शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय
धर्म-संस्कृति

योगिनियाको योगिनी माई मन्दिर

शनिबार, २९ मङ्सिर २०८१, १४ : ००
शनिबार, २९ मङ्सिर २०८१

सप्तरी जिल्लाको एक चर्चित गाउँ हो, जोगिनियाँ (योगिनिया)  । साधारण बोलीचालीमा ‘य’को उच्चारण ‘ज’ हुन्छ । त्यसैले योगिनियालाई जोगिनिया भनियो । 

प्रजातन्त्र आएपछि स्थानीय गाउँ र नगरहरू संगठित हुँदै जाँदा कोशी नदीको पश्चिमी किनारमा सातपट्टीका नामले परिचित सात गाउँ लगायत गाउँहरूको एक गाउँ पञ्चायत गठन भयो, जसको नामकरण यहाँ अवस्थित प्रसिद्ध योगिनी माई (मन्दिर) को नामबाट योगिनिया गाउँ पञ्चायत भयो । सातपट्टीका सात गाउँमा गोठटोल, बेलहा, अण्डीपट्टी, कदमाहा, डगराहा, कोरयानी र बलुवाहा पर्छन् ।

२०३२ सालमा यस पञ्चायतलाई दुई भागमा विभाजित गरी १ नम्बर योगिनिया गाउँ पञ्चायत र २ नम्बर योगिनिया गाउँ पञ्चायत कायम भयो । २०४८ सालमा साबिककै स्वरूपमा दुइटै गाउँ विकास समिति भए । गणतन्त्रको बहालीपछि यी दुईसँगै गोबरगाढा, इनरुवा र हनुमाननगर गाविसलाई जोडेर हनुमाननगर योगिनीमाई नगरपालिका गठन भयो । पछि साबिकको हनुमाननगर योगिनीमाई नगरपालिकामा रामपुरा, मल्हनियाँ, भारदह, पोर्ताहा, मधवापुर गाउँ विकास समितिलाई थप गरी हालको हनुमाननगर कंकालिनी नगरपालिका बनेको छ ।

राजविराज–हनुमाननगर–भारदह सडकको योगिनिया चोकदेखि केही उत्तरमा सडकको पूर्वतिर एउटा विशाल पोखरी छ, योगिनीमाई पोखरी । यसै पोखरीको पश्चिमपट्टिको डिलको ठिक बिचमा योगिनी माई मन्दिर अवस्थित छ । 

पौने तीन बिघा जमिनमा फैलिएको यस पोखरीको चार दशकअघि पुन्द्रनारायण सिपलिया यादव प्रधानपञ्च रहेका बेला जीर्णोद्धार गरिएको थियो । यसै डिलमा योगिनी माई मन्दिरको दक्षिण भागमा रामजानकी, महादेव, पार्वती, गणेश, हनुमान, राधाकृष्ण मन्दिर लगायत मन्दिर छन् ।

Yognimai Photos (3)

यस योगिनी माई मन्दिरदेखि एक माइल पूर्व–उत्तर भीम बाँधछेउ जमुवा गाउँमा वैष्णोदेवीको मन्दिर छ, जो वडा ८ मा पर्छ ।  यस वैष्णोदेवी मन्दिरदेखि उत्तर जाँदा पूर्व–पश्चिम राजमार्गको कोशी ब्यारेजको पश्चिमी भित्तामा कंकालिनी मन्दिर छ, जो यसै नगरपालिकाको वडा १ मा पर्छ । यस योगिनी माई मन्दिरदेखि दक्षिणतर्फ अर्थात् वडा ७ मा पर्ने हनुमाननगरमा हनुमान मन्दिर रहेको छ । 

योगिनी माई मन्दिर र हनुमान मन्दिरको बिच अर्थात् राजविराज–हनुमाननगर–भारदह सडकको पूर्वपट्टि डिहवार थान छ, जहाँ महादेव एवं भगवतीका छुट्टाछुट्टै मन्दिर छन् । 

  • तपस्विनीको समाधि

यस मन्दिरमा पुजिने योगिनी देवीको स्थापना कहिले भयो भन्ने कसैलाई थाहा छैन । यहाँका वृद्ध पुजारी (कपिलेश्वर मुखिया) लगायत स्थानीयले यति मात्र भन्छन् कि उनीहरूका पूर्वजले यहाँ पूजाआजा गर्दै आएका थिए, जसलाई सन्तान दरसन्तानले अनुसरण गर्दै आएका हुन् । 

योगिनी माई मन्दिरभित्र माटोको थुम्को वा पिण्ड छ, जसलाई प्राचीन कुनै देवी, साध्वी वा योगिनीको समाधिका रूपमा विश्वास गरिन्छ । यही माटोको थुम्कोमा पूजाआजा गरिन्छ । 

योगिनी माई मन्दिरलाई कुनै साध्वी वा योगिनीको समाधिका रूपमा विश्वास गरेको पाइन्छ । पहिले योगाभ्यास, तपस्या वा साधना गर्ने स्त्रीहरू आफ्नो योगशक्ति वा सिद्धिका प्रभावले पूजा–आराधनाका लागि योग्य हुने गर्थे । 

सप्तरी, सुनसरी, मोरङ आदि जिल्लामा वंशखण्डी मठहरू रहेका छन्, जुन कि वंशखण्डी मतका संन्यासीहरूको समाधि नै हुन् । सप्तरीको भेडिया मठ, सुनसरीको रामधुनी, विराटनगर (रंगेली रोड) महादेव मन्दिरसँगैको वंशखण्डी पनि त्यस्तै समाधि हो ।

योगिनी माई मन्दिरलाई कुनै साध्वी वा योगिनीको समाधिका रूपमा विश्वास गरेको पाइन्छ । पहिले योगाभ्यास, तपस्या वा साधना गर्ने स्त्रीहरू आफ्नो योगशक्ति वा सिद्धिका प्रभावले पूजा–आराधनाका लागि योग्य हुने गर्थे । 

हाम्रो पौराणिक आख्यानहरूमा यस्ता अनेकन् योगिनी देवीका कथा पाइन्छन् । वर्तमान लोकाचारमा पनि ठाउँठाउँमा विभिन्न नाम र रूपमा योगिनी देवीको पूूजाआजा हुँदै आएको छ । योगिनियाको योगिनी माई मन्दिर पनि एक त्यस्तै समाधि मन्दिर हो, तर योगाभ्यास वा साधना गर्ने ती योगिनी वा तपस्विनी को थिइन् भन्ने जानकारी कसैलाई छैन । 

किंवदन्ती अनुसार, पहिले यहाँ कुनै जोगिनीको बास थियो, जसको देहलीलाको समाप्तिपश्चात् स्थानीय समुदाय (योगिनियाबासी)ले उनको समाधिस्थल निर्माण गरी पूजाआजा गर्न थाले, जो आजपर्यन्त चलिरहेको छ ।

  • योगिनी

सनातन धर्मशास्त्र अनुुसार योगिनी स्वयं देवी शक्तिकै प्रतिरूप हुन् । योगिनी असंख्य छन्, जसमा चौसट्ठी योगिनी मुख्य छन् । ज्योतिषशास्त्रमा आठ प्रकारका योगिनी (मंगला, पिंगला, धन्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र संकटा) दशा हुन्छन् । 

तन्त्रशास्त्रमा देवी कालीको महत्त्वपूर्ण स्थान रहेको छ र चौसट्ठी योगिनी देवी कालीसँग नै सम्बन्धित छन्, जो देवी शक्तिका विभिन्न रूप हुन् । योगिनी तन्त्रमा यी देवी अत्यन्त शक्तिशाली र रहस्यमयी मानिन्छन् ।

सनातन धर्मको तान्त्रिक परम्परामा देवी शक्तिका ६४ रूपलाई चौसट्ठी योगिनी भनिन्छ । यी योगिनी देवीले ज्ञान, शक्ति, सौन्दर्य, करुणा आदिको प्रतिनिधित्व गर्छन् ।

चौसट्ठी योगिनीको उत्पत्तिका बारेमा विभिन्न आख्यान पाइन्छन् । एक कहानीका अनुसार, देवी कालीले घोर नामक दैत्यको वध गर्नका लागि ६४ योगिनीको रूप धारण गरिन् । 

अर्को आख्यान अनुसार, देवी दुर्गाले ६४ योगिनी आफ्नो शरीरबाट उत्पन्न गरिन् । चौसट्ठी योगिनीमा दश महाविद्या र सिद्ध विद्याहरूलाई पनि गणना गरिन्छ । 

Yognimai Photos (6)

चौसट्ठी योगिनीलाई प्रायः तान्त्रिक मन्दिर र मूर्तिमा चित्रित गरिन्छ । यस्ता मन्दिर प्रायः गुफा वा जंगलमा रहेका हुन्छन् । आध्यात्मिक जीवनको उन्नतिका लागि मानिसले एक साधकका रूपमा योगिनीको पनि साधना गर्ने गर्छन् ।

चौसट्ठी योगिनीको साधना निकै शक्तिशाली मानिन्छ । यस साधनाका माध्यमले साधक देवी शक्तिको कृपा प्राप्त गर्न सक्छन् । चौसट्ठी योगिनीको साधना गर्ने साधकले एक योग्य गुरुबाट दीक्षा लिनुपर्छ । 

चौसट्ठी योगिनीको साधनाका माध्यमले साधकलाई देवी शक्तिको कृपा प्राप्त हुन सक्छ र उसको जीवनमा सफलता प्राप्त हुन सक्छ । साधकमा ज्ञान, शक्ति र करुणाको विकास हुन सक्छ । 

योगिनी माई मन्दिरमा भने व्यक्तिले यस प्रकार कुनै साधना गरेको पाइँदैन । यद्यपि निजी तथा सामुदायिक पूजाआजा गरिनुका साथै केही तन्त्रोक्त उपचारको परम्परा पनि यहाँ रहेको छ । मन्दिरमा नियमित पूजाअर्चनाका लागि एक पुजारी ( कपिलेश्वर मुखिया) रहेका छन् । 

मन्दिरको सञ्चालन व्यवस्थापनका लागि स्थानीय समुदायद्वारा कुनै पनि समितिको व्यवस्था एवं गठन भएको देखिँदैन ।

योगिनी माई मन्दिरमा प्रत्येक वर्ष आषाढ मासमा सामुदायिक रूपमा विशेष पूजा–अनुष्ठानको परम्परा छ । यसमा सामूहिक सौजन्यमा फलफूल, खिर, मिष्ठान्न तथा पूजा विशेष सामग्रीसहित पूजाअर्चना, अनुष्ठान, भगैत, भजन कीर्तन आदि गरी धार्मिक सांस्कृतिक उत्सव मनाइन्छ ।

  • भगैत 

यहाँ समय–समयमा तन्त्रोक्त भक्तिका लागि एक भगैत (महादेव मुखिया) रहेका छन् । भगैत एक विशिष्ट प्रकारको भक्ति हो, जसमा पूजाका सामग्री टक्र्याएर भगैत भन्ने व्यक्तिलाई आराध्यका सम्मुख योग–नृत्य गर्न लगाइन्छ । यसका लागि भक्तजनले सामूहिक रूपमा झ्याली–मृदङ्गको धुनमा विशेष भक्ति गीत गाएर आराध्य देवी वा देवताको आह्वान गर्छन् । यसलाई भगैत खेलिने भनिन्छ । 

केही कालसम्म अनुष्ठान गर्दै जाँदा देवी–देवता प्रशन्न भएर भक्तजनको कल्याणका लागि भगैतमार्फत देवी–देवताको प्रकटीकरण हुने विश्वास गरिन्छ । देवीदेवता प्रकट भएका बेला भक्तजनहरूले क्रमिक रूपमा आफ्नो कुनै संकट मोचनका लागि प्रार्थना गर्छन् । त्यतिबेला देवीदेवताका दूत बनेका भगैतले संकट निवारण वा समस्याको समाधानका उपाय बताउँछन् । भगैतमार्फत केही क्षणका लागि मात्रै देवीदेवता प्रकट हुने विश्वास गरिन्छ । 

योगिनी माई मन्दिरमा भगैत खेलिने लामो परम्परा छ । भगैत खेलिने प्रथा मध्यदेशीय संस्कृतिमा हरेक ग्रामीण समुदायमा विद्यमान छ । 

  • वीर योगिनियाबासी 

सातपट्टीका सात गाउँमध्ये सबैभन्दा पुरानो र चर्चित गाउँ योगिनियालाई वीर र साहसीको गाउँका रूपमा लिइन्छ । पहिले–पहिले डाका लाग्ने समयमा उनीहरू एकजुट भएर सामना गर्थे, डाकाहरूलाई परसम्म लखेट्थे । एकपटक डाकाको हुल आउँदा गाउँलेले वीरतापूर्वक डाकाहरूको सामना गरी लुटपाट गर्न नदिई धपाएका थिए । डाकालाई लखेट्दा डाकाले प्रहार गरेको गोली लागेर पूर्वउपसभामुख गंगा बहडखेर यादवका भाइ दिनेश बहडखेर यादवको मृत्यु भएको थियो । मृतक दिनेशको सम्मानार्थ उनको नाममा यहाँ एक विद्यालय सञ्चालित छ । 

योगिनी माई मन्दिर स्थानीय समुदायको अगाध आस्था र विश्वासको केन्द्र हो । मन्दिर क्षेत्रको धार्मिक पर्यटकीय विकासले पनि हाल गति लिइरहेको छ । यो मन्दिर एक सांस्कृतिक चिह्न पनि हो र यसको विकास त्यही अर्थमा भए गरेमा यस क्षेत्रको महत्त्व बढेर जानेछ ।

काठमाडौँबाहेक योगिनी माईको मन्दिर देशभर यहीँ मात्र छ । यहाँबाट दक्षिण र उत्तर मन्दिरै मन्दिरको लहरो मात्र छैन, यसै लहरमा केही माथि (उत्तर) बढ्ने हो भने कोशी टप्पु वन्यजन्तु आरक्ष पुग्न सकिन्छ, जो एक प्राकृतिक रमणीय स्थल हो । यसरी हनुमान मन्दिर, योगिनी माई, वैष्णोदेवी, कंकालिनी हुँदै कोशी टप्पुसम्मको पर्यटकीय विकासको रेखा खिच्ने हो भने प्राकृतिक–धार्मिक विकासमा ठुलो टेवा पुग्नेछ । र, यस्तो विकासको कामलाई प्रदेश सरकारले नेतृत्व गर्नुपर्छ ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप