जाडो याममा जलनका घटना बढी, कसरी जोगिने ?
काठमाडौँ । चिसो बढेसँगै न्यानोका लागि आगो ताप्नेहरूको सङ्ख्या बढ्न थालेको छ । आगो ताप्दा, हिटर बल्दा, गिजरको प्रयोग गर्दा, कोइला बाल्दा पोलिने घटना अध्याधिक हुने गर्दछ । कीर्तिपुर अस्पतालको तथ्याङ्क अनुसार बर्सेनि ६ सय बढी पोलिएका उपचारमा आउने गरेको देखाउँछ । उपचारमा आउनेमध्ये अधिकांश आगो ताप्दा पोल्ने गरेको बताइन्छ ।
कीर्तिपुर अस्पतालका अनुसार नेपालमा ६ वर्ष (सन् २०१९ देखि २०२४ नोभेम्बरसम्म) मा जलनको घटनामा परेकामध्ये ८७ जनाको मृत्यु भएको छ । यो ६ वर्षको अवधिमा तीन हजार ८९८ जना जलनको घटनामा परेका छन् ।
सन् २०१९ मा कीर्तिपुर अस्पतालमा उपचारका लागि ६२३ जना (३३० महिला र २९३ पुरुष ) जलनका बिरामी भर्ना भएका थिए । सोमध्ये २३ जनाको मृत्यु भएको थियो । सन् २०२० मा यस अस्पतालमा ५१९ जना (२८७ महिला र २३२ पुरुष) जलनका बिरामी भर्ना भएका थिए । तीमध्ये २० को मृत्यु भएको अस्पतालले जनाएको छ ।
सन् २०२१ मा भर्ना भएका ६२३ जना (२९८ महिला र ३२५) पुरुष जलनका बिरामीमध्ये १६ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा भर्ना भएका ६६० जना (३२७ महिला र ३३३) पुरुष जलनका बिरामीमध्ये १४ जनाको मृत्यु भएको थियो ।
गत वर्ष (सन् २०२३ मा) यस अस्पतालमा भर्ना भएका ७९१ (३६७ महिला र ४२४ पुरुष) जलनका बिरामीमध्ये १६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै, यो वर्ष सन् २०२४ मा ६८२ जना जलनका बिरामी अस्पतालमा उपचार सेवा लिएका छन् । अब चिसो बढेसँगै बिरामीको सङ्ख्या बढ्ने अस्पताले बताएको छ । जाडो याममा तातो रहनका लागि आगो ताप्ने, कोइला बाल्ने, गिजर प्रयोग गर्ने, हिटर प्रयोग गर्नेको सङ्ख्या बढ्छ । यसले जलनको घटना बढ्ने गरेको अस्पतालकी कर्मचारी (तथ्याङ्क सङ्कलनकर्ता) पद्मा शोभा महर्जनले बताइन् । ‘नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी गरी चार महिनामा जलनको बिरामीको सङ्ख्या बढ्छ ।’ उनले भने, ‘जाडो याममा शरीर तातो बनाउन आगो ताप्ने, हिटर बल्ने, कोइला बाल्ने जस्ता गतिविधिले घटना बढ्छ ।’
जाडो याममा जलनका बिरामी आउने अधिकांश पछाडि पोलिएको हुने उनले रातोपाटीसँग बताइन् । ‘जाडो याममा आगो ताप्दा अगाडी देखिन्छ तर पछाडि देखिँदैन यसले गर्दा पछाडिको भाग पोलिएका बिरामी आउँछन् ।’ उनले भनिन्, ‘यसमध्ये पनि तराई भेगका महिला धेरै पोलिने गरेको तथ्याङ्कले देखाउँछ ।’
जोगिन के गर्ने ?
जाडो याममा आगो ताप्दा पोलिने घटनाबाट जोगिन अस्पतालले विभिन्न सुझाव दिएको छ । ती मध्ये आगोमा पोली तत्कालै आगोले पोलिहालेमा तुरुन्तै आतिएर दौडिनु हुँदैन, यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस् । यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिने सुझाव दिएको छ ।
जाडो याममा आगलागी, तातो पदार्थ, हिटर बाल्दा आदिबाट घटना हुने सम्भावना जहाँसुकै हुन्छ । जलनका घटनाबाट हुने मृत्युदरलाई कम गर्न पालिकास्तरमै जलनसम्बन्धी प्राथमिक उपचार केन्द्र हुनुपर्ने कीर्तिपुर अस्पतालका थेरापिस्ट डा. मोहन डङ्गोल बताउँछन् ।
व्यक्ति आफैले पनि पोलिहालेमा पोलेको घाउमा ३० मिनेट देखि एक घण्टा निरन्तर पानी खन्याउन सुझाउँछन् । प्रशस्त मात्रमा नुनपानी, चिनीपानी, जीवनजल खुवाउन सुझाउँछन् । सकेसम्म छिटो अस्पताल लैजानु पर्ने उनले उल्लेख गरे ।
- आगोको काम सकिएपछि तुरुन्तै निभाउने,
- न्यानो रहन लुगा लगाउने/ओढ्ने, आगो ताप्नै परे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदि नखन्याउने,
- फोहर र प्लास्टिक कागज आदि उचित तरिकाले विसर्जन गर्ने, यिनलाई पोल्दा प्रदूषण हुने मात्र हैन, पोलिन पनि सक्छ, सावधानी अपनाउने,
- आगो, तातो पानी र तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्ने,
- भुईँभन्दा अग्लो तहमा खाना पकाउने, खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिस्टर तथा टेरिकटनको कपडा नलगाउने,
- ग्याँस चूलो, पाइप र सिलिन्डरको नियमित चेकजाँच गर्ने, काम सकिएपछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शङ्का लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने । सोही लगात्तै सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठुलो विस्फोट हुनसक्ने हुँदा त्यसो नगर्ने ।
- हावा नखेल्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने र हिटर निभाएर मात्र सुत्ने गर्नुपर्छ ।
- आगोले पोलिहालेमा तुरुन्तै आत्तिएर दौडिनु हुँदैन, यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस् । यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ ।
- आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नु होस् । त्यसपछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुनुहोस् । पोलेको घाउमा ३० मिनेट देखि एक घण्टा निरन्तर पानी खन्याउनु पर्छ ।
- घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जाने, अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा जीवनजल सेवन गर्दै जानु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’