेत नरहेको दाबी गरेका छन् ।

४. भद्रगोल भ्रातृ संस्था

अस्तव्यस्त र भद्रगोल अवस्थामा रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन गराउने तयारीमा सत्तारूढ दल नेपाली कांग्रेस लागि परेको छ । २०८१ चैत मसान्तभित्र महाधिवेशन कुरेर बसेका भ्रातृ संस्थाहरूको अधिवेशन गराउने भन्दै ‘माउ पार्टी’ तयारीमा जुटेको छ । महाधिवेशन गर्ने भन्दै ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेर सभापति शेरबहादुर देउवा नेतृत्वले तयारी अघि बढाएको हो ।

५. मधेस केन्द्रित  दल

तीन ठुला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले आगामी चुनाव एक्ला एक्लै चुनाव लड्ने बताइरहेका बेला मधेस केन्द्रित तीन वटा दलले पनि त्यस्तै धारणा बाहिर ल्याउन थालेका छन् । मधेस केन्द्रित दल जसपा नेपाल, जनमत र लोसपा नेपालले गठबन्धनमा निर्भर नभई एक्ला एक्लै चुनाव लड्ने बताउन थालेका हुन् । 

६. टीआरसी 

रिक्त भएको करिब पाँच वर्षपछि सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले पदाधिकारी पाउने निश्चित भएको छ । सरकारले गठन गरेको पदाधिकारी सिफारिस समितिले दुवै आयोगमा अध्यक्षसहित पाँच जना पदाधिकारी सिफारिसको तयारी अन्तिम चरणमा पुर्‍याएको हो ।

७. पार्किङ

जेभियर इन्टरनेसनल कलेज बौद्धमा स्नातक चौथो वर्षमा अध्ययनरत पवन निरौला काठमाडौँ उपत्यकामा पार्किङको सुविधा नभएको र भएकामध्ये कतिपय ठाउँमा चर्को शुल्क लिइने गरेको गुनासो गर्छन् । ‘पब्लिक ठाउँहरू, जस्तो स् अस्पताल, पशुपतिनाथ मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर आदि ठाउँमा घण्टाको हिसाबमा जति पनि शुल्क लिने गरिएको छ,’ शुक्रबार काठमाडौँको बग्गीखानास्थित ट्राफिक कार्यालयमा भेटिएका उनले रातोपाटीसँग भने, ‘निजी पार्किङ स्थलमा शुल्क लिनु त ठिकै हो, तर सार्वजनिक पार्किङमा समेत शुल्क लिनु उपयुक्त हो जस्तो लाग्दैन ।’ 

८. नेपाल चीन सम्झौता

केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा गएका थिए । सो क्रममा दुई देशबिच चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० फ्रेमवर्कमा सम्झौता भयो । अनुदानमा मात्रै बीआरआईका परियोजना लिनुपर्छ भन्ने सत्ता गठबन्धनको निर्णयबिच ओलीले ‘एड फाइनान्सिङ’ शब्दमा सहमति गरेर फर्किए ।

 ९. ‘रअ’का पूर्व एजेन्टको दाबी

 भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई एक अन्तरवार्ता दिँदै उनले १५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरेका छन् ।

१०. एकीकृत समाजवादीको बैठक

 नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी लम्बिएको छ । आइतबार वार्षिक कार्ययोजसहित नेताहरूको कार्यविभाजन गरेर बैठक सक्ने भनिएपनि नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिन पुगेको हो । 

११. इजरायली आक्रमणमा १८ जनाको मृत्यु 

प्यालेस्टिनी क्षेत्रमा रातभर भएको इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बताएको छ । मृतकमध्ये चार जना विस्थापित व्यक्ति थिए । उनीहरूले टेन्टमा शरण लिएका थिए । 

१२.एनपीएल

नेपाल क्रिकेट संघ (क्यान)द्वारा पहिलो पटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को प्ले अफ चरणमा पुग्ने तीनवटा टोलीको टुंगो लागिसकेको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा पुगिसकेका छन् । प्ले अफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप