बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
निबन्ध

मंसिरको मैजारो

शनिबार, २९ मङ्सिर २०८१, १८ : ००
शनिबार, २९ मङ्सिर २०८१

मंसिर ! सृष्टिको सम्पन्नताको प्रतीक । घरका भकारीमा अन्न–ऐश्वर्यले भरिपूर्ण समृद्धिको परिचायक ।

मंसिरको मैजारोले मंसिरको महिमा–गान गाउँछ ।

प्रकृतिको रसिलो सौन्दर्य र परिश्रमको पुण्यफल बोकेर आउने महिना । वर्षभरि खेतीपातीको थकानमा डुबेका कृषकका हातहरूलाई सुखद अनुभूतिको स्पर्श दिने र मनभरि आशा र आनन्द भर्ने यो महिना, केवल एक ऋतु चक्रको कथा मात्रै होइन, जीवनको चिरस्थायी प्रेरणाको दर्पण हो ।

हेर्नुहोस्, खेतका पाटामा झुलिरहेका सुनका बाला । हेमन्त ऋतुको पहिलो किरणले सुनौलो सुस्केरा हाल्दै माटोको गर्भमा जन्मेको परिश्रमको नतिजालाई उजागर गरिरहेको छ । यही माटो, जसलाई असारमा कृषकका खुट्टाले प्यारो स्पर्श गरेका थिए । आज मंसिरमा आफ्नो वचन पूरा गर्दै फलेका बालीहरूको रूपमा मुस्कुराइरहेको छ ।

आकाश पनि कति खुला ! कतै कुनै बादलको गुनासो छैन । उन्मुक्त निलो आकाशले कृषकको मिहिनेतको कदर गर्दै आफ्ना जुन, तारा र सूर्यका किरणले धर्तीलाई आशीर्वाद दिइरहेछ । र, हिमालको मुस्कान ? त्यो त शब्दभन्दा परको कुरा हो । त्यो मुस्कान, जसले सम्पूर्ण मंसिर महिना चहकिलो बनाउँछ ।

मंसिर भनेको आशा हो, सन्तोष हो र परिश्रमको महत्त्वलाई सम्मान गर्ने समय हो । यो महिना कृषकका गहभरि अन्नका भकारी भरिन्छन् । जीवनभरि आशाको न्यानो सुरुवात हुन्छ । अन्नको हर बाला उनीहरूको निष्ठाको कथा हो । यसले जिन्दगीलाई अर्थ र सफलताको सन्देश दिन्छ ।

तर, मंसिर केवल कृषकको पर्व मात्र होइन । यो सबैका लागि पनि सन्देश हो । यो महिनाले सिकाउँछ— परिश्रमको फल मिठो हुन्छ, धैर्यको प्रतीक्षा फलदायी हुन्छ । असारमा खन्याइएको पसिना मंसिरमा सुवास बनेर फर्किन्छ । यही चक्र, प्रकृतिको सन्देश हो, जसले जीवनलाई प्रेरणाले भरिदिन्छ ।

मंसिर महिना नेपाली समाजको एउटा विशेष सांस्कृतिक ऐना हो । यो महिना केवल चिसो मौसमको आगमन मात्र होइन, परम्परा, उत्सव र उल्लासको मैजारो हो । पहाडका खेतबारीमा धान थन्क्याइएको छ । तराईमा उखु काट्न थालिएको छ । घर–घरमा चाडपर्वको रमझम छाएको छ ।

मंसिरको बिहान चिसो हुस्सुबाट सुरु हुन्छ । बालीनाली उठिसकेपछि गाउँहरू शान्त तर उत्साहित देखिन्छन् । खेतमा माटोको सुगन्ध र सहरका बजारमा किनमेलको रौनक मिश्रित हुन्छ । यस महिनाले गाउँघर गोठदेखि सहरका गल्लीसम्म हरेकलाई जीवनको मिठास महसुस गराउँछ ।

मंसिरको अर्थ केवल प्रकृतिमा सीमित छैन । यो महिना विवाह, भोजभतेर, चाडपर्व, वनभोज र सांगीतिक साँझहरूको समय हो ।

मंसिर ! तिमी धन्य छौ । तिमीले कुनै सपनालाई अपूरो राख्दैनौ । तिमीले धर्तीको प्रत्येक कुना–काप्चामा परिश्रम र सफलताको सन्देश पुर्‍याउँछौ । तिमी हामीलाई मुस्कान, सन्तोष र आशाको कथा सुनाउँछौ ।

‘मंसिरमा बिहे गर्न पर्छ ।’ भन्ने उखान नेपाली समाजको एउटा पुरानो थेगो पनि हो । हुन पनि यसै महिनामा बिहेका लगनहरू धेरै जुर्छन् । परम्परागत बाजा, लोकगीत र नातेदारहरूको जमघटले मंसिरलाई अझ विशेष बनाउँछ ।

‘यमरी पुन्ही’ नेवार समुदायको विशेष चाड हो, जुन पूर्णिमाका दिन मनाइन्छ । यो चाडमा चामलको पिठोबाट बनाइएको यमरी (मिठो परिकार) तयार गरी देवीदेवतालाई चढाउने र परिवारसँग मिलेर खाने चलन छ । यमरीलाई समृद्धि र उन्नतिको प्रतीक मानिन्छ ।

मंसिरमा विभिन्न चाडपर्व मनाइन्छन् जसले हामीलाई प्रकृति र संस्कृतिसँग जोड्छन् । नयाँबाली पकाएर न्वागी खाने, भूमि पूजा गर्ने, देवाली पूजा आदि यसै महिनामा गरिन्छ । देशका विभिन्न तीर्थस्थलमा जात्रा हुने र मेला लाग्ने गर्छ । यसका साथै सातगाउँले जात्रा, इन्द्रायणी वा लुती अजिमा जात्रा र पशुपतिमा सतबिउ छर्नेजस्ता अन्य महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक क्रियाकलाप पनि मनाइन्छन् । यी पर्वमा भक्तजनहरूले देवताहरूको पूजा गरी प्रकृति, उब्जनी र पूर्वजहरूको सम्मान गर्छन् ।

प्रकृतिले पनि यस महिनामा आफ्नो रङ्गीन रूप देखाउन बाँकी राख्दैन । हिमालहरू उज्यालो रूपमा मुस्कुराइरहेका हुन्छन् । पहाडमा रातो लालुपाते फुल्न थाल्छ । तराईमा हरिया जंगलले स्वर्गीय सौन्दर्य छर्छ । मंसिरको चिसोले पनि यसको आफ्नै खालको मिठास ल्याउँछ । भित्तामा झुन्डिएका पुराना च्यातिएका सिरक, आगो ताप्दै गाउँलेको गफगाफ र चुल्होमा पाकिरहेको परिकार ।

धेरैजसो रुखहरूमा पात झर्ने क्रम सुरु हुन्छ । यसले प्रकृतिमा नयाँ जीवनको सुरुवातका लागि तयारी भइरहेको संकेत गर्छ । त्यस्तै चिसो बढेसँगै पशुपक्षीहरू न्यानो ठाउँको खोजीमा बसाइँ सर्छन् । हिमाली क्षेत्रमा हिउँ पर्न थाल्छ भने तराई क्षेत्रमा पानीका स्रोत सुक्दै जान्छन् । यही समय जाडो ठाउँमा बस्ने मानिस न्यानो ठाउँतिर झर्छन् । भेँडा, च्याङ्ग्रा, चौँरीगोठहरू बेँसीतिर झारिन्छ । लेकाली मान्छेले यही महिनामा हिमाली जडिबुटीको कुम्लोकुटुरो बोकेर पहाड र तराईतिरका घर–घरमा व्यापार गर्न थाल्छन् ।

यो महिनामा प्रकृतिमा हुने परिवर्तनले हामीलाई जीवनका विभिन्न पक्षबारे सोच्न बाध्य पार्छ । मंसिरमा दिन छोटा हुँदै जान्छन् र रात लामो हुँदै जान्छन् । यससँगै तापक्रममा पनि कमी आउँछ र चिसो बढ्न थाल्छ ।

वर्षभरि खेतीपातीमा व्यस्त रहेका किसानका लागि यो महिना आरामको समय हो । यसको आफ्नै छुट्टै महिमा छ । मंसिरको महिमा मौसमको परिवर्तनमा मात्र सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जीवनशैलीसँग गाँसिएको महिना हो ।

मंसिर आउँदा प्रकृतिले आफ्नो रङ फेर्छ । हरियालीले छोएका रुखहरू पहेँला पात झारेर उराठलाग्दो देखिन्छन् । चिसो बढ्दै जाँदा आकाश पनि नीलोभन्दा धेरै सेतो देखिन्छ । घामको ताप पनि घट्दै जान्छ, तर यही परिवर्तनले प्रकृतिलाई अझै सुन्दर बनाउँछ ।

मंसिरको बिहानीमा बाक्लो हुस्सु लाग्छ । घाम लागे पनि चिसोले शरीरलाई झमझम्याउँछ । यो चिसोले शरीरलाई त तातो बनाउँछ, तर मनलाई शान्त बनाउँछ । मंसिरको चिसो हावामा हिँड्दा मनलाई निकै आनन्द आउँछ ।

गाउँघरतिर दसैँ सकिएपछि घर फर्किएका युवाहरू पुनः सहरतिर फर्कने बेला हुन्छ । यसले गर्दा गाउँघर सुनसान बन्छन् । यही सुनसानतामा पनि एउटा खालको शान्ति पाइन्छ । भर्खरैको मिलनका खुसीहरू सेलाएका हुँदैनन् । कोसेलीका पोका–पन्तुरा खोल्दै त्यसमा मायाको आभास पाउनु, प्रेमको दीप प्रज्ज्वलित हुनु अनि प्रगाढ सम्बन्धको विम्ब प्रस्तुत पृथक् सन्तुष्टिको पल हो ।

यसबेला खानेकुराको स्वाद पनि फरक हुन्छ । चिसो मौसममा तातोतातो कन्दमूल र मकै–भटमास साँधेको गुन्द्रुकसँग खानुको मिठो स्वाद बेग्लै हुन्छ । सहरी सुख र सुविधाभन्दा पर मंसिरको महिमा गाउँले जनजीवनमा अझ प्रिय र सार्थक बन्छ ।

मंसिरको महिमा यति मात्र सीमित छैन । यो महिना कृषकका लागि नयाँ वर्षको सुरुवात जस्तै पनि हो । वर्षभरि खेतबारीमा पसिना बगाएर उब्जाएको अन्नबाली भित्र्याएर टनाटन धानबाली भएपछि किसानहरू खुसी हुन्छन् । मंसिरको मैजारोसँगै खेत–खलियानमा ‘दाँइबारो दो’को रौनक पनि सिद्धिन्छ । धान भित्र्याएर बाँकी रहेका पराललाई माच, कुन्युमा चाङ राखेर वस्तुभाउलाई खानेकुराको जगेडा गरिन्छ । यिनै माच र कुन्युमाथि बसेर केटाकेटीहरू भाँडाकुटी खेल खेल्छन् ।

यो महिनाको महिमा यसको शान्ति, सुन्दरता, संस्कृति र परम्परामा निहित छ । यो महिना हामीलाई प्रकृति र संस्कृतिको नजिक ल्याउँछ । यसले हामीलाई जीवनका मूल्यहरू सम्झाउन मद्दत गर्छ ।

मंसिर एकदमै सुन्दर र रमाइलो महिना हो । यस महिनामा हामीले प्रकृति, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँछौँ । मंसिर महिना नेपालीका लागि चाडपर्वको महिना भए पनि, यो महिनामा केही स्थान विशेषमा र मौसम अनुकूलका खेलकुद गतिविधिहरू पनि हुने गर्छन् ।

चिसो मौसम भएकाले पारिलो घाम ताप्ने चलन हुन्छ । विशेष गरी बिहानको घाममा शरीरलाई न्यानो बनाउन र स्वास्थ्यका लागि यो राम्रो मानिन्छ । घाम ताप्दै सुन्तला खानु, बदाम छोडाएर खानुको मज्जा नै यही महिनामा खुब हुन्छ ।

यो महिना अन्य महिनासँगै नेपालीका लागि विशेष महिना हो । यो महिनामा प्रकृति, संस्कृति र परम्पराको मिश्रण देख्न सकिन्छ । यी विविधताले हाम्रो जीवनलाई अझै रमाइलो र अर्थपूर्ण बनाउँछन् ।

मंसिर नेपाली समाजको सभ्यता, संस्कृति र मानवताबिचको सुन्दर संवाद हो । यहाँ खेतीपातीको अन्त्य र नयाँ जीवनको सुरुवात एक साथ हुन्छ । यही मेलमिलाप र सन्तुलनले मंसिरलाई हाम्रो जीवनको एक अमूल्य अंग बनाएको छ ।

मंसिर केवल महिना मात्र होइन, नेपाली समाजको मुटुमा बसेको उत्सव हो । मंसिर प्रत्येक वर्ष आउँदै हाम्रा स्मृतिहरूलाई रङ्गीन बनाउँदै जान्छ । मंसिर ! तिमी धन्य छौ । तिमीले कुनै सपनालाई अपूरो राख्दैनौ । तिमीले धर्तीको प्रत्येक कुना–काप्चामा परिश्रम र सफलताको सन्देश पुर्‍याउँछौ । तिमी हामीलाई मुस्कान, सन्तोष र आशाको कथा सुनाउँछौ ।

तिमीलाई सतत् प्रणाम ! तिमी हाम्रो हिम्मत, हाम्रो प्रेरणा । जीवनलाई यथार्थको मिठास र आशाको रङ दिने तिमीलाई म नमन गर्छु । मंसिर ! तिमी साँच्चै सम्पूर्ण सृष्टिको सम्पन्नताको महिना ।

मंसिरको मैजारोले ल्याउने प्राकृतिक परिवर्तन र यसले हामीलाई दिने सन्देश मननीय हुन्छ । यस महिनाले हामीलाई प्रकृतिसँग जोड्ने र जीवनका विभिन्न पक्षहरूबारे सोच्न प्रेरित गर्ने अनेकौँ अवसर प्रदान गर्छ । यो महिनामा हामीले प्रकृतिलाई माया गर्ने, संरक्षण गर्ने र यसबाट सिक्ने प्रयास गर्नुपर्छ ।

मंसिरको मैजारो एकदमै सुन्दर र रमणीय मौसम हो । यो मौसमले हामीलाई जीवनका विभिन्न पक्षका बारेमा सोच्न, प्रकृतिसँगको सम्बन्धलाई बलियो बनाउन र आफ्ना प्रियजनहरूसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन मद्दत गर्छ । मंसिरको मैजारोको आनन्द लिँदै जीवनका यी सुन्दर क्षणलाई सधैँ सम्झिहन सकियोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप