आइटिएफ जे ३० वर्ल्ड टेनिस टुर पोखरा : भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन
पोखरा । आइटिएफ जे ३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुवै विजेताले नेपाली खेलाडीद्वय आरब सम्राट हाडा र शिवाली गुरुङलाई पराजित गरेका हुन् ।
पोखरा रङ्गशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गर्ल्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौँ संस्करणको आइटिएफ जे ३० मा नेपाली खेलाडीहरूले उत्साहपूर्ण रूपमा खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे पनि उपविजेतामा सीमित बने । नेपाली टेनिसमा उर्वरा खेलाडीको रूपमा रहेका आरब भारतीय खेलाडी आश्रब्य मेहरासँग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझाए ।
आरब एक साता अघि सम्पन्न सर्किट १ मा भारतकै खेलाडीसँग फाइनलमा पराजित भएका थिए । उनले दुवै खेलमा उपविजेता बन्दै व्यक्तिगत ३६ अङ्क बटुले । यस्तै गर्ल्सतर्फको फाइनलमा भर्खर १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेक्दै गरी शिवाली गुरुङले अनुभवी १७ वर्षीया मंगोलियाकी मार्टा चोग्सोमजाभ विरुद्ध फाइनलमा चुनौती बनेर उभिइन् । उनको दृढताले भरिएका आकर्षक सटहरूले दर्शकहरूलाई समेत अचम्मित बनायो । शिवाली ६–३, ६–२ को सोझो सेटमा मार्टासँग पराजित भइन् ।
आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट-२ का विजेता तथा उपविजेता खेलाडीहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापा, सल्लाहकार गोपीबहादुर भट्टराई, सदस्य प्रीति बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले मेडल वितरण गरेका थिए ।
पोखरामा सर्किट १ र सर्किट २ गरी करिब दुई साता सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी १० देशका १ सय ५ भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरू प्रति अध्यक्ष गुरुङले आभार व्यक्त गरेका छन् ।
योसँगै कास्की जिल्ला टेनिस संघको आयोजनामा नेपाली टेनिसमा स्थापित प्रतियोगिता मध्येको एक २० औं संस्करणको माछापुच्छ्रे टेनिस प्रतियोगिता आगामी पौष ११ गतेबाट सञ्चालन हुने कास्की टेनिसले जनाएको छ ।