०८४ को चुनाव एक्ला एक्लै लड्ने मुडमा मधेस केन्द्रित तीन दल
काठमाडौँ । तीन ठुला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले आगामी चुनाव एक्ला एक्लै चुनाव लड्ने बताइरहेका बेला मधेस केन्द्रित तीन वटा दलले पनि त्यस्तै धारणा बाहिर ल्याउन थालेका छन् ।
मधेस केन्द्रित दल जसपा नेपाल, जनमत र लोसपा नेपालले गठबन्धनमा निर्भर नभई एक्ला एक्लै चुनाव लड्ने बताउन थालेका हुन् ।
एउटा मात्र आम निर्वाचनमा भाग लिएको सीके राउत नेतृत्वको जनमत पार्टीले २०७९ मा एक्लै चुनाव लडेको थियो । तर, विगतमा विभिन्न दलसँग गठबन्धन गरेर चुनावमा भाग लिएका जसपा नेपाल र लोसपा नेपालले अब गठबन्धन नगर्ने बताएका छन् । ती दलले ८४ मा एक्लै चुनाव लड्ने मुडमा आफूहरू रहेको बताएका हुन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले २०७९ मा कतिपय स्थानमा एमालेसँग चुनावी गठबन्धन गरेको थियो । तैपनि सो पार्टीले चुनावमा सोचे जस्तो परिणाम ल्याउन सकेको थिएन ।
चुनावपछि जसपा नेपालले गरेको समीक्षामा एक्ला एक्लै चुनाव लडेको भए राम्रो परिणाम ल्याउन सकिने निष्कर्ष निकालिएको थियो । यस्तै हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जसपा नेपाल प्राप्त ल्याएको परिणामले उत्साहित भएको छ । यो परिणामले पनि पार्टी एक्लै निर्वाचनमा जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने सन्देश दिएको सो पार्टीका कतिपय नेताहरूले बताउँछन् ।
जसपा नेपालका महासचिव रामकुमार शर्माले अहिलेसम्मको परिस्थिति हेर्दा जसपा नेपालले एक्लै चुनाव लड्ने अवस्था रहेको बताए ।
यद्यपि ०८४ अहिले धेरै टाढा रहेको उल्लेख गर्दै अहिलेको पहिलो प्राथमिकता सङ्गठन निर्माण र आन्दोलन भएको बताए । त्यसपछिको चरणमा मात्र चुनावमा प्रवेश गरिने उनको भनाइ छ ।
स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालको जुन परिणाम आएको छ त्यसबाट सन्तोष गर्ने ठाउँ रहेको उल्लेख गर्दै उनको भनाइ छ ।
उनका अनुसार सङ्गठन निर्माणका लागि जसपा नेपाल अभियान नै चलाएको । ०८४ सम्म सङ्गठन निर्माणका विभिन्न अभियान सञ्चालन गर्ने र त्यसपछि चुनावको बारेमा छलफल गरेर अगाडि बढ्ने शर्माको भनाइ छ ।
उनका अनुसार शनिबार सम्पन्न कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । अभियान अत्यन्तै प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्मलाई निरन्तरता दिएको उनले बताए ।
यस्तै आगामी संगठनात्मक कार्यदिशाका सम्बन्धमा बैठकले पूर्वपश्चिम राजमार्गमा सङ्गठन निर्माणका लागि विशेष सांगठनिक कार्ययोजना तयार गर्ने निर्णय गरेको पनि शर्माले बताए ।
यस्तै बैठकले महाधिवेशन पछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र अद्यावधिक गर्ने निर्णय गरेको छ । जसपा पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने विषय समावेश छ ।
यसैगरी जनमत पार्टीका उपाध्यक्ष ईं.दीपक साहले आफ्नो पार्टीले २०७९ को चुनाव एक्लै लडेको र अगामी चुनाव पनि एक्लै लड्ने सोच बनाइएको जानकारी दिए ।
चुनावमा कसैसँग तालमेल हुँदैन भनेर जनमत पार्टीले सुरुदेखि नै भन्दै आएको स्पष्ट पार्दै उनले ०८४ को चुनावको तयारीका लागि मिसन ८४ पनि चलाइरहेको जानकारी दिए ।
उसो त ०७९ को चुनावमा कांग्रेससँग चुनावी तालमेल गरेको महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल राष्ट्रिय दल नै बन्न सकेन । यस्तो पृष्ठभूमिमा पनि सो पार्टीले २०८४ को चुनावमा एक्लै चुनाव आँट गरिसकेको छ ।
लोसपा नेपालका महासचिव मनिष मिश्रले ०८४ को चुनाव एक्लै लड्ने गरी पार्टी तयारीमा जुटिसकेको बताए । उनले त्यही अनुसार सङ्गठन निर्माणको काम पनि अगाडि बढेको बताउँदै २०८१ को बैशाख २६ गते लोसपा नेपालको पहिलो महाधिवेशन हुन गइरहेको बताए ।
कुनै दलसँग चुनावी तालमेलमा अल्झिनु भन्दा एक्लै लड्ने गरी तयारी गरे भने अगाडि बढ्न सजिलो हुने उनको धारणा छ । सङ्गठन निर्माणको क्रममा जनताले चुनाव एक्लै लड्न सुझाव दिएको बताउँदै महासचिव मिश्रले विगतको चुनावमा गठबन्धन नबनाई निर्वाचनमा एक्लै भाग लिएको भए यो भन्दा राम्रो नतिजा ल्याउन सकिने आफूहरूको विश्लेषण रहेको बताए ।
लोसपा नेपालले हाल सदस्यता वितरण अभियान चलाउँदै आएको छ भने सो अभियानको आइतबार अन्तिम दिन रहेको छ । अभियानबाट पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य राखिएको लोसपा नेपालको भनाइ छ । त्यसका लागि पाँच लाखभन्दा बढी सदस्यता रसिद जिल्ला जिल्ला पठाइसकेको महासचिव मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग ५ विकेटले स्तब्ध बन्यो नेपाल
-
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : थपलिया
-
श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन
-
मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ : अध्यक्ष महतो
-
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
-
‘मदारीले भालु नचाएजस्तो होइन कविता’