सेतेको संसार– ३
रात छिप्पिँदै गयो । बजारमा मानिसहरूको चहलपहल घट्दै गयो र आखिरमा सडक सुनसान भयो । अब बजारभरि भुस्याहा कुकुरहरूको एकछत्र राज भयो । त्यो चकमन्न रातमा बेसहारा मगन्तेझैँ सुरुसुरु हिँड्दै आएको एउटा झुत्रे ठिटाले बजारको उत्तरी कुनामा एउटा ठुलो घरको पछिल्लो ढोकामा उभिएर सहारा माग्ने स्वरमा बोलायो, ‘दाइ !’
‘बस,’ खाटको छेउमा अडेस लागेर पढिरहेको मान्छेले गुम्लुङ्ग ओढेको कालो कम्मलको छेउ सेतेतिर फिँजाउँदै भन्यो, ‘यो ओड, जाडो अचाक्ली छ ।’
सेतेले उत्सुकता र आश्चर्यको भाव भरिएका आँखाले त्यो बिरानो मान्छेको अनुहार हेर्यो । उसलाई यकिन भयो— त्यो मान्छे विद्यार्थी भने पक्कै होइन । बाटुलो अनुहार र पहेँलो वर्ण, पातला दारी र ओठको छेउबाट तल्तिर नुहेका नरम जुँगा र चिम्सा आँखाभित्र न्यानो स्नेहभाव । सेतेलाई त्यो मान्छे कताकता देखेजस्तो लाग्यो । उसको बोली, मुद्रा र हाउभाउमा विद्यार्थीको जस्तो अल्लारेपन उसले देखेन ।
‘कुलेले फेरि त चुट्या छैन ?’ सेतेको हात समाउँदै नौलो मान्छेले सोध्यो, ‘कुलेको राँगोले तिमीलाई पिरेकै होला, होइन ?’ चिनारु मित्रले झैँ त्यो मान्छेले सोध्यो, ‘तमसुक गर्दियौ त ?’
‘ज्यान गए गर्दिनँ ।’ सेतेले कठोर स्वरमा भन्यो, ‘बेचेर खाको हो र मैले त्यस असत्तीको ?’
नौलो मान्छे मुसुमुसु हाँस्योे । उसले झोला खोतल्योे, खल्ती छाम्यो अनि हातमा सलाई खेलाउँदै विद्यार्थीलाई सोध्यो, ‘बिँडी छ, शिव ?’
‘छैन, हरि दाइ ।’
सेतेले खल्तीबाट बिँडी झिक्यो । हरि दाइका मुखबाट उडेको धुवाँ सेतेको कपालमा मडारिँदै मास्तिर उड्यो । त्यो कोठाको वातावरणमा आज सेतेले नयाँपनको छनक पायो । हरि दाइका अगाडि विद्यार्थी इत्तरिँदा रहेनछन् । बरु ती त एकाग्र चित्तले उसका कुरा सुन्दा पो रहेछन् ।
‘अरु के छ हालचाल ?’ हरि दाइले सोध्यो ।
‘क्यै छैन,’ सेतेले जवाफ दियो, ‘उस्तै हो, रातदिनको सास्ती ।’
‘कुलेका लात्ती कति दिन खाने हो ?’ हरि दाइले सेतेको दुःखको कथाको गाँठो समात्योे, ‘थैलीका गोडा मल्नै भनेर जन्मेका हौँ त हामी ?’
अर्काको मनभित्रसम्म देख्न सक्ने के खालको मान्छे हो यो हरि दाइ ? सेतेले चकित हुँदै उसलाई हेर्यो । उसले थाहै नपाई उसको ढाडले हरि दाइको जिउ छोयो । उसलाई कसोकसो असजिलो लाग्यो ।
‘गाउँतिरको हालबात सुन्या छौ ? क्यै था’छैन ? गाउँ त जुर्मुराउन लाग्या छ नि, बाबु ।’ हरिले बेलिबिस्तार लायो । ‘गाउँलेहरूले अब मालिकका पाउमा शिर नझुकाउने अठोट गर्या छन् । अनि मालिक्नीका पाउ नमल्ने कसम खा’छन् । एऽऽ उसो भए तिमीले पनि गोडा मल्न छाड्यौ ? राम्रो ! कुले डरले थक्र्या छ रे ? साह्रै राम्रो ! हाम्रा जिजुबाजेका पालादेखि त्यल्ले हामीलाई गोरु बनायो । त्यल्ले हामीलाई जोत्योे । त्यल्ले हाम्रा पसिना चुसेर सम्पत्ति थुपार्यो । हामी डाका हौँ रे ?’
‘गाउँभरिका डाका एकगठ भएर उठे ।’ यसो भन्दा उसको स्वर गलामै बिलाउलाजस्तो भो । ‘हरे ! कम्निस्टी चोरहरूले जगतै भाँडे ।’ कसैले अदृश्य भएर कुरा सुन्दै छ पो छ कि ? ऊ त्यसैत्यसै अत्तालियो ।
हरि दाइको स्वर तिखो भयो र अनुहार गम्भीर । उसका आँखामा जीवनको ज्योति बल्यो । कहिल्यै सुन्न नपाएको जीवनको कथा सेतेले एकचित्तले सुन्यो । ‘सम्झ त सेते ! पच्चीस–तीस सालअघि यो ठाउँमा के थियो ? बाघ–भालु, सर्प–बिच्छीको एकछत्र राज थियो । ज्यान हत्केलामा राखेर बिखालु सर्पसँग लड्दै यो ठाउँ कस्ले आवाद गर्यो ? तिमी हामीजस्ता गरिबले । यहाँ सुनसरि अनाज फल्ने खेत, बडाबडा महल, झिलिमिली बिजुली बत्ती कल्ले बनायो ? तिमी हामीजस्ता गरिको अक्किल र पसिनाले । आज यी सारा सुखका मुहान्को साँचो कस्का हाताँ छ ? चुसाहा, फटाहा, र गरिबमाराका हाताँ ! यही हो इन्साफ ? जल्ले घर बनाउँछ र अनाज फलाउँछ, त्यसकै छाप्रोमा बाह्रैमास अनिकाल र रुवाबासी ! जल्ले सुख र चैनको मूल फुटाउँछ, त्यसैको जीवनमा अपार दुःख र औडाहा ! अझ त्यसमाथि आफ्नो जुनीको आफैँ मालिक हुन खोज्ने तिमी हामी उल्टै डाका ?’ ‘डाका’ शब्दमा हरि दाइको स्वर गज्र्यो । ऊ सतर्क देखियो । अनि कोठामा सरक्क आँखा घुमाउँदै अलि शान्त स्वरमा उसले भन्यो, ‘चोर सज्जन र सज्जन चोर हुने यो अपराधी चलन हामी अब पल्टाइदिन्छौँ । हँ सेते, जीवनको रस निचोरेर जल्ले उज्यालो बनाउँछ, आज त्यसकै जीवन किन यति अँध्यारो ?’ त्यो परिचित वचन हरि दाइका मुखबाट निस्केको देखेर सेतेले पालैपालो विद्यार्थीहरूलाई हेर्यो । ‘कुलेका पाउको धुलो भएर एकबारको जुनी यसै बर्बाद गर्ने हो त हाम्ले ? हँ सेते ?’ हरि दाइको झिरजस्तो प्रश्न सेतेको आत्माभित्र झ्वाम्मै गाडियो ।
‘लड्ने !’ उत्तेजित हुँदै सेतेले भन्यो, ‘म त्यस कुले अपराधीलाई... ।’ सेतेले उर्लंदो आवेगलाई अदपमा राख्न सकेन । जीवनभरिको अपमान र थिचोमिचोको कष्ट जमेको सेतेका हृदयको अचल तलाउमा हरि दाइले आज चेतनाका ढुङ्गो हान्यो र त्यसमा विद्रोहका नजानिदा तरङ्ग उठे ।
‘ज्यान हत्केलामा राखेर यत्रायत्रा महल ठड्याउने हाम्रै बाउबाजे !’ हरि दाइले महलको उचाइ नाप्दै हात र आँखा माथि उठायो । खाउँलाउँ भन्ने रहरलाग्दो उमेरमै धुरीबाट खसेर ज्यान गुमाउने पनि हाम्रै बाउबाजे । अझ उल्टै हामी बहर गोरु ! हामी काँचो बायुका पिराहा सन्तान ? हामी डाका ?’ आफ्नो मनका आफैँले बुझ्न नसकेका भावना देख्ने हरि दाइका आँखा सेतेले आँखै नझिम्क्याई हेर्यो ।
‘सेते !’ हरि दाइले उसको हात समातेर सोध्यो, ‘तिम्रो उमेरका साहु–महाजनका छोराछोरी के गर्छन्, थाहा छ ?’ अलिबेर पर्खेर उसैले जवाफ दियो, ‘पढ्छन्, सिनेमा हेर्छन्, बनभात खान्छन्, नाचगान गर्छन्, मोजमज्जा लुट्छन्, नोकर चाकरलाई खिसिट्युरी गर्छन् । भन त, पढ्ने रहर गर्दैमा तिम्रो के गति भो ? कुलेले तिम्रा मुखमा थुक्यो, थैलीले तिम्रो खप्पर फोरी, विद्यार्थीले गाली खाए । एकातिर मोजैमोजको हाँसो, अर्कातिर दुक्खैदुक्खको रुवाबासी । अनि यसको नाउँ इन्साफ ! अनि यसैको नाउँ भाग्य ! कति दिन बेर्होने हो यो नर्कको जुनी ?’
अनुहार अमिलो पार्दै थैलीले सोधी । ‘सख्खापै त पार्नु हुँदैन है, बुढा !’
सेतेले हरि दाइको हात मसक्क समात्योे र उदेक मान्दै उसलाई ट्वाल्ट्वाल्ती हेर्यो । उसको जीवनको जम्मै रहस्य हरि दाइलाई कन्ठै रहेछ । अचम्म ! यस्तो कसरी हुन सक्छ ? अलमलमा परेको सेतेले तर्क गर्यो । विद्यार्थीको काम हुनुपर्छ यो, उसले मनमनै कुरा खेलायोे । यो सब उसलाई अचम्मको रङ्गीन सपनाजस्तो लाग्यो । नसा–नसामा नौलो उत्तेजनाका छाल दगुरेको अनुभव गर्दै ऊ हुनुसम्म जिल् पर्यो ।
‘भन त सेते,’ कुलेको सम्पत्तिको रास आकाशबाट खस्या हो त ?’ हरि दाइले फेरि भन्यो, ‘ठिक भन्यौ, होइन । कुले निहुरेर भुइँको सिन्कोसम्म पनि उठाउँदैन, उठाउँछ त ? साँचो भन्यौ, उठाउँदैन । थैली मासुको थुप्रोले थिचिएर राम्ररी हिँड्न पनि सक्दिन, सक्छे त ? यो धनको खोलो कताबाट बगेर आउँछ त त्यस्का कन्तुरमा ?’
‘गरिबको ज्यान चुसेर । गरिबलाई मारेर ।’ सेतेले दबेको स्वरमा जवाफ दियो ।
‘ठिक भन्यौ, पच्चिसै आना ठिक । कुले भनेको मान्छे खाने मान्छे हो । हजारवटा सुँढ छन् त्यस्का, आँखाले नदेखिने सुँढ । ती सुँढ गाउँगाउँमा फिँजिएका छन् । बाह्रैमास ती सुँढले कस्लाई चुसिरहन्छन्, सेते ? ‘काँचो बायु’का टुहुरा सन्तानहरूलाई । तिनले बिपनामा पनि चुस्छन्, सपना पनि चुस्छन् ।’
सेतेले कुलप्रसादले देखाउन लगेको ‘नौलो संसार’ झलझली सम्झ्यो । भोका बाँदरजस्ता कङ्गाल मगर र कुमालहरूको अचाक्ली दुःखी संसार । हो, कुलेको एउटा अदृश्य सुँढ त्यसै संसारका कङ्गालहरूका मुटुमा गाडिएको हुनुपर्छ ।
नजिकैको पुलिस चौकीले एक बजेको घण्टी ठोक्यो । उत्तर फर्केको झ्यालबाट हावाको चिसो लहर कोठामा पस्यो । कोठा पलभर चकमन्न भयो । खाटमा भित्तापट्टि सुतेको विद्यार्थी सपनामा बर्बराउन थाल्यो ।
‘आधारात ढल्क्यो ।’ हरि दाइले भन्यो, ‘यहीँ सुते हुन्न, सेते ?’
‘जान्छु ।’ सेतेले भन्यो । सके उसलाई ब्युँझाउन कुलप्रसाद अघि नै टहरामा चढिसक्यो होला ।
‘घर कहाँ हो दाइ तपाईंको ?’ छुट्टिने बेलामा सेतेले सोध्यो ।
‘जहाँजहाँ अत्याचार छ, त्यहीँ । जहाँजहाँ काँचो बायुका सन्तानहरू बस्छन्, त्यहीँ ।’
‘दाइ, म भोलि पनि आऊँ ?’
‘किन ? कुरामा रस बस्योे ?’
‘म पढ्छु दाइ ! मलाई पढ्ने रहर छ ।’
‘राम्रो !’ हरि दाइले सेतेको कुम थपथप्यायो ।
हरि दाइको हात लम्क्यो र सेते अलमलियो । बिँडी मागेको पो हो कि ? उसले खल्ती छाम्यो । बिँडी सिद्धिएछन्, ऊ निराश भयो । हरि दाइले उसको हात च्याप्प समात्योे र हल्लायो । सेतेको छाती ढक्क फुल्यो ।
‘म तिम्रै टहरामा आउँला, मौका पारेर, राति–राति... ।’
सेतेलाई पत्यार लागेन ।
‘कुलेले चाल पाउला कि ? कसो, डर लाग्छ ?’
‘परिआए म त्यससँग लड्छु । म, म त्यसका घुँडा...’ आवेगले सेतेको स्वर अकमकियो र रिस उसका आँखामा थुप्रियो ।
‘एक्लै ?’ हरि दाइको मुन्टो दाहिनेतिर झुक्यो
‘म, म... ।’
‘ठिक छ ।’ हरि दाइले भन्यो । ‘तर हेर भाइ ! बुद्धिले सोच्नुपर्छ, जुक्तिले काम गर्नुपर्छ । यो नर्कको जुनी फेर्र्नलाई चारोटा काम गर्नुपर्छ हामीले । हो, चारोटा ।’
हरि दाइले चार औँलाले देखायोे । अनि औँला भाँच्दै उसले बेलीविस्तार लगायो, ‘पहिलो काम हो— आँखाको पट्टी खोल्ने । दोस्रोे काम हो— हामी गरिबजति एक फेट हुने । यो भित्तो केले बनेको छ, सेते ?’ उसले पक्की भित्तोमा मुक्का बजार्यो । ‘यो इँटा, सिमन्टी र बालुवाले बनेको छ । हो, हामी गरिब एक फेट भएपछि यस्तै पर्खाल बन्छ, बज्रसरि कडा पर्खाल । कुलेको मुक्काले त्यो ढल्छ त ? ठिक भन्यौ, बरु त्यस्को ज्यानै ढल्छ ।
अनि तेस्रो काम...’ एकछिन घोरिएर ऊ कुराको पोयो बाट्दै गयो, ‘अँ, तेस्रो काम हो— कुलेजस्ताका सुँढले चुसेको हाम्रो कमाइ खोस्ने । र चौथो काम हो— कुले जस्तालार्ई पछार्दै आफ्नो जिन्दगानीको लगाम आफ्नै हातमा लिने । मेरो कुरो कस्तो लाग्यो त, भाइ ?’ हरि दाइले दुवै हातले सेतेको हात समात्योे । सेतेका आँखामा अनौठो उत्साह लहरायो ।
‘हरि दाइ !’ सेतेले भन्यो, ‘म बाटो हेरौँ त ?’
‘पत्यार लागेन कि कसो ?’ हरि दाइले सेतेलाई अँगालो मार्यो ।
‘दाइ, म पढ्छु ।’ अबोध बालकले आमासँग पापा मागेझैँ सेतेले हरि दाइलाई तालुदेखि पाउसम्म सर्सरी हेर्यो ।
‘नकरा राँण ।’ कुलप्रसादले झपार्यो । ‘एक–एक पैसोको हिसाब बुझाउनुपर्ने तँ फुँणीलाई ?’
‘चङ्ख भएर बस्नू ।’ हरि दाइले सम्झायो, ‘कुलेले सुइँको नपाओस् नि ।’
चिसो स्याँठमा लुगलुग काम्दै सेते मूल सडकैसडक चौबाटोमा पुग्यो । हृदयको अन्तरमा भने ऊ निकै नै हौसिएको थियो ।
००
‘आज केको हस्याङ र फस्याङ् हो बुढा आधारातदेखि ?’ कुलप्रसादका अनुहारको बेचैनी देखेर थैलीले चिन्ता प्रकट गरी । ‘चैनसँग खानसम्म नभ्याउनु, केको चटारो हो यस्तो ?’
‘तँ नकरा राँण ।’ झर्किंदै कुलप्रसादले भन्यो, ‘आफूलाई कत्रो आपत् पर्या छ, तँलाई भने... ।’
नभन्दै आज कुलप्रसादको अनुहारमा कालो बादल लागेको थियो । ऊ ब्याङ्कमा चारपल्ट धायो । सीडीओसाप् र निस्पेटरसाप्साप्को चाकरीमा दुदीपल्ट । आफ्नो गोप्य खोपीका जम्मै झ्यालढोका थुनेर उसले दिउँसै बत्ती बाल्यो, घरीघरी कन्तुर उघार्यो, भुइँभरि नोटका बिटा फिँजायोे, अनि गन्यो । फेरि फिँजायोे अनि फेरि गन्यो । उसको अनुहार तनावपूर्ण थियो, ओठ कलेँटी परेका थिए र आँखामा चिन्ता र छटपटी टड्कारै थियो । एकै रातमा ऊ दश वर्ष बुढो भएझैँ देखियो ।
‘मलाई आपत् आइलाग्यो, बुढी !’ झमक्क साँझ परेपछि भुइँमा नोटका बिटा फिँजाएर औँलामा थुक लगाएर गन्दै सय–सय र हजार–हजारका बिटा बाँध्दै कुलप्रसादले थैलीका काखमा दुःख बिसायो ।
‘हँ, बुढा ?’ भुइँभरि नोटका बिटाको बिस्कुन देखेर उदेक मान्दै थैलीले पोईलाई हेरी ।
‘गड्बडी मच्च्यो, बुढी ।’ साउतीको स्वरमा कुलप्रसादले भन्यो, ‘गाउँभरि अशान्ति मच्च्यो ।’ तीनपल्ट गनिसकेका नोटका बिटा फेरि फुकाएर खुबै हेक्का राख्दै मसिनो स्वरमा एक, दुई भन्दै उसले फेरि गन्न थाल्यो । ‘गाउँभरिका डाका एकगठ भएर उठे ।’ यसो भन्दा उसको स्वर गलामै बिलाउलाजस्तो भो । ‘हरे ! कम्निस्टी चोरहरूले जगतै भाँडे ।’ कसैले अदृश्य भएर कुरा सुन्दै छ पो छ कि ? ऊ त्यसैत्यसै अत्तालियो । अनि दाउ मारेको अनिदो जुवाडेले सोहोरेझैँ गरी उसले हत्तपत नोटका बिटा सोहोर्यो र थपक्क झोलामा हाल्यो ।
‘हिजोको आजै केको उपद्रो हुन आँट्या हो यो ?’ पोइका चाउरी परेका गाला र नुर गिरेका आँखा हेर्दै थैलीले रुन्चे स्वरमा भनी, ‘हे भगवान् !’
‘अब जिउ–धनको रक्खे गर्न मुस्किल पर्ने भो, बुढी !’ लोग्नेले सुस्केरा हाल्यो ।
दुःखका कुरा गर्दै बुढाबुढी भुइँतलाको चुलोमा गए ।
‘इमान–जमान क्यै रहेन अब ।’ पछुतो मान्दै, हत्केला चुलामा तताएर आँखा सेकाउँदैै कुलप्रसादले बिलौना गर्यो । ‘नोकर छुसी मालिकसँग जोरी खोज्ने ! कङ्गाल सेठमाथि जाइलाग्ने !’ एउटा अश्लील वचन उसको मुखबाट निस्क्यो र उसले घिनलाग्दो भावमा पिच्च थुक्यो । ‘मालिकको जग्गा खोस्न तम्सिने, छादुन्जेल घिचेको अन्न नतिर्ने । अझ त्यतिले नपुगेर तमसुक डढाउने, मालिकलाई घेर्ने, गाली बेइज्जती गर्ने, बिएमानी गुण्डाहरू !’ कुलप्रसादले दारा किट्यो । अनि मुर्मुरिँदै भन्यो, ‘मोसो दल्ने रे लौ मालिकहरूलाई । जिजुबाजेका पालादेखि चलिआएको रीतिथिति तोड्ने, त्यस्सिमाका भँडुवा चोर ।’
सेते ढोकाबाहिर सास दबाएर उभियो ।
‘यिनलाई नमासीकन म...’ कुलप्रसाद मुर्मुरियो । ‘यिनको बिउ नमासी... ।’ लोग्नेको बर्बराइ सुनेर थैली कहालिई । कुलप्रसादले कमेजको खल्तीबाट नोटको बिटो झिक्यो र हत्केलाले तौलेझैँ गर्यो । उसको अनुहार तैबिसेक शान्त भयो र उसका आँखामा धिपधिपे आशा उदायो ।
‘कल्लाई दिन ठिक पर्या हौ बुढा यो पैसा ?’ पोइको जिउमा टाँसिएर थैलीले साउती गरी ।
‘अलि बिस्तारो बोल् !’ आतङ्कित आँखा ढोकातिर फाल्दै कुलप्रसादले भन्यो, ‘सीडीओसाप्, निस्पेटरसाप्... कुरो कतै चुहाउलिस् नि फेरि !’ उसले मुन्टो हल्लायो । ‘जाने यै धनले ज्यान जोगाउँछ, नजाने यै धनले ज्यान मार्छ ।’
‘कति दिन आँट्या हौ नि ?’
अनुहार अमिलो पार्दै थैलीले सोधी । ‘सख्खापै त पार्नु हुँदैन है, बुढा !’
‘नकरा राँण ।’ कुलप्रसादले झपार्यो । ‘एक–एक पैसोको हिसाब बुझाउनुपर्ने तँ फुँणीलाई ?’
थैलीले मुन्टो निहुराई । कुलप्रसादले नोटको बिटो आँखैनेर लगेर हेर्यो र हत्तपत्त खल्तीमा लुकायो ।
‘लाख रुपियाँ बच्छ भने दश–बिस हजारको के मतलब ?’ स्वास्नीको मन बुझाउन खोजेझैँ गरी कुलप्रसादले आफैँलाई सान्त्वना दिन खोज्यो । ‘छोराले मौकाँ कमाउँछ, मौकाँ उडाउँछ ।’ फस्फस् चुरोट उडाउँदै उसले भन्यो, ‘यसपालाका सिडिओसाप् साह्रै जाती छन् क्या, बुढी ! साक्षात् परमेश्वर बराबर । त्यो निस्पेटर त झन् आफ्नै छोरोजस्तो छ । कुलघरान देखेकै मान्छेले ठुलाबडाको मान राख्न जान्दछ, बुझिस् ? त्यस्तै सारोगारो परिआएछ भने ढोकामै पुलिस राखिदिने भा’छन्, बन्दुकै बोकेर । जाबो दश–बिस हजार भनेको मेरा लागि पैतालाको धुलो बराबर ।’
बाहिर कसैले खोकेको सुनेर कुलप्रसाद झसङ्ग भयो । सशंकित हुँदै ऊ उठ्यो र बिराले चालले ढोकासम्म गयो ।
‘कुराको गन्ध सुँघ्दै बस्या छस्, चोर !’ कुलप्रसाद घरै थर्किने गरी करायो र सेतेको घाँटी अँठ्याउने सुरले उसमाथि झम्ट्यो । सेते कुद्दै कलधारानेर पुगिहाल्यो ।
‘भैँसीलाई कुँडो ख्वार भर्खरै आउँदै छ बाजे यो ।’ धारामा हातगोडा धुन लागेको माइलो मगरले भन्यो । ‘मेरै आँखाले देख्या हुँ ।’
‘चुप्, तेरो पनि भरविश्वास छैन ।’ कुलप्रसादले खुट्टो थचार्यो । ‘तिमेरु सप्पै चोर हौ । मालिकको द्रोह गर्ने, चलेको चलन नमान्ने । बुद्धिले गु खाएपछि बाँदा पनि छाडा हुँदोर’छ साला ।’
‘कति घाँटी सुकाउँछौ बुढा त्याँ ?’ थैलीले भित्रबाट लेग्रो तानी ।
‘नचला राँण थुतुनो । डामुला तेरो पनि जिब्रो !’
वातावरण चकमन्न भयो ।
‘मेरो घर भाँड्ने तैँ होस् ।’ सेतेलाई कपटी आँखाले डस्दै कुलप्रसादले दागा धर्यो, ‘पख् तँलाई । रातभरि टहराँ बत्ती बल्छ रे अचेलभरि । के चोर्ने गर्याछस् तैँले ?’
‘साह्रै वचन नलाउनोस् है बाजे ।’ रिस थाम्न नसकी सेतेले भन्यो । ‘मेरा पनि छन् मान्छे,’ उसले हरि दाइलाई सम्झ्यो अनि उसको छातीमा आँट र आशा जुर्मुरायो । ‘संसारमा कोही पनि सधैँ एक्लो हुँदैन ।’
‘मेरा पनि छन् मान्छे ।’ कुलप्रसादको हात खल्ती छाम्न पुग्यो । उसले आफ्नो घरको मूल ढोकामा बन्दुक बोकेर पुलिस उभिएको दृश्य कल्पना गर्यो अनि उसको अहंकार तीन हात माथि उठ्यो । ‘जम्मै बाँदाको सास निभाइदिने मान्छे छन् मसँग । सित्तिमा अर्काको धनमा आँखा गाड्ने डाका हो !’
‘बाजे ! सधैँभरि कोही कसैको बाँदा हुँदैन, बुझ्नु भो ?’ सेतेले मनको तितो पोख्यो । ‘मुख छ भन्दैमा नभन्नोस् मनपरी । हाम्रा पनि होलान् मुख ।’
‘नर्क खाने तेरो मुख ।’ कुलप्रसादका ओठ कामे । ‘मेरै घराँ बाँदा बसेर मेरै विरोधमा तँ रात–दिन कुमिटी गर्ने तँ ! भन्, कहाँ चोर्न जान्छस् तँ रातैपिच्छे ?’
‘कस्को के चोरेँ र मैले ?’ सेते रन्कियो । ‘आफ्नै नाउँ काड्न त कागले मात्तै जान्दछ ।’ सेतेले मुठ्ठी कस्यो र कुलप्रसादको फुकिढल जिउ आँखैआँखाले तौल्यो । ऊ एक–दुई पाइला अघि बढ्योे । उसका कानमा हरि दाइको वचन गुन्ज्यो, ‘एक्लै लड्ने, सेते ?’ बुद्धिले सोच्नुपर्छ, जुक्तिले काम गर्नुपर्छ ।’
सेते मूर्तिझैँ टक्क अडियो ।
‘यी बाँदाभन्दा तल परेर बाँचेछु भने म नकुल काँजीको छोरो कुले हुइँन, ए रात्तै !’ शेखी गर्दै कुलप्रसाद भित्र पस्यो, ‘गए जाला रे लौ यै सिरिखुरी सम्पत्ति । ए रात्तै !’
बाँकी पछि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान सेनापतिद्वारा भारतीय मिलिटरी एकेडेमीमा कवाज निरीक्षण तथा अवलोकन
-
बाढीपहिरोबाट पीडित ४२ प्रतिशत बीमितले पाए भुक्तानी
-
शकुन्तला जोशीका तीन कविता
-
स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रम जारी
-
पत्रकार महासंघ लुम्बिनीकाे अध्यक्षमा चाैलागाईं विजयी
-
बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइन : सांसद साउद