बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

विराटनगरमाथि काठमाडौँको रोमाञ्चक जित, प्ले अफ चरण पुग्ने सम्भावना कायमै

आइतबार, ३० मङ्सिर २०८१, १२ : २४
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको खेलमा काठमाडौँ गुर्खाजले सफलता हात पारेको छ । काठमाडौँ गुर्खाजले आइतबार खेलिएको खेलमा विराटनगर किङ्समाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो । जवाफमा काठमाडौँ गुर्खाजले १८.१ ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

जितसँगै काठमाडौँ गुर्खाजले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । तर, अब प्ले अफ चरणमा पुग्न काठमाडौँ गुर्खाजले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । अब सोमबार खेलिने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिचको खेलले काठमाडौँ गुर्खाजको भविष्य निर्धारण गर्नेछ ।

सोमबार हुने खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई निकै ठूलो अन्तरले हराएमा काठमाडौँ गुर्खाज प्ले अफ चरणमा पुग्ने झिनो सम्भावना बाँकी छ । अन्यथा समान अंक भए पनि कर्णाली याक्स नै प्ले अफ चरणमा पुग्नेछ ।

काठमाडौँ गुर्खाज र विराटनगर किङ्स दुबैले आफ्नो अन्तिम (सातौँ) खेल खेलेका हुन् । विराटनगर किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेलमा पराजित भएको भए काठमाडौँ गुर्खाज पनि उपाधि होडबाट बाहिरिने थियो ।

सामान्य विजयलक्ष्य पछ्याए पनि काठमाडौँ गुर्खाजले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो । काठमाडौँ गुर्खाजका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका प्रतिकले ३४ बलमा दुई छक्का र दुई चौका हिर्काए ।

आठौँ नम्बरका ब्याट्सम्यान शंकर रानाले अविजित १६ रन बनाए । उनले २० बलमा एक चौका प्रहार गरे । दिपेश कँडेलले पनि अविजित ११ रनको योगदान गरे । उनले पाँच बलमा एक छक्का र एक चौका हिर्काए ।

रासिद खानले पनि १५ बलमा एक छक्का र एक चौकाको मद्दतले १४ रन बनाए । काठमाडौँ गुर्खाजका माथिल्लो क्रमका ब्याट्सम्यानले भने निराशाजनक प्रदर्शन गरेका थिए । ओपनर माइकल लेभिटले १० रन बनाए । जेरहार्ड एरास्मस १२ रनमै पेभेलियन फर्किए ।

विराटनगर किङ्सका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा १९ रन खर्चिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले पनि दुई–दुई विकेट हात पारे । काठमाडौँ गुर्खाजले अतिरिक्त रुपमा पनि १३ रन पायो ।

त्यसअघि, काठमाडौँ गुर्खाजविरुद्धको खेलमा विराटनगर किङ्सका ब्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । ओपनर लोकेश बम आठ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर दिपक बोहराले भने २० रन बनाए । उनले २४ बलमा दुई चौका प्रहार गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका निकोलस किर्टन १० बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान स्कट एडवार्डस पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान एडवार्डसले १४ बलमा एक चौका हिर्काए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले १३ बलमा एक छक्काको मद्दतले १३ रन बनाए । इस्मत आलम पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । क्रिस सोल एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका राजेश पुलामीले २५ रन बनाए । विराटनगर किङ्सका लागि कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो । उनले २१ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए ।

कप्तान सन्दीप लामिछाने त खातासम्म खोल्न सकेनन् । सुवाष भण्डारीले ६ रन बनाए । टोलीको स्कोरलाई एक सय रनभन्दा अगाडि बढाउन राजेश पुलामी र सुवाष भण्डारीको योगदान महत्वपूर्ण रह्यो । खेलको अन्त्यतिर यी दुई ब्याट्सम्यानले जिम्मेबारीपूर्वक ब्याटिङ गरेका थिए ।

विराटनगर किङ्सले अतिरिक्त रुपमा पनि १२ रन पायो । काठमाडौँ गुर्खाजका बलर जेरहार्ड एरास्मसले तीन विकेट लिए । उनले चार ओभरमा १७ रन खर्चिए । दिपेश कँडेलले पनि दुई विकेट हात पारे । साहब आलम, कप्तान करण केसी र डन डथवेटले पनि एक–एक विकेट हात पारे ।

जारी एनपीएलको प्रारम्भिक चरणमा सहभागी आठवटै टोलीले सात–सात खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने चार टोली प्रतियोगिताको प्ले अफ चरणमा पुग्ने प्रावधान रहेको छ ।

सात खेल खेलेको जनकपुर बोल्ट्स १० अंकसहित पहिलो स्थानमा छ । पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स आठ अंकसहित दोस्रो स्थानमा आसिन छ । सात खेल खेलेको चितवन राइनोज आठ अंकसहित तेस्रो, ६ खेल खेलेको कर्णाली याक्स आठ अंकसहित चौथो र सात खेल खेलेको काठमाडौँ गुर्खाज आठ अंकसहित पाँचौँ स्थानमा छन् ।

६ खेल खेलेको पोखरा एभेन्जर्स (चार अंक), सात खेल खेलेको विराटनगर किङ्स (चार अंक) र सात खेल खेलेको लुम्बिनी लायन्स (दुई अंक) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । आइतबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिच खेलिने छ । 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप