जनकपुर र चितवनसँगै सुदूरपश्चिम पनि प्लेअफ चरणमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पोखरा एभेन्जर्सले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय ४८ रनमात्र बनाउन सक्यो ।
यो नतिजापछि सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । जनकपुर बोल्ट्स र चितवन राइनोजसँगै सुदूरपश्चिम रोयल्स पनि प्रतियोगिताको प्ले अफ चरणमा पुगेको छ । अब प्ले अफ चरणमा पुग्ने एक टोलीको मात्र टुंगो लाग्न बाँकी छ ।
सुदूरपश्चिम रोयल्सविरुद्ध जिततर्फ अग्रसर देखिएको पोखरा एभेन्जर्स अन्तिम ओभरमा निरीह बनेको थियो । पोखरा एभेन्जर्सका लागि रेमोन रिफर र किरण ठगुन्नाले महत्वपूर्ण योगदान गरेका थिए । यी दुई ब्याट्सम्यानले छैटौँ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।
रिफर र किरण आउट भएपछि पोखरा एभेन्जर्स हारतर्फ अग्रसर बनेको थियो । रिफरले ३३ रन बनाए । उनले २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । किरणले पनि टोलीका लागि ३२ रनको योगदान गरे । उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान आन्द्रेस गौसले पनि टोलीको खातामा ३६ रन थपेका थिए । विकेटकिपर गौसले २१ बलमा दुई छक्का र चार चौका हिर्काएका थिए । अर्का ओपनर दिनेश खरेलले पनि १२ बलमा तीन चौकाको मद्दतले १५ रन बनाएका थिए । जेन मलिकले पनि १० रन बनाए ।
पोखरा एभेन्जर्सले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलियनले पाँच विकेट लिए । उनले ३.४ ओभरमा १८ रन खर्चिए । हरमित सिंहले पनि तीन विकेट हात पारे । सेफ अली जेबले एक विकेट लिए ।
त्यसअघि, सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले अविजित ४२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३८ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।
ब्रान्डन म्याकमलेनले पनि टोलीको खातामा २३ रन थपे । तेस्रो नम्बरका ब्याट्सम्यान म्याकमलेनले केवल १६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाउँदै पेभेलियन फर्किए । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा एक छक्का प्रहार गरे । ओपनर सेफ अली जेब नौ रन बनाउँदै आउट भए ।
अर्का ओपनर विनोद भण्डारीले १४ रन बटुले । विकेटकिपर ब्याट्सम्यान विनोदले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । हरमित सिंहले १० बलमा एक छक्काको मद्दतले १३ रन बनाए ।
इशान पाण्डेले १० रन बनाए । ‘रिटायर्ड आउट’ भई पेभेलियन फर्किनुअघि उनले ११ बलमा एक चौका हिर्काए । नरेश बुढाऐर ६ रनमा अविजित रहे । स्कट कुगेलियनले दुई रन बटुले । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि १४ रन पायो । पोखरा एभेन्जर्सका बलर कुशल भुर्तेलले दुई तथा रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित