बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय कार्यशाला गोष्ठी

ओलीका दुई सन्देश : विष्णु र शंकर बराबर, विद्या भण्डारीलाई नउचाल्नु !

आइतबार, ३० मङ्सिर २०८१, २० : ००
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत प्रवृत्ति बढेको भन्दै कार्यकर्ताहरूलाई गुटको राजनीति नगर्न कडा चेतावनी दिएका छन् । साथै उनले अहिले एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट रहेको भन्ने बाहिरी चर्चामा कुनै सत्यता समेत नरहेको दाबी गरेका छन् ।

पार्टी केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीलाई आइतबार प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेल आफ्ना लागि बराबर रहेको र समान व्यवहार गर्ने गरेको समेत दाबी गरे ।

एमालेभित्रका कतिपय नेता कार्यकर्ताहरूले नै अध्यक्ष ओलीले पोखरेललाई च्यापेको र पौडेललाई कर्नरमा पारेको भन्ने चर्चा चलाइरहेका बेला ओलीले पार्टीभित्रको गुटबारे प्रष्टीकरण दिनुपरेको हो ।

पौडेल र पोखरेलमात्र होइन, अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय बनाउन उनको दैलोमा नजान नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

एमालेको आगामी ११ औँ महाधिवेशनमार्फत पार्टीको सक्रिय राजनीतिमा भण्डारी आउने चर्चा भइरहेका बेला अध्यक्ष ओलीको यस्तो भनाइ आएको हो ।

विष्णु र शंकर बराबर

प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी र नेतृत्वका विरोधीहरूले अनावश्यक भ्रम फैलाउने गरेपनि त्यसलाई एमाले कार्यकर्ताहरूले प्रतिरोध गर्न नसकेको गुनासो गरे । सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट नेतृत्वमाथि आक्रमण र विरोध भइरहेपनि एमाले कार्यकर्ताले सशक्त प्रतिवाद गर्न नसक्नुलाई ओलीले कमजोरीका रूपमा व्याख्या गरेका थिए । त्यही क्रममा अध्यक्ष ओलीले गुटको प्रशंग निकालेका थिए ।

shankar-bishnu

‘कतिपयले एमालेका विष्णु पौडेलको गुट छ,शंकर पोखरेलको गुट छ भन्छन् तर एमालेमा कसैको गुट छैन’, ओलीको भनाई उधृत गर्दै एक सहभागीले भने, ‘मैले गुट गर्ने कुरै भएन सबै मेरा साथीहरू हुन् सबैतिर सबैले मलाई सघाएकै छन् । मेरा लागि सबै बराबर हुन् ।’

अध्यक्ष ओलीले बाहिर कसले के भन्छन् र कसका नाममा गुट बनाइन्छन् भन्नेतर्फ नलाग्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । ‘एमालेमा अहिले विशेषगरी पार्टी पुनर्गठनपछि कसैको गुट छैन । विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको पनि गुट छैन । मेरा लागि दुवै जना बराबर हुन् । त्यसैले कोही भ्रममा पर्न आवश्यक छैन’, अध्यक्ष ओलीको भनाइ छ ।

विरोधीको प्रतिकार गर्न सुझाव

उनले परिस्थितिसँग जुध्न नसक्ने एमाले नेता कार्यकर्ताप्रति  असन्तुष्टि समेत जनाए । ‘हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन । समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको हो’,एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आइतबार पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूलाई भने, ‘यो पार्टी सामाजिक परिस्थितिलाई उच्चतम रूप दिन सुरुवातदेखि नै लाग्दै आएको छ ।’

अध्यक्ष ओली त्यतिमामात्र रोकिएनन् । उनले थप भने, ‘ पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा परेको छन् ।’

उनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई निर्देशन दिँदै मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिए ।

राजनीति अधिकार प्राप्त भएपनि स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्ने भन्दै ओलीले इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको पनि स्वीकार गरे ।

‘पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा परेको छन्’, अध्यक्ष ओलीको भनाइ छ । प्रतिक्रियावादीले कम्युनिस्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीत लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमान्दारिता नेता–कार्यकर्तामा हुन आवश्यक रहेको बताए ।

uml1

पूर्वराष्ट्रपतिसँग गुहार माग्न पर्दैन

पौडेल र पोखरेलपछि ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि प्रशंग निकाले । उनले भण्डारीलाई पार्टीमा आउनुपर्‍यो भन्दै नभेट्न पनि नेता–कार्यकर्तालाई सचेत गराउने प्रयास गरे ।

‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्‍यो भन्ने कुराको कुनै अर्थ छैन । उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा पार्टीमा आउनुहुन्छ’, सहभागी एक नेताले भने, ‘पार्टीमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा गुटका कुरा गरेर हुँदैन ।’

ओलीले पार्टीमा गुटबन्दी गरेको भन्दै कतिपय नेताहरू पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय गराउन चाहन्छन् । उनीहरुले एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयत्न समेत गरिरहेको एमालेभित्र चर्चा चलिरहेको छ । यही चर्चा सुनेका ओलीले भण्डारीलाई नउचाल्न नेताहरूलाई सचेत गराएका हुन् ।

कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष/महासचिव र स्थानीय तहमा निर्वाचित झण्डै ३ सय हाराहारी कार्यकर्ता सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप