आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

अन्तिम खेलमा पनि विराटनगरको निराशाजनक ब्याटिङ, काठमाडौँलाई ११८ रनको लक्ष्य

आइतबार, ३० मङ्सिर २०८१, १० : ३१
आइतबार, ३० मङ्सिर २०८१

काठमाडौँ । उत्तरार्धतर्फ लम्कँदै गरेको फ्रेच्नाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको खेलमा विराटनगर किङ्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय १८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको हो । यो खेल विराटनगर किङ्सको तुलनामा काठमाडौँ गुर्खाजका लागि महत्त्वपूर्ण छ ।

प्रभावशाली लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । काठमाडौँ गुर्खाजको भने अगाडि बढ्ने झिनो सम्भावना अझै पनि बाँकी छ । तर, यो खेलमा पराजित भए काठमाडौँ गुर्खाज पनि उपाधि होडबाट बाहिरिने छ ।

जारी प्रतियोगितामा काठमाडौँ गुर्खाज र विराटनगर किङ्स दुबैले आफ्नो अन्तिम (सातौँ) खेल खेलिरहेका हुन् । यसअघि खेलिएको ६ खेलबाट ६ अंक बटुल्दै काठमाडौ्रँ गुर्खाज तालिकाको पाँचौँ स्थानमा आसिन छ । काठमाडौँ गुर्खाजले हालसम्म तीन जित र तीन हारको नतिजा निकालेको छ ।

विराटनगर किङ्स भने ६ खेलबाट चार अंक जोड्दै तालिकाको छैटौँ स्थानमा आसिन छ । विराटनगर किङ्सले दुई जित र चार हारको नतिजा निकालेको छ । पहिलो चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्लेअफ चरणमा पुग्ने प्रावधान छ ।

सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स तालिकाको पहिलो स्थानमा छ । पाँच खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज आठ अंकसहित तेस्रो र ६ खेलबाट आठ अंक बटुलेको कर्णाली याक्स चौथो स्थानमा छन् ।

आइतबारको खेलमा विराटनगर किङ्सलाई हराउन सके काठमाडौँ गोर्खाजको पनि आठ अंक पुग्नेछ । त्यसपछि आठ–आठ अंक जोड्ने टोलीमध्येबाट नेट रन रेटका आधारमा अघिल्लो चरणमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यद्दपि, हालसम्म काठमाडौँ गुर्खाजको नेट रन रेट ऋणात्मक रहेको छ ।

biratnagar4

आइतबार खेलिएको काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पनि विराटनगर किङ्सका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर लोकेश बम आठ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर दिपक बोहराले भने २० रन बनाए । उनले २४ बलमा दुई चौका प्रहार गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका निकोलस किर्टन १० बलमा दुई चौकाको मद्दतले १२ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान स्कट एडवार्डस पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान एडवार्डसले १४ बलमा एक चौका हिर्काए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले १३ बलमा एक छक्काको मद्दतले १३ रन बनाए । इस्मत आलम पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् । क्रिस सोल एक रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए ।

Kathmandu vs Biratnagar_Nepal Photo Library4

सातौँ नम्बरमा क्रिज समाल्न आएका राजेश पुलामीले २५ रन बनाए । विराटनगर किङ्सका लागि कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो । उनले २१ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए ।

कप्तान सन्दीप लामिछाने त खातासम्म खोल्न सकेनन् । सुवाष भण्डारीले ६ रन बनाए । टोलीको स्कोरलाई एक सय रनभन्दा अगाडि बढाउन राजेश पुलामी र सुवाष भण्डारीको योगदान महत्त्वपूर्ण रह्यो । खेलको अन्त्यतिर यी दुई ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गरेका थिए ।

विराटनगर किङ्सले अतिरिक्त रुपमा पनि १२ रन पायो । काठमाडौँ गुर्खाजका बलर जेरहार्ड एरास्मसले तीन विकेट लिए । उनले चार ओभरमा १७ रन खर्चिए । दिपेश कँडेलले पनि दुई विकेट हात पारे । साहब आलम, कप्तान करण केसी र डन डथवेटले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप