आखिर गँवार त हामी पढे–लेखेका मान्छे हौँ
मंसिर महिना । खेतमा धान भित्र्याउने काम । खेतभरि दर्जन खेताला । म खेत धनी किसानको छोरो । दुई दशकयता प्राध्यापन पेसामा बढी संलग्नता रहेपछि अरु धेरै खेतीपातीको काम नगरे पनि रोपाइँको दिन र बिटा लगाउने दिन म खेतमा सधैँ उपस्थित हुन्छु । सकेको काममा साथ दिन्छु । सदाझैँ यसपालि पनि खेतमा गएँ ।
खेतभरि छरिएका खेतालामध्ये साठीको दशकमा दिन गुजारिरहेका दुई दाजुले एकै स्वरमा भने— किन दुःख गर्नु’भा बाबु ! हजुरलाई किन रहर हो यस्तो काममा ! हामी पो अनपढ भएर दुःख गर्नुपर्या छ । तपाईंलाई त केको कर ? हामी गरिहाल्छौँ नि । हजुरको लुगा मात्रै मैलिन्छ । बस्नुस् ।
उहाँहरूको कुरो सुनेर फिस्स हाँस्दै भनेँ— ए दाइ, हामी पढेका मान्छेले दुःख गर्न, यस्तो काम गर्न हुन्न र ?
ती दाइहरूको थप प्रतिक्रिया सुनेर अमेरिकन कवि तथा पत्रकार वाल्ट ह्विटम्यानको वाणी सम्झिएँ— अशिक्षित व्यक्तिमा अवर्णनीय ताजगी र अचेतना रहन्छ, जसले प्रतिभावान् व्यक्तिहरुलाई खिल्ली उडाउँछ ।
म नतमस्तक भएँ । उहाँहरूको बुझाइ र चेतनाले भनिरहेथ्यो कि अनपढ रहनु भनेको पठित मान्छेको सेवा गर्नु हो । अशिक्षित हुनु नै दुःख रोज्नु हो । उनीहरू मान्छे नभई साहुजनका नोकर हुन् । मलाई थप छलफल गर्न उत्सुकता जाग्यो । कामसँगै दिनभर उहाँहरूसँग यस्तै अन्तरङ्ग गरेँ । लाग्यो क ख रा लेख्न र पढ्न नजान्ने दाइहरूसँग त्यो दिन मैले विश्वविद्यालयमा सिक्न र सिकाउन नसकेको अलिखित मानवीय चेतना, संवेदना, अभिव्यक्तिका रसिला कक्षा लिन पाएँ ।
त्यो बिटा लाएको केही दिनअगाडि तिहारमा सदाझैँ गाउँ गएको थिएँ । वर्षमा दुईपटक चाडमा आफ्ना दौँतरीहरूसँग जमघट हुने अवसर मिल्छ । यस्तो बेला जानीनजानी उनीहरूसँगै तास खेल्दिनु मेरो तालिका नै हो । दुई दिन दसैँ र तीन दिन तिहारमा त्यसरी नै रमेर होला सायद बाल्यकालदेखि पछिल्ला पुस्तासम्मका भाइहरू मसँग खुलेरै रमाउँछन् ।
गफकै क्रममा एकजना मित्रले बेडरुमका बारेमा गरेको सवालमा अर्को निरक्षर साथीले भन्यो— ओइ, तिमीहरूको ओछ्यान जतिसुकै सफा र महँगो भए पनि कति घण्टा निदाउँछस् ? यत्तिमध्येमा सबैभन्दा नराम्रो फोहोर ओछ्यान मेरो छ । के तिमीहरू मजस्तै सजिलै मजाले निदाउन सक्छौ त ? च्यालेन्ज गर्छौ ? मैले उसलाई रक्स्याउन केही कुरो उसको पक्षमा थपिदिएँ । ऊ अझै कड्कियो — तिमीहरू पढे–लेखेका धेरै कमाउनेहरूको हालत मलाई नि था छ । जति पढे नि नहुने, जति धन थुपारे नि नपुग्ने ! लोभै लोभले चिन्ता भरिएर रातभरि निदाउन सक्नुपर्यो नि ! छटपटिएर रात काट्छौ । अहिले फूर्ति ! हाम्मलाई के पिर ! दिनभर पसिना बगायो, ज्याला थाप्यो, राति टन्न खायो, मस्त निदायो । यो गरौँला नि छैन, ऊ गरौँला नि हैन । छैन तिमीहरूलाई जस्तो गाह्रो ।
अहिलेका पढेका भनाउँदाले के बुझेका छन् र बिहेको महत्त्व ? आधा उमेर जाँदासम्म बिहे गर्दैनन् । अनि बाहिर–बाहिर चाखी हिँड्छन्, विदेश जान्छन् । ३५–४० मा गरेको बिहे टिके त हुन्थ्यो नि !
साँच्चै भारतीय राजनीतिज्ञ भाष्कर रेडीले भनेझैँ— शिक्षित व्यक्तिबाट भन्दा निरक्षरबाट सिक्ने कुरो धेरै छ ।
जब म निरक्षर व्यक्तिको सम्पर्कमा पुग्छु, तब केही न केही सिकेको अनुभूत गर्छु । एउटी अक्षरै नचिनेकी गाउँले दिदीले कुनै सिलसिलामा भनिन्— बाबु, अहिलेका पढेका भनाउँदाले के बुझेका छन् र बिहेको महत्त्व ? आधा उमेर जाँदासम्म बिहे गर्दैनन् । अनि बाहिर–बाहिर चाखी हिँड्छन्, विदेश जान्छन् । ३५–४० मा गरेको बिहे टिके त हुन्थ्यो नि ! पहिल्यै अनेक बानी परेको हुन्छ, घरको एउटामा चित्त बुझ््दैन अनि पारपाचुके । त्यसै बढेको छ र सम्बन्धविच्छेद ?
यो फेसबुक–सेसबुकले त झन् मान्छे सिध्यायो बाबु । हामीले जस्तो उमेरमा मागेरै भने पनि बिहे गरे, घरकै सम्बन्धमा रमाए किन चाहियो अनेक अनेक ? बेलैमा छोराछोरी हुर्कन्छन् । किन हुन्छ सम्बन्धविच्छेद ? ती दिदीलाई फर्काउने जवाफ मसँग थिएन । मौन रहेँ ।
घटना अलिक अगाडिकै भए पनि स्मरण ताजै छ । एक दिन दुई घण्टाको यात्रामा भएको त्यो संवादले मेरो मस्तिष्कमा हलचल ल्यायो । आफ्नै उमेर सरहकी अधबँैसे बैनीले जातीय भेदभावका बारेमा अनौठो खुलासा मात्रै होइन क्रान्तिकारिता प्रस्तुत गरिन् । उनले भनिन्— हजुरले कलेज पढाउनु हुँदो रहेछ । मेरो नि हजुरजस्तै कलेज पढाउने सर साथीजस्तो हुनुहुन्छ । मलाई असाध्यै प्रेम गर्नुहुन्छ । हामीबिच भेटघाट र अन्तरङ्ग कुराकानी पनि हुन्छन् । तर एउटा कुरो चाहिँ अचम्म लाग्छ । हामीहरूको घर नजिक–नजिक छ । जब म उहाँको घर पुग्छु, तब उहाँमा अनौठो भाव देख्छु । म उहाँको घरभित्र पसेँ भने सब बर्र्बाद हुन्छ जस्तो भाव देखाउनुहुन्छ । त्यति धेरै मन मिल्ने मान्छेको घरमा बसेर चियासम्म सँगै खान पाएको छैन । अरुबेला अन्तरङ्ग कुराकानीमा र भेटमा उहाँ निकै उदार र छुवाछुतविरोधी देखिनुहुन्छ कि मलाई गर्व लाग्छ । फेरि किन उहाँले व्यवहारमा मजत्तिको नजिक ठानेकोे साथीलाई अछुत नै राख्नुहुन्छ ? म नपढेको मान्छे भएर होला बुझ्न सकेकी छैन ।
उनको कुरो नसकिँदै मैले प्रश्न गरेँ— यसबारे उहाँसँग कुरा गर्नुभएको छैन ? उनको जवाफ थियो— नाइँ, उहाँसँग सोध्ने आँट नै गर्दिनँ । त्यति प्यारो मान्छेलाई... अप्ठेरो पर्ला, चित्त दुख्ला भनेर । मलाई त लाग्छ नि सर, यो छुवाछुत नहटेको चैँ उहाँजस्तै पढे–लेखेकाहरूको व्यवहारबाटै हो ।
ती अत्यन्तै मृदुभाषी, दयालु, सकारात्मक अरुको सम्मान गर्ने, हामीले अछुत देखेको मिजार थर बताउने अनपढ महिलाको कुरोले साँच्चै मेरो दिमाग हल्लायो । उनी यात्राबाट छुटिसकेपछि पनि निकैबेर म र मेरा साथीहरूका ती समुदायप्रतिको व्यवहार सम्झेँ । हुन पनि आजसम्म कोही मेरा सहकर्मी सहधर्मी साथीहरूले आफ्नो घरभित्र दलितलाई लगेको र किचनमा सँगै बसेर खाएको दृष्टान्त बताएको पाएको छैन । समाज वा स्कुल–कलेजका कक्षामा जति नै चर्का कुरा गरे पनि हामीले सजिलै व्यावहारिक परिवर्तन गर्न हिचकिचाएका छौँ । एउटा असाक्षर दलित भनिने महिलाले जति पनि मानवीय संवेदना बुझेका रहेनछौँ ।
उनको कुराले मलाई माया एङ्जेलोको सनसनीपूर्ण भनाइ सम्झायो—
मेरी आमाले मलाई भन्ने गर्नुहुन्थ्यो— तिमी सधैँ अज्ञानताप्रति असहिष्णु हुनुपर्छ तर निरक्षरताको बोध हुनुपर्छ र निरक्षरहरुलाई सम्मान गर्न सिक्नुपर्छ । विद्यालयको मुखै नदेखेका केही व्यक्तिहरु पनि विश्वविद्यालयका प्राध्यापकभन्दा बढी शिक्षित र बुद्घिमान् हुन सक्छन् ।
अर्को रोचक तर मन छुने प्रसङ्ग । मेरो सानो घर निर्माण भइरहँदा एकजना मेरा पूर्वविद्यार्थी पनि लेबर काम गर्दै थिए । कुराकानीकै सिलसिलामा ती भाइले भने— तपाईंले मलाई पढिनस् भनेर सधैँ गाली गर्नुहुन्थ्यो । नपढेर के गरी खान्छस् भन्नुहुन्थ्यो, हेर्नु त आज यो सबै मान्छेहरूले तपाईंले जस्तै पढेका भए को पाउनुहुन्थ्यो, यो घर बनाउने मिस्त्री अनि मजस्तै मजदुर ? सबैले पढे भने तपाईंको सेप्टिक ट्याङ्की भरिँदा कसले सफा गरिदिन्छ ?
उनीसँगै मसला घोलिरहेका अर्काले थपे— हो त नि । घर मात्रै हो र रोड कसले बनाइदिन्छ ? खेतबारीमा कसले अन्न फलाइदिन्छ ? अनि पढेन भनेर हाम्लाई पिटेर हुन्छ के अर्थ ? म अलिक पर बसेर सुन्नु सिबाय केही भन्न सकिनँ ।
अमेरिकी चर्चित राष्ट्रपति जिमी कार्टरले त्यसै भनेका थिएनन्— तपाईं पूर्णतया निरक्षर हुनुहुन्छ र दिनको एक डलरमा बाँचिरहनुभएको छ भने भूमण्डलीकरणका फाइदा तपाईंलाई कहिल्यै आउँदैनन् ।
ती मजदुर भाइहरूलाई आज पनि पक्कै थाहा छैन कि पठित भएर बाँच्नु र मजदु भएर जिउनुमा तात्त्विक भिन्नता ।
कुनै प्रसङ्गमा मेरो पिताजीले भन्नुहुन्थ्यो— म मरेपछि तिमीहरूले पिर नगर्नु । मलाई पनि छोराहरूले काजकिरिया गर्दैनन् कि भनेर कुनै पिर छैन । मरेपछि सक्किगो नि ! पोले नि, त्यसै छाडे नि, लासलाई के था ! बाँच्नेले लाजगालले गर्ने न हुन् । मरेपछि यो हुन्छ, त्यो हुन्छ भन्ने हल्लै हो ।
उहाँको यो कुरो सुनेर मलाई अनौठो लाग्थ्यो । नब्बेको दशकसम्म बाँचेर जीवनभर आफ्नो संस्कृति परम्पराको कट्टर पालना गरेर गर्नुभएका तर ‘क’ अक्षर नचिन्ने मेरा पिताजीको त्यो दार्शनिक सोच चानचुने थिएन ।
प्रख्यात फ्रेन्च कलाकार गेराड डिपाडिउको भनाइ छ, ‘मेरा लागि मेरो बुवा नै आदर्श र अनुकरणीय पात्र हुनुहुन्थ्यो, जो समाजको नजरमा निरक्षर र नपत्याउने व्यक्ति हुनुहुन्थ्यो ।’
यी र यस्ता अननिन्ती किस्साले जोडिएको जीवन नै अनमोल हुँदो रहेछ । आखिर मान्छे आफ्नो सोच र औकातमा रमाउन जान्यो भने न संसारको कुनै नामुद विश्वविद्यालय धाउनपथ्र्यो, न त बाइबल, कुरान, गीता, त्रिपिटक बोकेर वा घोकेर अनेकन् व्याख्या अलाप्दै हिँड्नुपथ्र्यो ।
हामी आफूलाई विद्वान् ठानेर अरुलाई अनपढ ठान्छौँ । आखिर गँवार त हामी हौँ, जो समाजको एउटा पाश्र्व स्थानमा मस्त जीवन बाँचेका निरक्षर मजदुर, किसान वा श्रमजीवीका चेतना, विवेक र मानवीयताको उपहास गर्छांै ।
अन्तिममा म एल्भिन टोफ्लरको भनाइलाई लिएर यो आलेख टुंग्याउन चाहुन्छु— २१औँ शताब्दीका अशिक्षित भनेका पढ्न–लेख्न नसक्ने होइनन् तर सिक्न नचाहने गलत ज्ञानलाई सच्याउन नचाहने र पुनः सिक्न नचाहनेहरू हुन् ।
(लेखक त्रिविका उपप्राध्यापक हुन् । उनी हाल त्रिविअन्तर्गत नै विद्यावारिधिका शोधार्थी पनि हुन् ।)