झापा कप : झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा

झापा । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी झापा कप २०८१ को आजको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जागृति क्वार्टर फाइनलमा प्रवेश गरेको हो । जागृतिको जितमा मिलन राई नायक बनेका छन् । उनले दोस्रो हाफको ५३ र ६२औँ मिनेटमा टोलीका लागि गोल गर्न सफल भए ।
खेलको ५३ औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेण्डर विशाल दर्जीले जागृतिका राईलाई ‘फाउल’ गरेका थिए । त्यसपछि पाएको ‘फ्री किक’लाई राईले नै सुन्दर गोल गरे ।
खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए । ६२ औँ मिनेटमा झापाका दुईजना डिफेण्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे । गोलकिपर सन्दीप लिम्बूलाई ‘बिट’ गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ जागृतिका दुई गोलकर्ता मिलन राई भए । उनले नगद रु १० हजार पुरस्कार पाए । उनलाई झापा–११ का अध्यक्ष जलकुमार गुरुङ लगायतले ‘ट्रफी’ प्रदान गरे । सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब र सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको छ ।
आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउनेछन् ।
प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद रु ३५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई ‘मस्ट भ्यालुएबल’ खेलाडी घोषित गरेर नगद रु एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?