शकुन्तला जोशीका तीन कविता

१) अनि जंगल पसिन् आमा
हर धूपमा रापमा
ठिहीमा तुषारोमा
खोँचमा पहरामा
लहरमा लहरामा
देउरालीमा भञ्ज्याङमा
नदीमा समुद्रमा
शीतमा आगोमा
म सिर्फ एउटा अनुहार देख्छु—
बतासजस्तै बिस्तारै आएर चुपचाप फर्किजाने
एउटा मुस्कान देख्छु
मान्छेहरूले भनिदिए र उनी नदीजस्तै बाँच्दै आइन्
मान्छेहरूले भनिदिए र उनी फूलजस्तै बाँच्दै आइन्
खासमा उनी लाभा थिइछिन्
खासमा उनी आगो थिइछिन्
जब चुल्हामा दाउरा सकिन्छ
जब गाग्रीमा पानी रित्तिन्छ
जब गोठमा घाँस निख्रिन्छ
पँधेरा कुवा पोखरी ताल वा खोला एक्लै धाउँछिन् उनी
जंगलको बाटो एक्लै हिँड्छिन् उनी
उनी हिँड्नु त जंगलको पनि सातो हल्लिनु रहेछ
उनी बोल्नु त पतझरहरूको सरसराहट पनि रोकिनु रहेछ
उनी हाँस्नु त आँधीको पनि बेग थामिनु रहेछ
तीहरूले पनि झिकेका रहेछन् उनको आँखाबाट आगोका लप्काहरू
र देखिएकी रहिछिन् जबरजस्त सुस्क र शान्त तलाउ
खासमा उनलाई गाउनु थिएछ आफ्नै यात्राको गीत
बजाउनु थिएछ आफ्नै पदचापको संगीत
निभ्दै गएको सृष्टिलाई जगाउन
बिर्सिगएको प्रेमलाई फर्काउन
बाल्नु थिएछ आफ्नै आँखाको आगो झिकेर
नाच्नु थिएछ फुकँसिक न्हापागु म्हेय (सृष्टिको पहिलो गीत)
नाच्नु थिएछ सृष्टिको पहिलो साकेलासिली
नाच्नु थिएछ फुकँसिक न्हापागु प्याखँ (सृष्टिको पहिलो नृत्य) ।
सत्तेमा !
उनलाई सोध्नु थिएछ मुन्धुमसँग आफ्नै हराएको नामको कथा
खोज्नु थिएछ नेवा देवतासँग आफ्नै हराएको अनुहारको कथा
ए माङ !
ए अजिमा !
सत्तेमा !
उनी यो सभ्यताले खोसेको
आफ्नै अस्तित्वको दाबी गर्न निस्किएकी छिन्
उनी आफ्नै अनुहार खोज्न निस्किएकी छिन् ।
२) चिहान
भुइँ कुहिरो उडिरहेको एकान्त जङ्गलमा
रातो रुमाल शिरमा बाँधेर
इनक्लाबको हात हावामा उठाइरहेको
को होला त्यो ?
कसको हो त्यो चिहान
जसको छातीमा
सधैँ फुलिरहन्छ रातो गुराँस ?
कसको हो छेवैमा फुकालिएको
एक जोर पुरानो खराऊ
जसले सधैँ गाउँ निस्कने
गोरेटो संकेत गर्छ ?
कसको हो पुरानो झोला
जसभित्र प्रतिबन्धित छन् एक हुल सपना ?
कसको हो त्यो आवाज
जो सधैँ उज्यालोको गीत गुनगुनाउँछ ?
कसले रोप्यो त्यो चिहानमाथि फूल
जो बिनावसन्त फुलिरहन्छ ?
कसले बाल्यो त्यो राँको
जो रातरातभरि बलिरहन्छ ?
को हो त्यो ?
किन कोही बोल्दैन ?
किन निरुत्तर छ
ह्याङ्गरमा झुन्ड्याइएको देशको नक्सा ?
किन जिब्रो चपाइरहन्छ गाउँको मुखिया ?
कसलाई छोप्यो इतिहासले
त्यो चिहानमुनि ?
कोही त भन
कसको हो त्यो चिहान ?
कसको ?
३) यो सहर मेरो पनि हो
पहिलोपल्ट यो सहरमा पाइला टेक्दा
तपाईंको उमेर कति थियो ?
कुन ब्रान्डको जुत्ता लगाउनुभएको थियो ?
कहाँबाट कहाँसम्म जान हिँड्नुभएको थियो ?
कहाँ उक्लिने सपना थियो ?
कुन बाटो हिँड्नुभयो ?
भोटाहिटीबाट निस्केर रत्नपार्कतिर ?
कि जमल हुँदै दरबारमार्ग ?
सहिदगेट हुँदै सिंहदरबार ?
कि बानेश्वर हुँदै बालुवाटार ?
कहीँ त खास थियो तपाईंको गन्तव्य
र त तपाईं तातो अलकत्रा नसुक्दैको सडकमा घिसार्दै
नयाँ ब्रान्डको गाडीको टायर
दौडिनुभएथ्यो हतारमा
हतारमा हिँड्दा देख्नुभएन होला मेरो मैलो अनुहार
पक्कै चिन्नुभएन होला छिनेका चप्पलहरू
चिनियोस् पनि कसरी ?
म एक सामान्य श्रमिक
यो सहर बनाउन एक–एक इँट उठाउने कुल्ली
यी दरबार उभ्याउन पसिना बगाउने मजदुर
यी चोक, डबली र पटांगिनी सिंगार्ने कालिगढ
एकाबिहानै तपाईं हिँड्ने यो बाटो बढार्ने सफाइ कामदार
तपाईंको रात्रि भोजनको खाना तयार गर्ने भान्से
म एक भुइँमान्छे
मेरो अनुहार धुलोले छोपिएको छ
सरदार !
मेरो करङ बिछ्याएर बनाएको यो बागमती पुल
मेरो पनि हो
मेरो रगत मुछेर बनाएको त्यो सिंहदरबर मेरो पनि हो
मैले त मानेथेँ यो मै मरेर ल्याएको यो प्रजातत्र मेरो पनि हो
तर आज प्रजातन्त्र दिवसकै दिन
मैले बनाएको यो सभ्य सहरमा
सहिदगेटको मुनि उभिएर
घोषणा गर्नुभएछ सरदारले
गरिबहरूका लागि होइन यो सहर
तिमीहरू सहर छोड
मबाट ठुलो गल्ती भो सरदार
तपाईंको हुकुमको प्रत्यक्ष प्रसारण सुन्नै छुटाएँ
हाम्रो गुमसुम बस्तीमा
हिजै बिजुलीको लाइन काटिदिनु भो
उसो नहुँदो हो त
यो मुटु कमाउने जाडोमा
तपाईंका डोजरहरूलाई मेरो थाङ्नाभोगटा उठाउने झमेला नपर्दो हो
मेरा जुठा भाँडाहरू छिरोल्ने दिक्दारी नपर्दो हो
उहिले विक्रम संवतको दुई हजार ४७ तिर
यही बागमतीको बगरमा अन्तिम श्वास फेर्नुअघि
मेरा बुबाले असनबाट ल्याएको सन्तोस रेडियो थियो र हामी समाचार सुन्थ्यौँ
समाचारमै सुनेका हौँ हामीले प्रजातन्त्रको झन्डा
दुवै अहिले जीर्ण भइसकेका छन्
दुवैको ब्याट्री डाउन छ सरदार !
तर मेरो जाँगरको ब्याट्री डाउन भइसकेको छैन अझै
मैले बनाएको यो राजमार्गमा
मलाई टेक्न नदिने तपाईंको हुकुमत
मैले उभ्याएका यी चोकहरूमा
मलाई उभिन नदिने यो उर्दी
म कसरी चुपचाप सहिबस्नु ?
यो माटो मेरो पनि हो
यो बाटो मेरो पनि हो
यो चोक मेरो पनि हो
सरदार, एक जुगदेखि तपाईको दलनलाई थेगिहिडेको हुँ
म आज पनि यही सडकमा ढलेका पोलहरू उठाइरहेछु
झुकेका झन्डा उचालिरहेछु
मलाई नजिस्क्याउनोस् सरदार !
जुरुक्क उठेँ भने फेरि
तपाईंको निषेधाज्ञा कमजोर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा