भद्रगोल भ्रातृ संस्था : महाधिवेशन गराउने चुनौतीमा ‘केन्द्रीय निर्देशन समिति’
काठमाडौँ । अस्तव्यस्त र भद्रगोल अवस्थामा रहेका भ्रातृ संस्थाहरूको महाधिवेशन गराउने तयारीमा सत्तारूढ दल नेपाली कांग्रेस लागि परेको छ । २०८१ चैत मसान्तभित्र महाधिवेशन कुरेर बसेका भ्रातृ संस्थाहरूको अधिवेशन गराउने भन्दै ‘माउ पार्टी’ तयारीमा जुटेको छ । महाधिवेशन गर्ने भन्दै ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेर सभापति शेरबहादुर देउवा नेतृत्वले तयारी अघि बढाएको हो ।
पाँच महिना अघिको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन कुरेर बसेका भ्रातृ संस्थाको अधिवेशन गराउने निर्णय गरेको थियो । बैठकले भ्रातृ संस्थाहरूको महाधिवेशन गराउने उद्देश्य राखेर ‘केन्द्रबाट आवश्यक सहयोग गर्न’ भन्दै कार्यादेशसमेत तय गरेर दश भ्रातृ संस्थाका निर्देशन समिति बनाउने निर्णयमा लेखिएको थियो ।
तर‚ निर्णय कार्यान्वयनमा लान पार्टी नेतृत्वले आनाकानी गर्दा समिति नै नबन्ने खतरा बढेको थियो । भ्रातृ संस्थाहरूले पनि निर्देशन समिति नबन्दा महाधिवेशन केन्द्रित गतिविधि अगाडी बढाउन पाएका थिएनन् । तर‚ असार १९ को बैठकले महाधिवेशनका लागि निर्देशन समिति बनाउने निर्णय गरे पनि कार्यान्वयनमा भने गएको असोज १६ गतेबाट कार्यान्वयनमा आएपछि महाधिवेशनको माहौल बन्दै गएको छ ।
पार्टीले असोज १६ मा ३ र मङ्सिर २६ मा ७ गरेर १० वटा निर्देशन समिति गठन गरेको छ । यसको अर्थ १० वटा भ्रातृ संस्थाको महाधिवेशन हुने बाटो खुलेको छ ।
‘हाम्रो पार्टीको भ्रातृ संस्था विधानले चलाउने भन्दाभन्दै पनि अहिले हामी सहमतीय प्रणालीमा गयौँ । जसका कारण हाम्रा भ्रातृ संस्था ठुलठुला भए र समयमै समयमै महाधिवेशन भएन‚’ पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्छन्‚ ‘तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरू आफू व्यवस्थित हुन सकेनन् र तीनले समयमै अधिवेशन गराउन पनि सकेनन् । त्यसैले महाधिवेशन गराउन पार्टीले समन्वय समिति बनाइदिएको हो ।’
भ्रातृ संस्थाहरूको नियमित महाधिवेशन गराउन नसक्दा लामो समयदेखि नेतृत्व हस्तान्तरण हुन सकेको छैन । यही ‘जाम’लाई खुलाउने भन्दै कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन गरेको हो । असोज १६ मै पार्टीले तरुण दल निर्देशन समितिको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई बनाएका थिए । उनको नेतृत्वमा केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र जीतजङ्ग बस्नेत सदस्य छन् ।
यसैगरी नेविसंघ निर्देशन समितिमा सहमहामन्त्री किशोरसिंह राठौरले जिम्मेवारी पाएका थिए । राठौरको नेतृत्वमा केन्द्रीय सदस्यद्वय प्रतिमा गौतम र राजीव ढुङ्गाना सदस्य छन् ।
महिला संघ निर्देशन समितिको जिम्मा सहमहामन्त्री उमाकान्त चौधरीलाई दिइएको थियो । तर‚ हाल यो जिम्मेवारी पार्टी प्रवक्ता प्रकाशरण महतले पाएका छन् । महतको संयोजकत्वमा पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् । तर‚ यी तीन वटै निर्देशन समितिले राम्ररी आफ्नो काम गर्न सकेको छैन ।
‘एक दुई पटक बैठक बसाएर उहाँहरू(तरुण दल)को कुरा सुन्यौँ । विधान फाइनल गरेर पार्टीलाई पठाउने काम भयो तथा विवाद रहेका २२ जिल्ला बाहेकका जिल्लामा साधारण सदस्यता वितरणको निर्णय गरेका छौँ‚’ तरुण दलको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य सरिता प्रसाईँ भन्छिन्‚ ‘त्यसबाहेक अन्य काम भएको छैन ।’
पार्टीले मङ्सिर २६ गते अन्य थप सात भ्रातृ संस्थाको पनि महाधिवेशन केन्द्रित निर्देशन समिति बनाएको छ । जसमा नेपाल किसान महासंघ‚ नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघ रहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको जिम्मेवारी सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय लक्ष्मी परियार र शान्ति परियार वि.क. लाई दिएका छन् । यस्तै रमेश रिजालको संयोजकत्वमा नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा केन्द्रीय सदस्यद्वय राजेन्द्रकुमार के.सी. र अञ्जनी श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
यसबाहेक एनपी साउद नेतृत्वको नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बूले जिम्मेवारी पाएका छन् । नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा मोहनबहादुर बस्नेत तथा सदस्यहरूमा उमेशजंग रायमाझी र गणेश लामा सदस्य रहेका छन् ।
पार्टीले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको जिम्मवारी केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य श्री सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ‚ नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संयोजक उदयशम्शेर राणा संयोजक र डा. गोपाल दहित तथा योगेन्द्र चौधरी सदस्य‚ नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा प्रा.डा. गोविन्दराज पोखरेल संयोजक तथा केन्द्रीय सदस्य मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल सदस्य रहेका छन् ।
‘उहाँहरूले भ्रातृ संस्थाको समयमा अधिवेशन गराउनका लागि उनीहरूको नियमित बैठक बसाउने‚ विधान नभए तयार गर्दिने र महाधिवेशन कार्यतालिका निकालेर कार्यक्रम सहित अघि बढाउन पार्टीले निर्देशन दिने काम गर्नुहुन्छ‚’ प्रचार विभाग प्रमुख विश्वकर्मा थप्छन्‚ ‘कुनै एक व्यक्ति तोक्दा यता र उता (गुट)को भनेर मान्ने नमान्ने समस्या देखिने भयो । त्यसकारण सहमतिमा सबै पक्षको राखेर समिति बनाएका हौँ ।’
असारमा निर्णय गरेर यति ढिला निर्देशन समिति बनाएपछि तीन महिनाभित्र अधिवेशन सम्भव हुन्छ भन्ने प्रश्नमा विश्वकर्मा थप्छन्‚ ‘त्यसो भए अब त भ्रातृ संस्था हैन निर्देशन समिति असफल हुन्छ ।’
यता‚ नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक प्रा.डा. गोविन्दराज पोखरेल तोकिएकै समय भित्र महाधिवेशन गराउन सम्भव भएको दाबी गर्छन् ।
‘केन्द्रले समन्वय र आवश्यक निर्देशन दिँदै महाधिवेशन गराउने जिम्मेवारी दिएको छ‚’ उनले रातोपाटीसँग भने‚ ‘अरू थाहा भएन मेरो निर्देशन समितिले चाहिँ महाधिवेशन तोकेकै मितिमा गरिछाड्छ।’
- कहिलेबाट भएन अधिवेशन?
नियमित महाधिवेशन नभएको भन्दै २०७८ फागुन ३ मा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले १० भ्रातृ संस्थाहरूको केन्द्रीय समिति भङ्ग गरेको थियो । त्यस बखत नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भङ्ग गरिएको थियो ।
नेपाल विद्यार्थी संघको अन्तिम पटक ०७३ मा महाधिवेशन भएको थियो । त्यसपश्चान् संघ तदर्थवादमा चलिरहेको छ । २०७६ सालमा पहिलो पटक राजीव ढुङ्गाना तदर्थ समिति अध्यक्ष बने । उनी पार्टीको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि ०७८ चैत ९ मा दुजाङ शेर्पाको संयोजकत्वमा महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाइयो । पटकपटक तदर्थ समितिको म्याद थप भए पनि हालसम्म महाधिवेशनको टुङ्गो लागेको छैन ।
उस्तै हविगत नेपाल तरुण दलको पनि छ । ०७३ पछि नियमित अधिवेशन हुन नसकेको तरुण दलको तदर्थ नेतृत्वमा विद्वान गुरुङ छन् । उनी ०७८ चैत ९ मा तदर्थ समितिको अध्यक्ष बनेका हुन् ।
हाल नेपाल महिला संघको तदर्थ समितिको नेतृत्व उषा राउत मिश्रले गरिरहेकी छन् । उनलाई ०७९ मा सभापति शेरबहादुर देउवाले तदर्थ समितिको जिम्मेवारी दिएका हुन् । महिला सङ्घको पनि ०७३ पछि महाधिवेशन भएको छैन ।
नेपाल किसान महासंघको अवस्था झन् बिजोग छ । महासङ्घको ०६४ पछि महाधिवेशन हुन सकेको छैन । नेपाल प्रजातन्त्र सेनानी संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको छैन । हाल बालकृष्ण दाहाललाई तदर्थ समिति संयोजक बनाइएको छ । नेपाल दलित संघको पनि ०६९ पछि महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले ०६६ मा मान्यता पाए पनि त्यसपश्चात् महाधिवेशन गराएकै छैन । नेपाल भूतपूर्व सैनिक संघको ०७३ जेठ २३ पछि महाधिवेशन भएको छैन ।
नेपाल ठाकुर समाजले ०७९ साउनमा महाधिवेशन गराए पनि विवादका कारण समिति खारेज भएको छ । ०७९ साउन २ गते नेपाल थारु संघले मान्यता पाएको हो । संघको असोज २० मा केन्द्रीय तदर्थ समिति विस्तार भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ पनि केन्द्रीय तदर्थ समितिकै भरमा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म