मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय
पार्किङ समस्या

‘अब पार्किङसहितका भवन निर्माण गरिनुपर्छ’

आइतबार, ३० मङ्सिर २०८१, १२ : १२
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ उपत्यकामा सवारी पार्किङ एउटा प्रमुख समस्याका रूपमा देखिन्छ । पार्किङको न कुनै सरकारी मापदण्ड छ, न त यसलाई नियमन गर्ने निकाय नै । उपत्यकामा सवारी पार्किङ समस्या र समाधानका विषयमा नेपाल ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन कार्कीसँग रातोपाटीकर्मी कल्पना घिमिरेले गरेको कुराकानी :

  • काठमाडौँ उपत्यकाको सवारी पार्किङ सधैँ अस्तव्यस्त किन हुन्छ ? 

उपत्यकामा सवारी पार्किङ अहिले अस्तव्यस्त नै भएको हामीलाई लाग्दैन । अस्तव्यस्तभन्दा पनि पार्किङ पर्याप्त मात्रामा नभएका कारण केही समस्या छन् । समस्या नभएको त होइन तर अस्तव्यस्त हुने गरी पार्किङ व्यवस्थापन नभएको पनि होइन । हामीले अव्यवस्थित तरिकाले सडकमा पार्किङ गर्न दिएका छैनौँ । सडकको छेउछाउतिर पार्किङ गरेका खण्डमा ह्विल लक लगाउने, चेन लक लगाउने र कारबाहीस्वरूप जरिवाना गर्ने गरेका छौँ । सडकमा पार्किङ गर्न पाइँदैन ।

यसभन्दा पहिलाका बरु जथाभावी पार्किङ गर्ने समस्या थियो । त्यतिबेला अव्यवस्थित पार्किङका कारणले सवारी दुर्घटना बढेको तथा सवारी जाम बढेको थियो । अहिले त्यस्तो छैन । अव्यवस्थित रूपमा पार्किङ गर्नेलाई कारबाही गरिने हुँदा अहिले यस्ता समस्या हटेका छन् । 

पार्किङ स्थलको अभाव भने धेरै पहिलादेखिकै हो । उपत्यकामा पार्किङ स्थल पर्याप्त छैनन् र पार्किङ स्थल निर्माणका लागि पर्याप्त जग्गा–जमिन पनि छैन । त्यसैले पार्किङ कहाँ गर्ने भन्ने समस्या सिर्जना भएको छ । 

  •  सवारी पार्किङका विषयमा सरकारले हालसम्म कुनै मापदण्ड बनाएको देखिँदैन । सवारी पार्किङका लागि कस्तो मापदण्ड आवश्यक छ ?

सवारी पार्किङको मापदण्ड छैन । अहिले यसका लागि मापदण्ड अत्यन्तै जरुरी छ । मापदण्ड नबन्दा सवारी पार्किङ पर्याप्त मात्रामा छैनन् । भएका पार्किङ स्थल पनि उपयुक्त छैनन् । 

उपत्यकामा पार्किङ स्थलको अभावका कारण सवारी चालकलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न समस्या भइरहेको छ । कुनै सामान किन्न बजार जाँदा, सेवा लिन कुनै कार्यालय जाँदा वा अस्पताल जाँदा कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ । त्यस कारण उपत्यकामा नयाँ घर बनाउँदा अन्डरग्राउन्ड पार्किङ राख्नुपर्छ भनेर हामीले धेरै पहिलादेखि सल्लाहसुझाव दिँदै आएका छौँ । यस्तो खालको मापदण्ड बनाउनुपर्छ भनेर हामीले बारम्बार सल्लाह सुझाव दिइरहे पनि सवारी पार्किङका लागि कुनै मापदण्ड बन्न सकेको छैन । 

अहिले भएका अन्डरग्राउन्ड पार्किङहरू पनि व्यवस्थित छैनन् । सपिङ मल, कम्प्लेक्स अथवा अन्य ठुला संरचना बनाउँदा अनिवार्य पार्किङ बनाउन जरुरी छ । त्यसका साथै प्राइभेट सेक्टर अथवा सरकारी क्षेत्रबाट मल्टिस्टोरेज पार्किङहरू बनाउन जरुरी देखिन्छ । अबका दिनमा नयाँ भवन बनाउँदा नै मल्टिस्टोरेज पार्किङहरू बनाउने गरी सरकारले मापदण्ड ल्याउनुपर्छ ।

अहिले भएका अन्डरग्राउन्ड पार्किङहरू पनि व्यवस्थित छैनन् । सपिङ मल, कम्प्लेक्स अथवा अन्य ठुला संरचना बनाउँदा अनिवार्य पार्किङ बनाउन जरुरी छ । अबका दिनमा नयाँ भवन बनाउँदा नै मल्टिस्टोरेज पार्किङहरू बनाउने गरी सरकारले मापदण्ड ल्याउनुपर्छ ।
  • उपत्यकाको कुन ठाउँमा पार्किङको सबैभन्दा बढी समस्या छ ? 

काठमाडौँ उपत्यकामा पार्किङको समस्या सबैतिर छ । पार्किङको समस्या भएका निश्चित ठाउँ पनि छन् । विशेष गरी कोर एरिया अर्थात् बजार क्षेत्र, पर्यटकीय क्षेत्र न्युरोड, भक्तपुर, पाटन लगायत अन्य स्थानमा पार्किङको समस्या बढी छन् ।

जहाँ चहलपहल बढी हुने स्थान छन्, ती स्थानमा सवारी पार्किङको उचित व्यवस्थापन हुन सकेको देखिँदैन । त्यस्तै, सरकारी भवन र अन्य निजी संरचनामा पनि यथेष्ट पार्किङ भएको भेटिँदैन । काठमाडौँ साँघुरो ठाउँ, त्यसमाथि जनघनत्व बढी भएकाले पार्किङमा समस्या आएको छ । पहिले भवन बनाउँदा पार्किङका लागि भनेर स्थान छुट्ट्याइएको हुँदैनथ्यो । अब भने भवनहरू निर्माण गर्दा नै पार्किङका लागि ठाउँ व्यवस्थापन गर्नुपर्ने देखिएको छ । 

  • काठमाडौँ महानगरले न्युरोड, बागबजार, दरबारमार्ग लगायत क्षेत्रका पार्किङ हटाएर धरहरा, भ्युटावर लगायत स्थानमा पार्किङको व्यवस्था गरेको छ । यसले सवारी व्यवस्थापनमा के कस्तो सजिलो वा अप्ठेरो छ ? 

अहिले महानगरले निश्चित स्थानमा सवारी पार्किङ व्यवस्थापन गरिदिँदा सवारी आवागमनमा सहज भएको छ । सवारी पार्किङमा पनि केही राहत मिलेको देखिन्छ । स्थानीय सरकारले पार्किङ व्यवस्थापन गरिदिँदा राम्रो नै हुने भयो तर धरहरा र भ्युटावरको पार्किङ पूर्ण रूपमा आफैँमा व्यवस्थापन भइनसकेको अवस्था छ । जति सवारीसाधन पार्किङ गर्न सक्ने क्षमता हो, त्यति सवारी पार्किङ गर्न मिल्ने गरी निर्माण भइसकेको छैन । 

अर्को कुरा, यो एक–दुईवटा पार्किङ स्थलले मात्रै पनि सवारी पार्किङ क्षेत्र पर्याप्त हुँदैन । थुप्रै ठाउँमा पार्किङ क्षेत्र बनाउन जरुरी देखिन्छ । एउटा धरहरा र भ्युटारवरको पार्किङ क्षेत्रले मात्रै त धान्दैन ! काठमाडौँ उपत्यकामा लगभग चारदेखि पाँच लाख सवारी साधन दैनिक रेगुलर गुड्ने अनुमान गरिन्छ । त्यसैले एक–दुईवटा पार्किङले पर्याप्त हुने कुरै भएन, त्यस कारण अलि बढी पार्किङ क्षेत्र बनाउन जरुरी देखिन्छ । 

  • निजी पार्किङ क्षेत्रमा पनि मनोमानी देखिन्छ, मनलाग्दी शुल्क छ । शुल्क तिर्दा समेत सवारी साधनको सुरक्षा छैन । स्थानीय सरकारसँग मिलेर त्यस्ता स्थानमा तपाईंहरूले निगरानी गर्न किन नसकेको ? 

निजी पार्किङ क्षेत्रहरू हाम्रो क्षेत्राधिकारभित्र पर्दैनन् । तैपनि निजी पार्किङ क्षेत्रमा शुल्क बढी हुने, सुरक्षा नहुने भन्ने खालका गुनासा आउने गरेका छन् । यस्ता गुनासा आउनु राम्रो होइन । यो हाम्रो क्षेत्राधिकारभित्रको विषय नभए पनि सुरक्षाका कुरामा हामीकहाँ गुनासो आउँदा त्यसको समाधानका लागि पहल गरिदिने गर्छौं । 

निजी सवारी पार्किङ स्थलहरूमा कसरी पार्किङ गर्न दिने, के गर्ने भन्ने हामीले हेर्ने होइन । पार्किङ स्थल सञ्चालकले आफूले जिम्मेवारी लिएर व्यवसाय गर्ने भइसकेपछि सञ्चालक आफैँले त्यहाँका सुरक्षाका मापदण्ड अपनाउन जरुरी हुन्छ र हामीले सहयोग गर्ने कुरामा अथवा चोरी नियन्त्रणका लागि अनुसन्धान लगायत ट्राफिक प्रहरीले गर्नुपर्ने कुरा हामीले गरिरहेकै छौँ । 

  • यहाँको अनुभवमा उपत्यकामा पार्किङको व्यवस्थापन कसरी गर्न सकिएला ?

काठमाडौँ उपत्यका देशकै ठुलो सहर अर्थात् संघीय राजधानी भएको सहर हो । यहाँ देशका सबै जिल्लाका नागरिक आएर बसोबास गर्ने हुँदा यहाँको जनघनत्व जति हुनुपर्ने हो त्योभन्दा बढी छ । जनसंख्या र सवारीसाधन दिनहुँ थपिएको अवस्था छ तर बाटो–घाटो, सवारी व्यवस्थापनमा पर्याप्त सुधार हुन सकेको छैन । त्यसैले यहाँ पार्किङ एउटा समस्या बनेको छ । यसमा नीतिगत सुधार गर्नेदेखि बसपार्कहरू व्यवस्थित गरिनुपर्छ ।

अबका दिनमा चाहे सरकारी भवन बनाउँदा होस् अथवा निजी क्षेत्रद्वारा सञ्चालित भवन होउन्, त्यहाँ पार्किङ बनाउनैपर्ने नीति ल्याउन जरुरी देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप