प्रकाशचन्द्र खतिवडाका तीन कविता
१) गन्धर्व दाइ
सारङ्गी रेटेर
दुःखित धुनहरूमा
गन्धर्व दाइ रोइरहेछन्
सारङ्गी रुवाउँदै
भोकका गीतहरूमा
दुःखका उकालीहरूलाई
दुःखकै ओरालीहरूलाई
जीवन यात्राको मूल बाटो बनाएर ।
अविराम पैताला घिसार्दै
आस्थाको सहारा खोज्न
या चेतनाका फूलहरू रोप्न
हाम्रै आँगन चहार्दै
हाम्रै मनहरू खोतल्दै
दारुण गीत गाइरहेछन्
सारङ्गी बजाउँदै
तीन बीस हिउँद फटाइसकेका
घरबार विहीन
मेरा प्रिय गन्धर्व दाइ ।
२) भोलि आउने रात
स्वीकृत/अस्वीकृत
मौन टाउकाहरू
भोलि आउने रात
निश्चय नै
कोलाहलसहित काटिनेछन्
र समय नाङ्गिनेछ
त्रासका निर्लज्ज मौन शिविरहरूमा ।
आकाश त धर्ती माथि छ
दृश्यहरू हेरेर
टोलाइदिनेछ एकोहोरो
तनाव बुझेरै पनि मान्छेहरू
अबुझता ओकलिरहेछन्
घातका तिखा सुइराहरूले
दूरी नापेर
मान्छेका मर्महरू ताक्न ।
हिजो हस्तक्षेप थियो
आज पनि छ
भोलि पनि हुनेछ
यसरी मान्छेहरू
काँचो युद्धमा होमिएका छन् ।
धैर्यताको बाँध फुटेर
मान्छेका मनहरू
छिन्न–भिन्न भएका छन्
मनका गतिरोधहरू
कहाँ पुगेर थन्कने हुन् ?
क्रान्ति वा प्रतिक्रान्ति ?
धर्तीका गीत चोरिनेछन्
फुङ्ग उदास धर्ती
समयको माखे साङ्लोभित्र
नजरबन्द हुनेछ
भोलि आउने रात ।
००
३) एउटा समय
एउटा समय
विश्वासका हातहरू हल्लाउनुपर्ने
आफ्नै सिरानेमुनि
समय
गुजुल्ट्याउँदा/गुजुल्ट्याउँदा
ओछ्यानभरि
ढुसी उठेर
समय दुर्गन्ध फ्याँकिरहेछ
कोठाभरि बाफिएर
ढोका घचघच्याउँदै ।
उहिल्यै
समय गोजीभित्र पसेको थियो
म डराएर भागेको थिएँ
सूर्य हरेक बिहान झुल्कन्छ
बेलुकैपिच्छे अस्ताउँछ
म
मध्याह्नमा समय खोज्न बाहिरिन्छु
समय फुत्किसकेको हुन्छ ।
चाउरिएका अनुहारहरू फक्रन नपाउँदै
दिनहरू चिप्लिएर
गरुङ्गो पदचापसहित
हराएका विश्वासहरू
मौन जुलुसका साथ
म
डरलाग्दा रातहरूमा
आफ्नै सिरानेमुनि
आफैँले गुमाएको समय
निरन्तर खोजिरहेछु ।
(सुन्दरहरैैँचा–६ दुलारी, मोरङ)