बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

स्मिथ र हेडको शतकसँगै अस्ट्रेलियाको विशाल योगफल

आइतबार, ३० मङ्सिर २०८१, १३ : ४५
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । बोर्डर–गावस्कर शृङ्खलाअन्तर्गत भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले गतिलो सुरुवात गरेको छ । दोस्रो दिन आइतबारको खेल सकिँदासम्म अस्ट्रेलियाले आफ्नो पहिलो पालीमा सात विकेट गुमाएर चार सय पाँच रन बनाएको हो ।

ब्रिसबेनमा वर्षाबाट प्रभावित पहिलो दिन शनिबार भने १३.२ ओभर मात्र खेल सम्भव भएको थियो । कुनै पनि विकेट नगुमाई २८ रनको स्थितिबाट अस्ट्रेलियाले दोस्रो दिनको खेल अगाडि बढाएको थियो । अस्ट्रेलियाका लागि पहिलो पालीमा दुई ब्याट्सम्यानले शतकीय योगदान गरे ।

अस्ट्रेलियाले ७५ रनको कुल स्कोरमा माथिल्ला तीन विकेट गुमाएको थियो । ओपनर उस्मान ख्वाजा २१, अर्का ओपनर नाथन म्याकस्विनी नौ र मार्नस लाबुशेन १२ रन बनाउँदै आउट भएका थिए । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथ र पाँचौँ नम्बरका ब्याट्सम्यान ट्राभिस हेडले टोलीको स्कोरलाई तीन सय १६ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए ।

स्टिभन स्मिथले टोलीका लागि एक सय एक रनको योगदान गरे । उनले एक सय ९० बलको सामना गरी १२ वटा चौका पनि हिर्काए । ३५ वर्षीय स्टिभन स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३३औँ शतक पनि हो ।

ट्राभिस हेडले पनि टोलीका लागि एक सय ५२ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल एक सय ६० बलको सामना गरी १८ वटा चौका हिर्काए । ३० वर्षीय ट्राभिस हेडले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ शतक हो ।

मिचेल मार्स भने पाँच रन बनाउँदै आउट भए । कप्तान प्याट कमिन्सले पनि टोलीको खातामा २० रन थपे । दोस्रो दिनको खेल सकिँदा एलेक्स केरीले ४५ रन बनाउँदै क्रिजमा छन् । उनले ४७ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएका छन् ।

मिचेल स्टार्क सात रनमा अविजित छन् । अस्ट्रेलियाले अतिरिक्त रूपमा पनि ३३ रन पाएको छ । भारतका बलर जसप्रित बुमराह एक्लैले पाँच विकेट लिए । उनले २५ ओभरमा सात मेडन राख्दै ७२ रन खर्चिए । मोहम्मद सिराज र नितिष कुमार रेड्डीले पनि एक–एक विकेट हात पारे ।

पाँच टेस्टको शृङ्खला हाल १–१ को बराबरीमा छ । पर्थमा खेलिएको शृङ्खलाको पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई दुई सय ९५ रनले हराएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

दोस्रो टेस्ट दिवा–रात्रि रूपमा खेलिएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको खेल भएकाले यो शृङ्खला दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप