बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘दुई छिमेकी लडिरहुन् भन्ने मित्र हौँ हामी’

अहिलेका कार्यकारी प्रमुखलाई सबै काण्ड टुङ्गियो भन्ने लागेको हो ? ः हृदयश त्रिपाठी
आइतबार, ३० मङ्सिर २०८१

हृदयश त्रिपाठी जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हुन् । कम्युनिस्ट विचार बोकेर राजनीतिक यात्रा सुरु गरेका त्रिपाठी नेपाल सद्भावना पार्टी, तमलोपा हुँदै गएको निर्वाचनमा एमालेको सूर्य चिन्ह सापटी लिएर निर्वाचन लडे तर कांग्रेसका विनोद चौधरीसँग पराजित भए । 

त्रिपाठी यस्ता नेता हुन्, जसले राजनीतिले कुन मोड लिँदै छ भन्ने पूर्वानुमान र विश्लेषण गरेर आफूलाई त्यसअनुरूप बदल्न सक्छन् भनिन्छ । उनै त्रिपाठीसँग समसामयिक विषयमा रातोपाटीले लामो कुराकानी गरेको छ । प्रस्तुत छ, त्रिपाठीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • राजनीतिमा सत्ता शक्ति नभए व्यक्ति हराउँछ भनिन्छ । तपाईँ पनि हराउनुभयो ।

गएको निर्वाचनमा पराजित भएँ । एउटा गैरराजनीतिक व्यक्ति अर्थात् व्यवसायीबाट पराजित भएँ । पहिले जति चर्चामा छुइनँ ।

hridayesh tripathi 5

  • राजनीतिले कुन मोड लिँदै छ भन्ने पूर्वानुमान र विश्लेषण गरेर आफूलाई त्यस अनुरूप बदल्न सक्ने नेता मानिन्छ तपाईँलाई । यस पटक बदल्न सक्नुभयो कि झुक्किनुभयो ? 

कहिलेकाहीँ बाधा आउँछ, त्यहाँ हन्डर खाइन्छ । त्यस्तो भएको भए जेल, नेल, निर्वासनमा जानुपर्थ्यो र ? आधारभूत रूपमा लोकतन्त्र, समावेशी र प्रगतिशील अर्थतन्त्रजस्ता मुद्दा छाड्न सकिँदैन । 

  • यदि त्यस्तो होइन भने वामपन्थी रुझान बोकेर राजनीति थालेको व्यक्ति सद्भावना, तमालोपा, एमालेको सूर्य चिन्ह हुँदै अहिले जनता प्रगतिशील पार्टीसम्म किन त ?

मूलभूत रूपले मधेसका सवाललाई हेर्ने दृष्टिकोणमा अरू नेता वा पार्टीभन्दा म फरक ढङ्गले हेर्ने गर्छु । त्यहाँनेर अफ्ठेरो परेको हो । निर्वाचन लड्ने बेलामा मेरो कुनै पार्टी थिएन । त्यसैले सूर्य चिन्ह सापटी लिएको हो ।

  • पार्टी अदल बदल बढी किन ?

इमान्दार रूपले भन्छु–मनले खाएको कोही यस्तो नेता मैले पाइनँ जसले मेरो नेतृत्व गरोस् भनेर, न त नैतिक रूपले नत चारित्रिक रूपले नत वैचारिक रूपले नै ।

  • प्रधानमन्त्री केपी ओलीले छिमेकी देशसँग कस्तो सम्बन्ध बनाउँदै हुनुहुन्छ ?

राणाकालदेखि अहिलेसम्म हाम्रा शासकहरूको मनोविज्ञान के हो भने हामी दुवै छिमेकीका मित्र हौँ । तर हामी यस्तो मित्र हौँ जो दुवै छिमेकी लडिरहुन् भन्ने चाहन्छौँ ।

hridayesh tripathi 3

  • हाम्रो प्रधानमन्त्रीलाई भारतले निमन्त्रणा नगरेको हो ? केही सूचना छ तपाईँसँग ?

मेरो सूचना अनुसार त्यस्तो होइन । विभिन्न प्रान्तमा चुनाव भइरहेकोले चुनावपछि निमन्त्रणा गर्ने भारतको तयारी थियो ।

  • प्रधानमन्त्रीले किन हतार गर्नुभयो त ।

अरूलाई देखाइदिन्छु भन्ने दम्भले काम गरेको हुनसक्छ । चिनियाँ मोडलको विकासलाई अनुमोदन गरेको पनि बुझिन्छ । चिनियाँ राजनीतिक स्ट्रक्चरलाई पनि आत्मसाथ गरेको देखिन्छ । भाषालगायतका विषयलाई पनि अलि फराकिलो बनाएको देखिन्छ ।

hridayesh tripathi 4

  • दुई ठुला दल मिलेर बनेको सरकारले आश जगाउन किन सकेन ?

भ्रष्टाचारसँग इन्क्लीनेसन भएका मान्छेहरू आफै भ्रष्टाचार रोकाउन थाले भन्ने आम बुझाई छ । अर्को नेपालको अर्थतन्त्र र राजनीति बिचौलियाको हातमा पुगिसकेको छ । नेताहरू सबै बिचौलियाबाट प्रभावित छन् ।

  • सरकारमै त्यस्ता मान्छे रहे ?

त्यस्तै देखियो । गिरिबन्धु हुन नसकेको भ्रष्टाचार हो । अदालतले नै बोल्दियो । 

  • सरकारले कामै गर्न सकेन भन्न मिल्छ र ?

सरकार बन्दा हामीमा पनि भरोसा जागेको थियो । वैधतामा प्रश्न प्रचुर छ, तर प्राधिकार पनि कमजोर भएको सरकार भयो । ठुलो सरकारले त ठुला काम पो गर्ने हो त । हुँदा हुँदा कस्तो गाईजात्रा देखियो भने सरकार बालेन, कुलमान र रविसँग जुहारी खेलिरहेको छ ।

hridayesh tripathi

  • सहकारीमा व्यापक अनियमितता भएको देखिन्छ यसको समाधानको कुनै उपाय सुझाउनुहुन्छ ?

दलका नेताहरू नै सहकारी ठगीमा संलग्न छन् । संसदीय छानबिन समितिको अर्थ छैन ।  उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्छ ।

  • भ्रष्टाचार प्रकरणमा प्रहरीले रवि लामिछानेको छानबिन गरिरहेको छ । यसलाई धेरै थरीले धेरै कुरा गरिरहेका छन् । तपाईँ चाहिँ के भन्नुहुन्छ ?

रविजीप्रति बढी नै प्रतिशोधात्मक भइरहेको छ कि भन्ने भाष्य निर्माण भइरहेको छ । अनुसन्धानको काम पनि गाइडेड भयो कि भन्ने छ । आफ्नै हात सफा छैन अनि अरूलाई के को हात उठाइरहने ।

  • भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस–एमालेको सरकार बनेको भन्ने आरोप थियो । यसको मतलब आरोप सही थियो ? 

कतिपय रोकियो त । कहाँ छ भुटानी शरणार्थी प्रकरण ? बालमन्दिर जग्गा घोटाला प्रकरण कहाँ पुग्यो ? बाँसबारी छालाजुत्तााको के टुङ्गो लाग्यो ? यस्ता यावत काण्डको छानबिन सुरु त भएका थिए । के अहिलेका कार्यकारी प्रमुखलाई सबै टुङ्गियो भन्ने लागेको हो ? अनि सरकारमाथि शङ्का उपशङ्का उठ्दैन ?

hridayesh tripathi 2

  • तपाईँ लामो समय सांसद भएको व्यक्ति, अहिलेको  संसद्का गतिविधिलाई कसरी नियालिरहनुभएको छ ?

संसद् प्रभावहीन भएर गयो । संसदीय समितिहरू प्रभावहीन भएर गए । काम नलाग्ने भएर गए । व्यवस्थापिका कमजोर भएर गएको छ । लोकतन्त्रको आत्मा नै संसद् हो । अहिले लोकतन्त्रको आत्मा नै कमजोर हुँदै गएको छ ।

  • नेपालकै धनी व्यक्तिसँग निर्वाचनमा प्रतिस्पर्धा गर्न कतिको गाह्रो हुने रहेछ ?

गारो त भएकै हो नि । त्यो त नतिजाले नै बताइसक्यो त । विनोद चौधरी कुनै राजनीतिक व्यक्ति होइनन् । नेपालको राजनीतिक आन्दोलनमा विनोद चौधरी वा उनको परिवारको कुनै योगदान त छैन नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया