आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय

हिउँदमा सिँचाइ व्यवस्थापनलाई ध्यान दिन आग्रह

आइतबार, ३० मङ्सिर २०८१, ११ : २४
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । हिउँदको तीन महिना बाली, फलफूल,आलु लगायतका बालीहरूको लागि सिँचाइ व्यवस्थापन कार्यलाई विशेष ध्यान दिन आग्रह गरिएको छ। यस वर्षको हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने साथै अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि बाली, फलफूल, आलु लगायत बालीहरूको लागि सिँचाइ व्यवस्थापन कार्यलाई विशेष ध्यान दिन आग्रह गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि–मौसम सल्लाह बुलेटिनमार्फत उपलब्ध सिँचाइ सुविधालाई दक्षतापूर्वक प्रयोगका लागि सिँचाइका नवीनतम प्रविधिहरू जस्तै– प्लास्टिक पोखरी, थोपा सिँचाइ, फोहोरा सिँचाइ, परफोरेटेड पाइप इत्यादि प्रयोग सुझाइएको छ ।

कुन बालीमा कति पानी चाहिने भन्ने कुरा मुख्य रूपले बालीको किसिम तथा अवस्था, माटोको प्रकार, मौसम इत्यादिले निर्धारण गर्ने हुँदा पानी आवश्यकताको हिसाबले संवेदनशील चरणलाई ध्यान दिई उपलब्ध सिँचाइ सुविधा प्राथमिकताका साथ प्रयोग गर्न सुझाइएको छ ।

कुन बालीमा कहिले सिँचाइ गर्ने यस्तो छ नार्कको सुझाव :

गहुँ– मुकुट जरा आउने अवस्था, गाँज हाल्ने अवस्था, आँख्ला बन्ने अवस्था, फूल फुल्ने र दानामा दुध बन्ने अवस्था सिँचाई गर्नुपर्छ ।

मकै– बालीको उचाइ घुँडा सम्मको अवस्था, करिब ५० प्रतिशत धानचमरा आउने अवस्था, दाना लाग्ने र दाना पाक्ने अवस्था सिँचाइ गर्नुपर्छ ।

तोरी– बिरुवा उम्रेको २–३ हप्तासम्म, फूल फुल्नु अगाडी र कोसा लाग्ने अवस्था सिँचाई गर्नुपर्छ ।

आलु–उम्रने अवस्था, बाली विकासको अवस्था, तान्द्रा बन्ने अवस्था, दाना लाग्ने अवस्था सिँचाई गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप