बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
बैंक

यस्तो छ चार महिनामा बैंकहरूको नाफाको अवस्था

शनिबार, २९ मङ्सिर २०८१, १९ : ००
शनिबार, २९ मङ्सिर २०८१

काठमाडौँ । चार महिनामा वाणिज्य बैंकहरूको नाफा २२ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल २२ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अवधिमा १९ वटा बैंकले नाफामा हुँदा एउटा बैंक नोक्सानमा देखिएको छ ।

  • कुन बैंकको नाफा कति ? 

कात्तिक मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने नबिल बैंकले २ अर्ब ६९ करोड रुपैयाँ कमाएको छ । ग्लोबल आईएमई बैंकले २ अर्ब ११ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड, कुमारी बैंकले १ अर्ब ५९ करोड, एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ कमाएका छन् । 

त्यस्तै, एनएमबि बैंकले १ अर्ब ४८ करोड, प्रभु बैंकले १ अर्ब २३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड, लक्ष्मी बैंकले १ अर्ब ६ करोड र नेपाल एसबीआई बैंकले १ अर्ब रुपैयाँ कमाएका छन् । 

नेपाल बैंक ९३ करोड ८८ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख, माछापुच्छ्रे बैंक ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सानिमा बैंकको ६५ करोड १३ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख, सिटिजन्स बैंकले ४३ करोड ८६ लाख, एनआईसी एशिया बैंक ३८ करोड ८१ लाख नाफा कमाएका छन् ।

बैंकहरूले कात्तिक महिनासम्म कमाएको यो नाफा अघिल्लो वर्षको तुलनामा ७.५६ प्रतिशत बढी हो । अघिल्लो वर्षको कात्तिक महिनासम्म बैंकहरूले २० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

वार्षिक विन्दुगत आधारमा नाफा वृद्धि गर्नेमा बैंकहरूमा लक्ष्मी बैंक र सिद्धार्थ बैंक अगाडि देखिएका छन् । ती दुई बैंकको नाफा गत वर्षभन्दा दोब्बर माथि पुगेको छ । त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक लगायत समेत नाफा बढाउन अगाडि देखिएका छन् । नाफा घट्नेमा एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, सानिमा बैंक र  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन् ।

1

  • यस्तो छ पछिल्लो एक महिनाको नाफा

चालु आर्थिक वर्षको चार महिनामध्ये साउन महिनामा वाणिज्य बैंकहरूको नाफा ९ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यो महिनामा सबै बैंकहरू नाफाको अवस्थामा थिए । भदौ महिनामा ८ अर्ब ५१ करोड नाफा कमाउँदा बैंकहरूको कुल नाफा भदौ मसान्तसम्म १७ अर्ब ६९ करोड रुपैयाँ पुगेको थियो । 

असोज महिनामा भने बैंकहरूको समग्रमा नोक्सानमा थिए । यो महिना बैंकहरूको १ अर्ब ५० करोड नोक्सानमा थिए । असोज मसान्तमा बैंकहरूले निक्षेपको ब्याज तिर्नुपर्ने भएकोले वास्तविक आयका आधारमा बैंकहरू नोक्सानीमा देखिएका हुन् । यो महिनामा ११ वटा बैंकहरू नोक्सानमा हुँदा बाँकी नौ वटा बैंक मात्रै नाफामा थिए । यो नोक्सानीसँगै तीन महिनाको नाफा १६ अर्ब १८ करोड रुपैयाँमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

कात्तिकमा भने बैंकले नाफा ६ अर्ब १० करोड रुपैयाँ नाफा गरेका छन् । योसँगै कुल नाफा २२ अर्ब २९ करोड पुगेको हो । 

पछिल्लो महिना (कात्तिक) मा नबिल बैंकले सबैभन्दा धेरै ६३ करोड ४४ लाख रुपैयाँ नाफा कमाउँदा कृषि विकास बैंक ४१ करोड रुपैयाँले नोक्सानमा छ । बाँकी बैंकमध्ये सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकले १८ करोड ६४ लाख रुपैयाँ कमाएको तथ्याङ्क छ । असोजसम्म नाफामा रहेको कृषि विकास बैंक एकै महिना ४१ करोड रुपैयाँ नोक्सानीमा जाँदा चार महिनासम्मको नाफा नै नकारात्मक बन्न पुगेको हो । 

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप