बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
पुस्तक चर्चा

नारी चेतनाको आलोकमा अम्बिकाको ‘भावदीप’ मुक्तकसङ्ग्रह

शनिबार, २९ मङ्सिर २०८१, १८ : ००
शनिबार, २९ मङ्सिर २०८१

डा. अम्बिका अर्याल आधुनिक साहित्य र समालोचना क्षेत्रमा समसामयिक धारामा देखिएकी स्रष्टा तथा समालोचक हुन् । उनका ‘नारीवादी सिद्धान्त र औपन्यासिक विश्लेषण’ (२०६९), ‘उत्तरआधुनिक साहित्य : सिद्धान्त र विश्लेषण’ (सहलेखन, (२०६९), ‘विश्व नारी सम्मेलनका कृति’ (२०७२), ‘अनेक विधा अनेक दृष्टि’ (२०७५), ‘नारीवाद र नारी स्रष्टाका उपन्यास’ (२०७९), नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्यास (२०८१) जस्ता समालोचनात्मक कृतिहरू, विभिन्न तहका पाठ्यपुस्तक र सन्दर्भ पुस्तकहरू तथा विभिन्न पत्रपत्रिकामा विविध समालोचनात्मक लेखहरू प्रकाशित भएका छन् । उनका ‘अविश्रान्त’ (२०७५) उपन्यास र ‘भावदीप’ (२०७१) मुक्तक सङ्ग्रह गरी दुईवटा साहित्यिक कृतिहरू समेत प्रकाशित छन् । 

अर्यालद्वारा लिखित ‘भावदीप’ मुक्तकसङ्ग्रहमा विभिन्न भावका २८५ वटा मुक्तक सङ्ग्रहित छन् । यस सङ्ग्रहमा रहेका मुक्तकले मानव जीवनका अनेकौँ यथार्थ अनुभव र अनुभूति प्रस्तुत गरेका छन् । प्रेमका विविध पक्षहरू, मानवीय स्वभाव र प्रवृत्ति, कर्मशीलता र मानवीय दुष्प्रवृत्तिजस्ता पक्ष समेटिएको यस सङ्ग्रहमा मानवीय दुष्चरित्र र स्वार्थीपन तथा मपाइँत्वप्रति व्यङ्ग्य गर्नुका साथै त्यस्ता दुष्प्रवृत्तिहरू सुधार्नुपर्ने सन्देश दिइएको छ । यस्तै, राष्ट्र प्रेम, प्रकृति प्रेम र संस्कृति प्रेमजस्ता भाव व्यक्त गरिएको छ । 

यस सङ्ग्रहभित्रका मुक्तकमा जीवनको दार्शनिक महत्त्व प्रस्तुत गर्दै जीवनप्रतिको आशावादी दृष्टिकोण राखिएको छ । नारीवादी समालोचक तथा उपन्यासकारका रूपमा सुपरिचत अर्यालको भावदीप मुक्तकसङ्ग्रहमा नारीचेतनाका स्वर सशक्त रूपमा अभिव्यञ्जित भएका छन् । 

प्रस्तुत सङ्ग्रहमा सङ्ग्रहित मुक्तकमा सचेत वा अचेत रूपमा नारी चेतनाका स्वरहरू अभिव्यक्त भएका छन् । नारी चेतना भन्नाले नारीमाथि हुने सबै किसिमका विभेद तथा शोषण र दमनको विरोध गरी नारी अस्तित्व, समानता र स्वतन्त्रताका बारेमा सचेतना जागृत गर्नु भन्ने बुझिन्छ । 

मृगनयनी र मीनाक्षी विशेषण जोडेर तिनको शारीरिक बयान गरिन्छ तर तिनलाई वस्तुकरण गरी व्यापार व्यवसायका लागि विज्ञापनको साधन बनाइन्छ । यस सङ्ग्रहमा नारीलाई वासनापूर्तिको साधन ठानी तिनको शरीरमाथि राजनीतीकरण गर्ने प्रवृत्तिको विरोध गरिएको छ ।

नेपाली समाज पितृसत्तात्मक भएकाले सामाजिक संरचनाका केन्द्रमा पुरुष रहेका छन् । त्यसैले नारीहरू अधीनस्थ भई विभेदमा परेका छन् । यसका कारण अनेक हुन सक्ने भए पनि लेखकका विचारमा पुरुषहरूले नारी जीवनका भोगाइहरू बुझ्न नसकेका कारण यस्तो भएको हो भन्ने उनको विचार रहेको छ । 

मूलतः पुरुषहरूले नारीका भावना र पीडाहरूलाई सहजै अनुभूत गर्न सक्दैनन् । नारीहरूले निभाउँदै आएका केही जिम्मेवारी कहिलेकाहीँ आइलाग्दा पनि प्रायः पुरुष पन्छिने गरेको पाइन्छ । यही कारणले पुरुषहरूमा नारीका त्याग र समर्पणको महत्त्वबोध हुँदैन र नारीहरू विभेदमा पारिएका हुन सक्ने विचार यस कृतिमार्फत व्यक्त भएका छन् । अतः एक पल भए पनि पुरुषले नारी भएर बाँच्ने परिस्थिति निर्माण गरिदिन कृतिकारले ईश्वरलाई पुकार समेत गरेकी छन् । त्यस्तो अवस्थाको सिर्जना भएमा नारीमाथि हुने गरेका विभेदका रेखाहरू क्रमशः मेटिने थियो भन्ने लेखकीय विचारलाई नारी चेतनाका रूपमा लिन सकिन्छ : 

हे प्रभु बिन्ती पुरुषमा भाव सुझ्ने बनाइदेऊ 

मनका व्यथा नभनी तिनले बुझ्ने बनाइदेऊ 

एक पल त जिउन देऊ तिनलाई नारी बनेर 

बर्संदा धर्तीमा दुःखका धारा रुझ्ने बनाइदेऊ ।

जीवनमा नारीले कहिलेकाहीँ नारी र पुरुष दुवैको भूमिका निर्वाह गर्ने परिस्थिति आउन सक्छ, त्यसबेला उसले सहजै उक्त भूमिका निर्वाह गर्छे तर पुरुषलाई नारीको समेत भूमिका निर्वाह गर्ने परिवेश बन्दा उसले अन्य विकल्प खोजेर त्यसबाट भागेको देखिन्छ । ऊ त्यस्तो परिस्थितिलाई अनुभूत गर्नै चाहँदैन । नारीका त्याग, समर्पण र योगदान बुझ्न नसकेका कारण उसले नारीलाई समान अधिकार दिन नचाहेको हुनुपर्छ भन्ने विचार गरी लेखकले उसलाई एकै पल भए पनि नारी भएर बाँचेर उसका अनुभूतिहरू अनुभव गर्ने अवसर दिन ईश्वरसँग प्रार्थना गरेकी हुन् । यसरी नारी विभेदका रेखालाई न्यूनीकरण गर्न खोजेको कुरा मुक्तकमा नारी चेतनाका रूपमा अभिव्यक्त भएको देखिन्छ । 

नीति–निर्माणका तहमा सधैँ पुरुषहरू रहने हुँदा हाम्रो समाजको कानुन पुरुषमुखी बनेको छ । मुक्तकमा यस प्रकारको विभेदकारी र एकपक्षीय रूपमा कानुन निर्माण गरिने परिपाटीको विरोध गर्दै अबको कानुन समतामूलक बन्नपर्ने कुरामा जोड दिइएको छ :

फेरिनुपर्छ अब सोच, फुकाइनुपर्छ नारीका लगाम

विभेद रचिए जहाँ जेजेमा बदल्नुपर्छ रीति तमाम 

रेटी पितृसत्ताको खुकुरीले चोट अनेक दिन छाडी

बने नीति नारीहितमा तब हृदय यो गर्छ सलाम ।

माथिको मुक्तकले पितृसत्तात्मक समाजका कारण समग्र कानुन पनि पुरुषमुखी हुने हुँदा नारीहरू बन्धनमा परेको स्पष्ट बोलको छ । अतः अब बन्ने कानुन फेरिनुपर्ने र नारीमाथि लगाइएका बन्धनका सिक्रीहरू फुकाइनुपर्ने कुरामा जोड दिइएको छ । पितृसत्ताका कारण नारीहरूले जे जति पीडा र चोट भोग्नुपरेको छ, नारीलाई त्यस्ता पीडा र चोट दिन छाडी समतामुखी कानुनको निर्माण भएमा तमाम नारीले खुलेर त्यस्तो कानुनको स्वागत गर्ने विचार मुक्तकमा व्यक्त गरिएको छ । 

नेपाली समाजमा नारीहरू दाइजो, अपहरण, सामूहिक र एकल बलात्कार आदिका नाममा जिउँदै मरेतुल्य जीवन जिउन बाध्य छन् । यस्तो अवस्थामा उनीहरूले कसैसँग भरोसा गरेर निर्धक्क बाँच्न सक्ने परिस्थिति अझै पनि समाजमा निर्माण हुन सकेको छैन । त्यसैले उनीहरू सधैँ त्रासमा बाँच्नुपरेको छ । दुधको तरमाथि पुगेको कमिलो बरु बाँचेर उम्कला तर समाजका यस्ता विकृतिबाट नारीहरूलाई बच्न निकै कठिन छ भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने भाव मुक्तकमा व्यक्त गरिएको छ :

मान्छेसँग मान्छे भयो बाँच्नुपर्ने डरमा

आमा लौन पर्नु कसरी कस्को भरमा

पलपल बाँचेर नि मर्नुपर्ने नारीले नै

जिउँदै होला कि त कमिला तरमा । 

जातीय विभेद गरी सधैँ लुछाचुँडी गर्ने नेपाली समाजका राजनीतिज्ञ, विद्वान् तथा शास्त्रकारहरू मातृशक्तिको महत्त्व गाएर कहिल्यै थाक्दैनन् तर सम्पत्ति र वंश हस्तान्तरण तथा नागरिकता वितरणजस्ता अधिकार प्रदान गर्ने कार्यमा भने नारीलाई सधैँ पछाडि पार्छन् । यसको प्रमुख कारण सामाजिक संरचना पितृसत्तात्मक हुनु हो । यस सङ्ग्रहका मुक्तकमा यस्तो पितृसत्तात्मक सोचको विरोध गरिएको छ :

आखिर जातभित्र के छ खै सधैँ लुछाचुँडी गर्नुपर्ने 

बाबा, बाजे, पतिका वंश गोत्र कहिलेसम्म सर्नुपर्ने 

आहा ! कति सुनिन्छ आमाका महिमा हरेक मुखबाट 

पहिचान सन्तानमा सार्न अझै कति आमाले मर्नुपर्ने ?

जातीय विभेदका नाममा भाइभाइ लडिरहने यस देशका नागरिकहरूलाई यस किसिमको जातीय लडाइँ बन्द गरी आपसमा मेलमिलाप गरी अगाडि बढ्न सुझाव दिइएको छ । त्यसैगरी आमाको महिमा गाएर नथाक्ने नेपाली समाजमा वंश परम्परा बाजे, बाबु र पतिजस्ता पुरुषका नामबाट हस्तान्तरित हुने परम्पराको विरोध गरी आमाका नामबाट पनि उक्त कुरा सहजै हस्तान्तरण हुने परिस्थिति बनोस् भन्ने कामना गरिएको छ । सन्तान बाबुआमा दुवैका भएका कारण वंश हस्तान्तरण तथा नागरिकता बनाउन आमाका नामबाट पनि सहजै हुनुपर्ने चाहना यस सङ्ग्रहले गरेको छ । 

नारीहरूलाई विज्ञापनको वस्तु बनाइने, होटल र रेस्टुराँमा अग्रपङ्क्तिमा राख्ने तथा होडिङबोर्ड, खाद्य र पेय पदार्थका बोतल र क्यानमा नारीका अर्धनग्न शरीरका तस्बिर राखी व्यापार प्रवर्धन गर्न नारी शरीरमाथि राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा पनि जोड दिइएको छ :

धर्तीको उपमा ओढेर सहनशीला ठहर्नुछैन 

चन्द्रका दीपमा भुली भ्रममा झनै पर्नुछैन 

मृगनयनी मीनाक्षी, कोकाकोला फिगरभित्र 

ज्ञानज्योति लुकाएर बासना रति छर्नु छैन । 

नारीहरूलाई अनेक उपमा जोडेर महान् देखाएको भ्रम छरिन्छ र उनीहरूमाथि शोषण गरिन्छ । तिनलाई धर्ती, चन्द्रमाका उपमाले सिगारिन्छ । मृगनयनी र मीनाक्षी विशेषण जोडेर तिनको शारीरिक बयान गरिन्छ तर तिनलाई वस्तुकरण गरी व्यापार व्यवसायका लागि विज्ञापनको साधन बनाइन्छ । यसले नारी शरीरको राजनीतीकरण हुन्छ । तिनलाई वासनापूर्तिको साधनका रूपमा हेरिन्छ । तिनीहरूभित्र भएको ज्ञान राशिको महत्त्वबोध गरिँदैन । समाजमा त्यसलाई उजागर गर्ने अवसर प्रदान गरिँदैन । अतः यस सङ्ग्रहमा नारीलाई वासनापूर्तिको साधन ठानी तिनको शरीरमाथि राजनीतीकरण गर्ने प्रवृत्तिको विरोध गरिएको छ । 

नारी चेतना भन्नाले नारीमाथि हुने सबै किसिमका विभेद तथा शोषण र दमनको विरोध गरी नारी अस्तित्व, समानता र स्वतन्त्रताका बारेमा सचेतना जागृत गर्नु भन्ने बुझिन्छ ।

राष्ट्र निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने नारीहरूलाई विभेद गरी नीति निर्माण गरिएका खण्डमा नारीहरू प्रतिरोधमा उत्रने भाव व्यक्त गर्दै समतामुखी कानुनको समर्थन गर्ने नारीहरू अब अबला नरहेर सर्वाङ्गीण क्षेत्रमा सशक्त भएको भाव नारी चेतनाका रूपमा यस सङ्गहमा अभिव्यक्त भएको छ :

बन्नु छ दिव्य चुनौती चिर्दै जाग अब नारी

कलम र आवाजले कुरीतिमा गर्दै खबरदारी 

देख्यो शासन मियोमा सदा पुरुष बस्ने दाइँ

देश डुब्नु हन्न एकजुट हुँदै आऊ गरौँ रखबारी । 

उपरोक्त मुक्तकमा समाजमा देखिएका विविध चुनौती चिर्दै नारीहरूले आफ्ना हक, अधिकार र अस्तित्व प्राप्तिका निम्ति कलम र आवाजका साथ सशक्त रूपान जागरुक हुने बेला आएको विचार व्यक्त गरिएको छ । देहको शक्ति र सत्तामा बसेको पुरुष एकाधिकारलाई चिर्दै नारीहरूले देश विकास र नीति निर्माणका कार्यमा खबरदारी गर्नुपर्छ, एक पक्षीय कानुन बनाएर आधा आकाश ढाकेका नारीहरूलाई मूल धारमा नल्याउने हो भने समाज र देश विकास कार्य पनि आंशिक बन्नेछ । त्यसकारण राष्ट्र निर्माणमा नारी शक्तिलाई पाखा लगाइयो भने देश डुब्न सक्छ । अतः समानुपातिक रूपमा देश विकासको गतिलाई अगाडि बढाउन नारीहरूले एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने भाव मुक्तकमा नारी चेतनाका रूपमा अभिव्यक्त भएको छ ।

यस सङ्ग्रहभित्रका मुक्तकहरूले नारी अधिकारको मात्र खोजी गरेका छैनन् । नारीहरूका कमजोरीप्रति पनि आलोचना गर्दै त्यस्ता कमजोरीको अन्त्य गरी नारीले आन्तरिक चेतनाको विकास गर्नुपर्ने, आफूलाई रागात्मकताको साधन नबनाएर समाजमा नारीभित्र पनि ज्ञान राशि छ भन्ने कुराको बोध गराउन सुझाव दिइएको छ :

भोजमा व्यस्त अचेल नारी देखेकी छु 

सडकभरि राताम्मै ती सारी देखेकी छु 

पालो लाउने पैँचो तिर्ने विकृतिमा भुली 

तिज दरमा झुम्ने विघ्न बाढी देखेकी छु । 

यसरी यथार्थ जीवनका विविध भाव समेटिएको भावदीप मुक्तक सङग्रहमा मानवीय त्याग, समर्थन, मानवीय स्वभाव र प्रवृत्ति प्रस्तुत गर्दै मानवीय दुष्प्रवृत्तिप्रति व्यङ्ग गरिएको छ । यस सङ्ग्रहमा राष्ट्र प्रेम, प्रकृति प्रेम र संस्कृति प्रेमका भाव सशक्त रूपमा अभिव्यक्त भएका छन् । जीवनको आशावादी दृष्टिकोण प्रस्तुत गरिएको यस सङ्ग्रहमा जीवनलाई दर्शनिक रूपमा व्याख्या गरिएको छ । यस सङ्ग्रहमा नेपाली समाजको संरचना पितृ सत्तात्मक भएकाले समाजका केन्द्रमा पुरुष रहेका कारण पुरुषमुखी कानुन बनेका र पुरुषहरूकै हितमा शास्त्र लेखिएका कारण नारीहरू विभेदमा परेको कुरा उल्लेख गरिएको छ । वर्तमान समयमा हरेक रूपले सबल र सक्षम बन्दै गएका नारीहरूले समाज र राष्ट्र विकासमा सशक्त भूमिका निर्वाह गरिरहेका अवस्थामा यिनलाई अबला भनी तिनलाई शोषण गर्नु, तिनका शरीरमाथि राजनीति गरी तिनलाई भोग्या ठानी वस्तुकरण गरिनुहुँदैन भन्ने भाव मुक्तकमा व्यक्त गरिएको छ । समतामुखी कानुन निर्माण भएको अवस्थामा नारीलाई पुरुषजत्तिकै हक र अधिकार प्रदान गरिनुपर्छ भन्ने भाव व्यक्त गरिएको यस सङ्ग्रहमा नारीका कमजोरी समेत केलाई तिनको आलोचनात्मक समीक्षा समेत गरिएको छ । यसरी नारी हक, अधिकार र अस्तित्वको खोजी गरी नारीहरूलाई समाजमा पुरुषसरह स्थान प्रदान गरिनुपर्छ भन्ने चेतना अभिव्यक्त भएको विवेच्य यस मुक्तक सङ्ग्रह नारी चेतनाका दृष्टिले सशक्त कृति हो । 

(लेखक पोख्रेल पद्मकन्या बहुमुखी क्याम्पसमा उपप्राध्यापक छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनमाया पोख्रेल
मनमाया पोख्रेल
लेखकबाट थप