ज्यापू दिवस देशभरिका किसानको दिवस : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले ज्यापू दिवस काठमाडौँ उपत्यकाका नेवार समुदायको मात्र नभई देशभरिका किसानको दिवसका रूपमा रहेको बताएका छन् ।
ज्यापू संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापू दिवस समारोहमा उनले नयाँ बाली भित्र्याइसकेपछि त्यसको चामलबाट नै योमरी बनाउने गरिएकाले यो दिवस सबै किसानको दिवस रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले हाम्रो समाजमा परिश्रम गर्नेलाई तल्लो तहबाट हेर्ने गरेकामा त्यसलाई परिवर्तन गर्नुपर्ने बताए । “श्रम र परिश्रम गर्नेको कदर गरेनौँ भने विकास निर्माण हुँदैन । आजको दिवसमा खेतमा परिश्रम गरेर सबैलाई खाद्यान्न पु¥याउने परिश्रमीलाई सम्मान गर्नुपर्दछ”, उनले भने ।
मन्त्री सिंहले ज्यापू दिवसलाई व्यवस्थित बनाउन एउटा स्थायी कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै पुर्खाले सिकाएको संस्कृति र चाडपर्वलाई निरन्तरता दिनुपर्ने बताए । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले योमरी कृषि सभ्यताको प्रतीक रहेको बताए ।
उनले भाषा, संस्कृति रहनसहन, खानपान, वेशभूषा र परम्परा रहेको नेवार समुदायजस्तो विश्वमा अन्य समुदाय नभएको बताए । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल विभिन्न संस्कृतिको देश भएको बताए ।
उनले नेपालमा मनाइने विभिन्न जात्राहरूले मुलुकको सांस्कृतिक महत्वलाई उजागर मात्र नगरेर देशको पहिचान बोकेको बताए । उपप्रमुख डङ्गोलले मुलुकको आर्थिक क्रान्ति ल्याउन पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीद्वारा विभिन्न विधाका पुरस्कार प्रदान
कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू दिवसका अवसरमा सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान तथा प्रतिभा पुरस्कार प्रदान गरे ।
संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठलाई ज्यापू प्रज्ञा, वरिष्ठ मूर्तिकार धर्मराज शाक्यलाई ज्यापू सम्मान प्रदान गरिएको छ । यस्तै, ज्यापू युवा प्रतिभा सम्मान वाद्यवादन विधामा रोसिका गधारीलाई, ज्यापू युवा सशक्तीकरण सम्मान सञ्जय महर्जन, ज्यापू प्रतिभा सम्मान सञ्चारमा सुनिल महर्जन, ज्यापू प्रतिभा (शिक्षा) जयन्ती महर्जनलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही रु १० हजार नगद प्रदान गरिएको हो ।
यस्तै, ज्यापू युवा खेलकुद सम्मानबाट विक्रम महर्जन, योनोज महर्जन र अञ्जली महर्जनलाई प्रदान गरिएको छ । यस्तै, ज्यापू युवा सम्मान कलामा आनन्द महर्जन, ज्यापू बाल प्रतिभा पुरस्कार सुजिति डङ्गोल, टकमान सेवा समाज पुरस्कार शरणगोपाल डङ्गोल र वाद्यगुरु कृष्णभाइ महर्जन स्मृति पुरस्कार बुद्धिबहादुर डङ्गोललाई प्रदान गरिएको छ ।
ज्यापू समाजका अध्यक्ष मोहनकृष्ण सिंहले ज्यापू दिवसलाई सबै नेपालीको दिवस बनाउनुपर्नेमा जोड दिए ।