‘समाजवादी मोर्चा’को विपक्षमा झलनाथ खनाल, पार्टी सदस्य बढाउन के छ कार्ययोजना ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले विभाजित कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा ‘समाजवादी मोर्चा’ बनाउन गरिएको प्रयत्नलाई अपरिपक्व प्रयासको संज्ञा दिएका छन् ।
२०८० असारमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका विप्लव लगायतका नेताहरूले ‘समाजवादी मोर्चा’ गठन गरिसकेको अवस्थामा नेता खनालले यसलाई ‘अपरिपक्व’ प्रयास भनेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले जारी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको ‘दशौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो तात्कालिक कार्ययोजना’ शीर्षकको प्रस्तावमा मोर्चाको कडा विरोध गरेका छन् ।
उनले विभिन्न समूहमा विभक्त वामपन्थी समूहहरूलाई कसरी साझा सवालमा एक ठाउँ ल्याउन वा बाम एकता निर्माण गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको समेत बताएका छन् ।
‘यी विभाजित बाम समूहहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नाउँमा केही समय अघि “समाजवादी मोर्चा” बनाउने प्रयत्न पनि देखापर्यो’, खनालको प्रस्तावमा भनिएको छ, ‘त्यो एउटा अपरिपक्व अभ्यास बाहेक केही थिएन ।’
समाजवादी मोर्चा नै बनाउने हो भने सबैभन्दा पहिले वैज्ञानिक समाजवादको कार्यक्रममा सहमति हुनुपर्ने खनालको जोड छ ।
‘कुनै पनि मोर्चा वा कार्यगत एकता निश्चित लक्ष्यका आधारमा बन्छ । समाजवादी मोर्चा बन्ने बित्तिकै समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने मुख्य कार्यदिशामा एकरूपता हुनैपर्छ’, नेता खनालले भनेका छन्, ‘त्यसैले यतिबेला “समाजवादी मोर्चा” बनाउने आत्मगत परिस्थिति विकसित भएको देखिँदैन । परिस्थिति परिपक्व भयो भने फेरि बनाउन नसकिने भन्ने पनि हुँदैन ।’
नेता खनालले आजका वामपन्थी समूहहरूमा कार्यक्रम, कार्यदिशा, मार्गदर्शन सिद्धान्त, संयुक्त मोर्चा वा कार्यगत एकता जस्ता अहम् महत्वका सवालहरूमा नै विविधता वा मतभिन्नता देखिएको पनि बताएका छन् ।
यस्तो अवस्थामा आपसी मतभिन्नताका सवालहरूमा केन्द्रित भएर मैत्रीपूर्ण ढङ्गले गम्भीर सैद्धान्तिक वा नीतिगत बहसलाई अघि बढाउनुपर्नेमा खनालको जोड छ । उनले ती मतभिन्नताका बाबजुद पनि साझा हितका सवालहरूमा कार्यगत एकता गर्दै अघि बढ्न सकिने धारणा भने राखेका छन् । जुन समूहका बिचमा वैचारिक–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, मार्गदर्शन सिद्धान्त आदिमा एकरूपता हुन्छ, तिनीहरूका बिचमा क्रमशः पार्टी एकताको प्रक्रियालाई पनि अघि बढाउन सकिने बताएका छन् ।
खनालले वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरूपता नभई पार्टी एकीकरण सम्भव नहुने उल्लेख गर्दै भनेका छन्, ‘पार्टी एकीकरण एउटा गहन प्रक्रिया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरू बिच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रूपले अघि बढ्न सकिन्छ ।’
अहिले विभिन्न वामपन्थी समूहहरूमा नीतिहीन, सिद्धान्तहीन र स्वार्थपूर्ण ढङ्गले जो पायो त्यहीसँग कार्यगत एकता गर्ने प्रवृत्ति देखा परेको खनालको निष्कर्ष छ ।
‘एउटाले कांग्रेससँग एकता गर्दा अर्को यो “पुच्छरवाद भयो” भनेर विरोध गर्ने र फेरि आफै कांग्रेससँग एकता गर्दा त्यो “स्थिरता र प्रगतिको” प्रतीक भएको देख्ने प्रवृत्ति विद्यमान छ’, एमालेप्रति संकेत गर्दै खनालले भनेका छन्, ‘यो जोसँग मिलेर भएपनि सत्तामा पुग्ने र विभिन्न प्रकारका अनियमितता गरेर सम्पत्ति कमाउने स्वार्थसँग जोडिएको छ । यो आफैँ घोर दक्षिणपन्थी प्रवृत्ति हो । मुख्य प्रतिद्वन्द्वी दक्षिणपन्थी शक्तिहरूसँग एकता गरेर सत्तामा बस्नु भनेको वर्ग आत्मसमर्पणवाद बाहेक केही होइन । यो कुरा हाम्रो पार्टीलाई पनि लागू हुन्छ ।’
- ४ लाख ५० हजार पार्टी सदस्य बनाउने प्रस्ताव
खनालले आगामी एक वर्षमा ४ लाख ५० हजार पार्टी सदस्य बनाउन सकिने समेत बताएका छन् । पार्टीका प्रत्येक पार्टी सदस्यले एक वर्ष भित्रमा न्यूनतम दुई जना पार्टी सदस्य बनाउनुपर्ने उनको भनाइ छ ।
‘एक वर्षभित्रमा पार्टीको सदस्यता सङ्ख्या दोब्बर भन्दा बढी हुन्छ । हामीले एक वर्ष भित्रमा पार्टी सदस्यहरूको सङ्ख्या कम्तीमा ४ लाख ५० हजार पुर्याउन सकिन्छ’, खनालको प्रस्तावमा भनिएको छ ।
उनले यो विकास र विस्तार क्रान्तिकारी विकास र विस्तार हुने भन्दै हर स्तरका पार्टी कमिटीहरूले यो दायित्व बहन गर्ने सङ्कल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
‘यस्तो सामूहिक सङ्कल्प लिएर अघि बढ्ने हो भने पार्टीमा चमत्कारिक विकास हुन सक्छ’, खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
-
पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
-
भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी
-
‘ट्रम्पको धम्कीसामु क्यानडा झुक्ने छैन’