बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
कला

कला र धर्मको मिश्रण पौभामा सुन्दर सिंख्वालको लगाव

शनिबार, २९ मङ्सिर २०८१, २० : ००
शनिबार, २९ मङ्सिर २०८१

कलाकार सुन्दर सिंख्वालको ‘साधना’ नामक एकल चित्रकला प्रदर्शनी भर्खरै सम्पन्न भयो । गत कात्तिक ८ गतेदेखि यही मंसिर १० गतेसम्म काठमाडौँस्थित सिद्धार्थ कला ग्यालरीमा चलेको यो प्रदर्शनीमा उनका पौभाचित्रहरू प्रदर्शनमा राखिएका थिए ।

नितान्त नेपालमै उद्भव भएको, आफ्नै निजी शैली र प्रवृत्तिमा विकसित कला हो, पौभाचित्र । यसको आधारभूमि ग्रन्थचित्रलाई मान्ने गरिन्छ । सदियौँदेखि आम समुदायसँग दिनचर्या (संस्कृति)कै एक भागमा गाँसिदै गएको यो कला मानव मात्रको एक अभिन्न अंग पनि हो । यसमा विभिन्न कालमा शैलीगत केही परिवर्तन भने भएका छन् । 

समुदायसँग नजिकबाट गाँसिएर विकसित हुँदा पौभाकला आजको दिनसम्म जीवन्त बनेको छ । विशेष गरेर यो कला हिन्दु र बौद्ध धर्मका आराध्य देवीदेवताका अनेक गाथा, जनश्रुति, लोकोक्ति आदिमा आधारित हुने गर्छ । देवदेवीले अशान्तिलाई शान्त गर्न धारण गरेका आयुधहरूको असीमित शक्तिसहित निश्चित ढाँचामा संयोजन गरेर बनाइने पौभाचित्र धार्मिक चित्र नै हो । यस्ता चित्र इसाको ११औँ शताब्दीदेखि आजका दिनसम्म निरन्तर रूपमा बन्दै गरेको इतिहास हामीसँग छ ।

पौभा र साधनाको अन्योन्याश्रित सम्बन्ध देखिन्छ । बौद्ध साधनामालामा उल्लेख भए अनुसार सिद्धिका लागि साधकले संयमशील भएर शास्त्रोक्तका साथ सबै निर्देशनको पालना गर्न आवश्यक हुन्छ । साधनालाई सिद्धिसम्म पुग्न विधि–विधानको अनुशासनबद्ध कार्यान्वयन गर्न आवश्यक हुन्छ । पौभाचित्रको सिर्जना गर्नु भनेकै केही सिद्धि प्राप्तिका लागि साधनामा लिन हुनु हो । 

kalakar

  • सुन्दरको संघर्ष

परम्परागत पौभाचित्रमा स्थापित ५६ वर्षीय (जन्म १९६८) सुन्दर अहिले पनि कला सिर्जनाको साधनामा निर्लिप्त भएर लागेका देखिन्छन् । सुन्दर विशुद्ध रूपमा परम्परागत पौभा कलाकार हुन् । अन्य कलागत विधामा थोर–बहुत हात रहे पनि उनको खास सक्रियता पौभा चित्रकलामै रहेको देखिन्छ । पछिल्ला ३८ वर्षसम्म उनी यसैमा निरन्तर सक्रिय छन् । थुप्रै समूहगत कला प्रदर्शनीमा भाग लिएका उनको एकल कला प्रदर्शनी हुने संयोग जुरेको थिएन । 

पछिल्ला पाँच–सात वर्षयता बनेका चित्र जम्मा हुन पुगेका यसपालि प्रदर्शनीको संयोग जुरेको उनी बताउँछन् । एकल कला प्रदर्शनी किन यति ढिलो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘धेरै समय लगाएर बनायो, बिक्री भएर गइहाल्छ । आफूसँग कला नै हुँदैन । यसो भएर रहर हुँदाहुँदै पनि एकल कला प्रदर्शन गर्न सकिएन ।’

यो उनको मात्र बाध्यता होइन, सबैजसो परम्परागत पौभा कलाकारको यस्तायस्तै हालत देखिन्छ ।

नेवारी भाषामा पौभाचित्र भनिने यो चित्रलाई संस्कृतमा ‘पटचित्र’ अनि तिब्बतमा ‘थाङ्का’ भन्ने प्रचलन छ । तथापि कलागत विशेषताका रूपमा हेर्दा भने थाङ्का र पौभाचित्रमा धेरै नै फरकपनको महसुस गर्न सकिन्छ ।

सङ्घर्षशील कला यात्राको उपजका रूपमा आखिर उनले पहिलो एकल कला प्रदर्शनी गरिछाडे । त्यसो त उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा अनगिन्ती कलाका प्रदर्शनीमा भाग लिएका छन् । भित्र–बाहिर उनलाई मान र सम्मान पनि प्राप्त भएकै छ । 

झन्डै चार दशक ध्यानमा बसेजस्तै गरेर कला सिर्जनामा उनी लीन भए । ध्यानमै बसेर अति मिहिनेतका साथ, स–साना तुलिकाले एकाग्र भएर घन्टौँ कलाको निर्माण गरिरहे । कला संयोजनबाट कैयौँ पात्र, प्रतीक र विम्बलाई उनले अलग्ग रूपमा स्थापित गर्दै रहे । यसो हँुदा आफ्नो कलाको पहिचानलाई पृथक् रूपमा उनले विकास पनि गरेको देखिन्छ । 

IMG_20241130_192518

केटाकेटीदेखि नै चित्र बनाउन सुरु गरे पनि २०४३ को माघदेखि उनी गुरु ( उनीभन्दा अलिकता अग्रज कलाकार पूर्णप्रसाद ह्योजु)कहाँ सिक्न गएका थिए । त्यसपछि नै उनको कला यात्रा सुललित भएर अगाडि बढेको देखिन्छ । उनले १५ महिना मात्र गुरु कहाँ सिके । यतिखेर उनले पौभा चित्रकला अरुलाई सिकाउने पछि गर्छन् । 

स–साना रेखालाई जतनसँग सही ठाउँमै अंकन गर्नुपर्ने यस्ता पौभाचित्र बनाउनका लागि उनको अहिलेकै उमेर पनि पाको मान्नुपर्ने हुन्छ । मसिना, स–साना रेखा बनाउन आँखा तेजिलो हुनुपर्छ, आँखाले नभ्याउँदा लेन्स लगाएर पनि कलाकारले यस्ता चित्र बनाउने गर्छन् । यस्ता चित्र बनाउँदा आँखालाई बढी दबाब पर्ने हुँदा कतिपय पौभा कलाकारलाई आँखाको समस्या पनि देखिने गर्छ । उनले भने सहज ढंगले पौभाचित्र गरिरहेका छन् । यो उनको अलग्ग खुबी पनि हो । 

सुुन्दर सानैदेखि देवी–देवताको कथा सुन्न रहर गर्ने खालका थिए । मठ–मन्दिरभित्र रहेका देवी–देवताको मूर्तिहरूमा चाख मानेर हेरिरहने उनको बानी थियो । अलि ठुलो भएपछि जब उनले बजारमा पर्यटकलाई लक्षित गरी बेच्न राखेका पौभा र थाङ्का चित्र देखे, उनलाई पनि यस्तै चित्र बनाउने रहर जाग्न थाल्यो ।

भक्तिभाव, धैर्य अनि कुशल शिल्प आदि मिसार्ई बनाएका उनका चित्र गुणात्मक र अब्बल छन् । 

‘खोपा पौभा च्वोमी’ यस्तै पौभाचित्र बनाउने कलाकारहरूको समूह हो । उनी अहिले यसैका सचिव पनि हुन् । उनी अहिले ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभासद् पनि हुन् । पौभा कलाको संस्थागत विकास पनि उनको यथेष्ट योगदान छ । 

IMG_20241130_192338 (1)

  • पौभाको पूजा 

सय–दुई सय वर्ष अगाडिसम्म भक्तहरूले यस्ता चित्रलाई भगवान्को प्रतीकका रूपमा भक्तिभावका साथ पूजाआजा समेत गर्ने गर्थे । आज पनि ती पुराना यस्ता पौभाचित्र मठ–मन्दिरका भित्तामा धमिलो–मधुरोे रङमा देख्न सकिन्छ । संरक्षणको अभावमा यस्ता कतिपय चित्रको रूप मेटिइसकेको पाइन्छ । कतैकतै मात्र थोरै मात्रामा दृश्यावलोकन हुने पुराना पौभा चित्रलाई देवदेवीका रूपमा पूजा गर्ने प्रचलन आज पनि छ । 

यस्ता चित्रहरूलाई माध्यम बनाएर (चित्रहरू नै अगाडि राखेर) तान्त्रिक ध्यान पनि गर्ने गर्थे । यो परम्पराको थोरै अवशेष आज पनि छ । तथापि अधिकांश यस्ता चित्र अहिले सिर्जनशील कलाका रूपमा विकसित हुँदा यसले व्यावसायिक रुप लिएको छ । 

विदेशी पर्यटक यस्ता चित्रहरूको मुख्य क्रेताका रूपमा देखापर्दा पुराना–पुरानादेखि आज बनेका यस्ता बहुमूल्य चित्र बाहिर कतै विदेशीकै सङ्कलनमा पुगेका छन् । विदेशका कैयौँ कलाका सङ्ग्रहालयमा नेपाली मौलिक कला जतनसँग प्रदर्शनमा पनि राखिएका छन् । सबैभन्दा गौरवको कुरा यस्तो कला बन्नुका लागि आवश्यक मूल आन्तरिक तत्त्व र विशेषता भने आजसम्म यथावत् छन् । 

  • यसपल्टका चित्र 

यसपालि सुन्दरले पौभाचित्रका लागि हिन्दु धर्मतर्फ गणेश, सरस्वती, कुमार, लक्ष्मी, विष्णु, कृष्ण, भद्रकाली, गुह्येश्वरी, हरिहर लगायत देवीदेवतालाई लिएका छन् भने बौद्ध धर्मतर्फका लोकेश्वर, मञ्जुश्री, आर्यतारा, बसुन्धरा, वज्रधर, जम्भला (कुबेर) चक्रशम्भर शक्ति, २१ तारा आदि परेका छन् ।

यसअघि यसै विषयमा बनाइएका अधिकांश चित्र बिक्री भइसकेकाले यस प्रदर्शनीमा ल्याउन सम्भव भएन । 

उनका चित्रमा सबैजसो देवीदेवता मनमोहक मुुख मण्डलका साथ हँसिलो भावमा देखिन्छन् । सबैभन्दा अचम्म त खड्ग उचालिरहेका (संहार गर्ने सन्दर्भमा) मञ्जुश्री; यौन भावमा निर्लिप्त चक्रसंवर;, ढाल र खड्ग लिई टाउकाहरूको माला लगाई आगोको ज्वालामाथि एक खुट्टा उचाली दुष्टलाई संहार गर्न हिँडेजस्तो देखिने देवी गुह्येश्वरी पनि शान्त मुद्रामै देखिन्छन् । 

धेरैजसो देवीदेवताले धारण गर्ने खड्गको महिमा, अर्थ र उत्पत्तिका अनेक कथा पाइन्छन् । कथा अनुसार ब्रह्माले ब्रह्माण्डको सृष्टि गरेपछि सबै देव, दानव, नाग आदिलाई नियममा बस्न एक महायज्ञ गरे । सबै देवदेवी भगवान् ब्रह्माले बनाएको नियममा बसे तर दानव अटेर गरी आफैँ मनपरि गर्दै सबैलाई दुःख दिने र नाश गर्न लागे । यसबाट उत्पन्न अशान्तिलाई शान्त गर्न ब्रह्माले चिन्तन गर्दै आह्वान गर्दा यज्ञको आगोहरूलाई छरपस्ट पार्दै एउटा भूत निस्कियो । यसलाई ब्रह्माले असि नामक आयुध भनेर सबै देवताहरूलाई परिचय गराए । यही भूत असिपछि खड्गमा परिणत भयो भन्ने किंवदन्ती छ । जसमा कुनै पनि दानवलाई सहजै वध गर्ने क्षमता छ भन्ने ब्रह्माले सबैलाई बताएको कुरा पुराणमा उल्लेख गरिएको छ । 

आङ्गिक अनुपात, तालमान आदिका आधारमा हेर्दा सुन्दरका चित्रमा चित्रमा देवीदेवतालाई लयात्मक भावभङ्गीमा संयोजन गरिएको पाइन्छ । फूल, पात, लता आदिले सबैजसो देवीको चारैतिर ढकमक्क ढाकेको देखाउने उनको कलागत संरचना छ ।

सुन्दरका चित्रमा सबै देवी–देवताका अनुहार एकैजस्तो देखिन्छन् । सबै चित्रमा एकैजसो मुखाकृति समेछ देखापर्छन् । यस सम्बन्धमा उनको भनाइ छ, ‘धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार अंकन गर्नुपर्दा सबैजसो चित्र एउटै शैली, प्रवृत्ति अनि रूपमा पनि समान रूपमा देखापरेको हो । अलिकति कला र अलिकति धर्म यसमा मिसिएको हुन्छ । कला र धर्मको मिश्रण नै पौभा कला हो ।’

पौभाचित्र बनाउनका लागि प्रतिमा, तालमान (आइकोनोमेट्री), पूर्वीय दर्शन (आध्यात्मिक ज्ञान), शिल्पदक्षता, कल्पनाशीलता, धर्मग्रन्थको यथेष्ट ज्ञान आदिबारे जानकारी हुन जरुरी छ । यी सबैमा सुन्दरको ज्ञान र दक्षता रहेकाले पनि यस्ता लोभलाग्दा पौभाचित्र सिर्जना भएका छन् । नेवारी भाषामा पौभाचित्र भनिने यो चित्रलाई संस्कृतमा ‘पटचित्र’ अनि तिब्बतमा ‘थाङ्का’ भन्ने प्रचलन छ । तथापि कलागत विशेषताका रूपमा हेर्दा भने थाङ्का र पौभाचित्रमा धेरै नै फरकपनको महसुस गर्न सकिन्छ । 

यस कलामा धर्मका ज्ञानगुनलाई समेत दृश्यात्मक रूपमा उतारिने गरिन्छ । त्यसैले भक्तका लागि पूजा–अर्चना गर्न यी कला सहायक हुने गर्छ । लोक वा परम्परागत कलाकारले कलाको एस्थेटिक्स मूल्य–मान्यतामा भन्दा बढी धर्म अनुसार देवीदेवताका आङ्गिक अनुपात, आयुध र आसन, हरेक देवी–देवता अनुसारको रङ, मूल आराध्य देवी–देवता वरिपरि राखिने सहायक देवदेवीमा ध्यान दिएका हुन्छन् । 

आङ्गिक अनुपात, तालमान आदिका आधारमा हेर्दा सुन्दरका चित्रमा चित्रमा देवीदेवतालाई लयात्मक भावभङ्गीमा संयोजन गरिएको पाइन्छ । फूल, पात, लता आदिले सबैजसो देवीको चारैतिर ढकमक्क ढाकेको देखाउने उनको कलागत संरचना छ । यसो हँुदा स्वभावतः यस्ता चित्र लालित्यपूर्ण हुने गर्छन् । 

उनका चित्रमा देवीदेवता किसिम–किसिमका गरगहनाले सुसज्जित देखिन्छन् । विशेष गरेर मल्लकालमा देवीलाई गरगहनाले झपक्कै ढाक्ने प्रवृत्ति देखिएको थियो । आफ्ना चित्रमा अझ बढी गरगहना राख्नुको कारण भन्छन् सुन्दर, ‘आजका मान्छे (क्रेताहरू) देवीदेवताका चित्रमा आकर्षण वेशभूषा हेर्न चाहन्छन् । त्यसैले मैले आफ्नै ढंगले कैयौँ यस्ता वस्तुलाई चित्रमा समायोजन गरेको छु । सबै कुरा ग्रन्थले भने अनुसार पनि छैन ।’

पौभाचित्र आफैँ पनि समय–समयमा परिवर्तन हुँदै आएका छन् । तापनि यसले नेपालीपनको लक्षण भने बोकेकै देखिन्छ । त्यसैले हाम्रा परम्परागत चित्र विश्वभर नै एक अलग्ग विशेषताका साथ परिचित छन् । 

  • भगवान् विष्णु

२०८० सालमा बनाएको भगवान् विष्णुको चित्रको थोरै वर्णन गरौँ । सामान्यतया भगवान् विष्णुले आयुधका रूपमा शंख, चक्र, पद्म र गदा धारण गर्ने गर्छन् । धर्मग्रन्थमा आयुधहरूलाई पनि पुरुष आयुध, स्त्री आयुध र नपुंसक आयुध भनेर वर्णन गरेको पाइन्छ । 

IMG_20241130_192436

हँसिलो मुद्रामा देखिएका विष्णुको चित्रमा आयुध त छँदै छन् । यसबाहेक गरुडले बोकेको कमलको फूलमाथि आसन जमाएका चार हात भएका विष्णुको आकर्षक रूप देखिन्छ । चार हात भएका भगवान् विष्णु गरुड दुवैतिर नागहरूले भक्तिभाव देखाइरहेका दृश्य अवलोकन गर्न सकिन्छ । फूल र पातले चारैतिर घेरिएको माथि छेपुले नागलाई चपाइरहेको परिदृश्यमा देखिन्छ । तोरणको शिरो भागमा रहने छेपु कुरूप जलजन्तुका रूपमा चिनिन्छ । जिज्ञासाका प्रतीकका रूपमा पनि यसलाई हेर्ने गरिन्छ । 

उहिले मञ्जुश्रीले जलले भरिएको काठमाडौँ उपत्यकालाई खड्गले प्रहार गरी जल जति सबै बाहिर निकाल्दा नाग लगायत अनेकौँ जीवजन्तुलाई पनि बगाएर लगेको किंवदन्ती छ, तर एक अजीव प्रकारको अलि कुरूप देखिने एक जन्तु भने निक्लन मानेन । मञ्जुश्रीले उसलाई नहेर्ने सर्तमा बाहिर आउन भने । ऊ आधा मात्र के निक्लेको थियो, जिज्ञासावश मञ्जुश्रीले खुसुक्क हेरिछाडे । तत्पश्चात् छेपु पुनः जलमा समाहित भएको कथा छ । पछि मञ्जुश्रीले उनलाई देवस्थलको तोरणमा शिरोभागमा सम्मान दिएर राखेको कथा पाइन्छ । 

विष्णुको चित्रको पछाडिको भागमा पहाड अनि हिम–शृङ्खला छ, (यसरी चित्रको पछाडि दृश्यलाई समावेश गर्ने प्रचलन इस्वीको १८औँ शताब्दीदेखि सुरु भएको हो) । 

चित्रको अघिल्तिर प्रतीकात्मक रूपमा नदी बगेको देखाइएको छ । आफ्नै निजी शैलीमा बनेका यही चित्रमा पनि धार्मिक चित्रमा हुनुपर्ने आन्तरिक विशेषता भने यथेष्ट रूपमा समावेश भएको देखिन्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप