मेरा नाति–नातिनाले गुरु र गुरुआमाबाट के सिकुन् ?
सावाँको भन्दा ब्याजको माया भन्छन् । मलाई पनि छोराछोरीको भन्दा अझ बढी माया आँखाका नानी बनेका नातिनातिनाको लाग्छ । उनीहरूले विभिन्न कौशल सिकुन् भन्ने मेरो तीव्र इच्छा छ । उनीहरूको पहिलो पाठशाला अर्थात् घरमा मैले चाहेका बुद्धि–विवेक उनीहरूलाई हासिल गराउन म र मेरो परिवार सक्षम नभएकै हो, असफल भएकै हो । यो तितो सत्यलाई स्विकार्दै मैले तपाईं गुरु–गुरुमाका हातमा यी कलिला मुना सुम्पदै छु ।
अरुका इच्छालाई तुच्छ र मेरो इच्छालाई उच्च ठानिदिनुहोला भन्दै यो फरमान जारी गर्दै छु— पढी बाँची बुझी लिनुहोला ।
मेरा नातिनातिनाले शिक्षा आयोग पास गरी प्रतिस्पर्धामा खरो उत्रेर आएका गुरु–गुरुमा भएको पाठशालामा भन्दा २० किलो तौलका किताब भएको झोला केटाकेटीलाई बोकाउने र चर्काे शुल्कले अभिभावकको ढाड सेकाउने निजी पाठशालाहरू नै गुणस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने सिकुन् । जिन्दगीको अनेक थरी बोझ उठाउने अभ्यासको सुरुवात शिशुहरूले किताबको भारी बोकेर गरुन् र ज्ञानको तौल बढाउने कलामा पछि परे पनि उनीहरूका सन्तान पुस्तकको तौल उठाउने कलामा पछि नपरुन् भन्नेमा उनीहरूलाई सतर्क गराइदिनुस् । मूल्य नतिरी सित्तैमा पाइने कुरा कहिल्यै पनि स्तरीय हुन्न भन्ने उनीहरूले राम्ररी बुझुन् ।
मेरा भुराले स्वाभिमानी बन्ने चेष्टा कहिल्यै नगरुन्, किनकि त्यस्ता मनुवाको दुनियाँमा खैरियत छैन । खुसामदी, चाप्लुसी र चाकरीमा प्रवीण नभई शक्तिमानहरूको प्यारो नभई आफ्ना काम पटाउन सकिन्न वा भनौँ अरुको मन जित्न सकिन्न भन्ने तपाईंहरूबाट उनीहरूले राम्ररी बुझुन् । तपाईंहरूले उनीहरूलाई यस्तो चाप्लुसी कलाले युक्त बनाइदिनुस् कि उनीहरूले आफूलाई सामथ्र्यवान्, भूमिकावान् र भाग्यवान् बनाउन सकुन् ।
तपाईंहरूले उनीहरूलाई यस्तो चाप्लुसी कलाले युक्त बनाइदिनुस् कि उनीहरूले आफूलाई सामथ्र्यवान्, भूमिकावान् र भाग्यवान् बनाउन सकुन् ।
तपाईंहरूले हाम्रा मसिनाहरूलाई सानैदेखि नै १२ पासपछि विदेशको आसतिर लागिहाल्नुपर्छ भनेर सिकाइदिनुस् । यो मुलुकमा बसेर अरूले उन्नति गरेको टुलुटुलु हेर्नेतिर नलागी घरबारी बेचेर वा ऋण–धन गरेर, उफ्रिएर, घुस्रिएर जसरी हुन्छ मुग्लानी हुने विद्या उनीहरूको खप्परमा घुसाइदिनुस् ।
अत्यन्त महत्त्वाकांक्षी उनीहरूका बाजेबजै र बाबुआमाका जोरीपारी, वैरी–विरोधीको मेख मार्नाका लागि महँगा मोबाइल र अटोमोबाइल किनिदिने दायित्व तिमीहरूकै हो भनेर उनीहरूलाई राम्ररी दीक्षित बनाइदिनुस् । ससुराली जाँदा मागेका जुत्ता खोकिलामा च्यापी ससुराली गाउँ आइपुगेपछि मात्र लगाउने तिनका बाजेलाई बिएमडब्लु १२ ब्रान्डको गाडी किन चाहिएको होला भन्ने खुल्दुली उनीहरूको मनमा कदापि रगमगिन नदिनुस् । भलै विदेश गएर कमाउन थालेपछि उनीहरूले यता सुको नपठाउन्, तैपनि तिमीहरूले आफ्ना अभिभावकका लागि डलरका बिटा कमाइदिनुपर्छ भनेर उनीहरूको दिमाग भर्न नछुटाइदिनुस् ।
यी लालाबालालाई ओठको दुध नसुक्दै विभिन्न हतकण्डा जानेका, इमान–जमानलाई अनावश्यक ठानेका संगठनहरूमा लाग्न र झालेमाले समूहमा बाँडिन सिकाइदिनुस् । राजनीतिक दलका कार्यक्रममा सानैदेखि सहभागी हुने तीव्र लालसा उनीहरूमा जगाइदिनुस् । कल्पनामै भए पनि लाएर, खाएर र ओछ्याएर अघाउन उनीहरूलाई सिकाइदिनुस् । नेताहरूले खटाएका बेला आफ्ना संगीसाथीका खप्पर खोजी–खोजी फोर्न समेत पछि पर्नुहुन्न भनेर उनीहरूलाई दह्रो पारी उभ्याइदिनुस् ।
हाम्रा आलाकाँचालाई जङ्कफुड जहर हो भनेर कहिल्यै अर्ती नदिनुस्; चाउचाउ, चिप्स र चिजबल जस्ता दोकानीका माल रित्याउने कला उनीहरूमा राम्ररी खाँदिदिनुस् । सानैदेखि माया–प्रीतिका गाना–बजानामा कम्मर मर्काउन सिकाइदिनुस् । अझ सकेसम्म छिमेकी मुलुकका फिल्मी गीतमा उफ्रिन उनीहरूलाई काबिल बनाइदिनुस् । ‘अरली काँडैले मलाई च्वास्सै च्वास्सै’ वा ‘मलाई बिस्तारले पोल्यो’भन्नेजस्ता गीतमा मच्ची–मच्ची नाच्न उनीहरूलाई अभ्यस्त बनाइदिनुस् । राष्ट्रिय गीतमा वा बालगीतमा नजानी–नजानी हल्लिए मात्रै पुग्छ भन्ने सत्यवचन उनीहरूको दिमागमा घुसाइदिनुस् ।
यी बच्चाबच्चीमा हाम्रो भाषा संस्कृति बेकम्मा हो भन्ने छाप राम्ररी पारिदिनुस् । भाषा माध्यम हो, साध्य होइन भन्ने सत्य–तथ्य भुलेर पनि उनीहरूको दिमागमा नरोपीदिनुस् । टुटेफुटेको भए पनि वा व्याकरणबाहिरको भए पनि अंग्रेजी फलाक्न सक्नु नै ठुलो खुबी हो भन्ने दासता भाव उनीहरूमा राम्ररी जगाइदिनुस् ।
मेरा नानीहरूको व्यावहारिक पाटोमा पटक्कै चासो नराखिदिनुस् । खाँचो परेका बेला एउटा मामुली निवेदन लेख्न पनि खेतालो खोज्ने विशिष्ट कला उनीहरूमा खाँदीखाँदी भरिदिनुस् । चाहिए मुताबिकको कागजपत्रको सिर्जना गर्न नसकुन् तर रटिरटाउका नमुना ढाँचाहरू फरर भन्न सक्ने उत्कृष्ट कलामा उनीहरूलाई प्रवीण बनाइदिनुस् । राज्यको शिक्षा नीति नै सैद्धान्तिक पाराको छ भने आफूहरू राज्यको नीतिमा बाधक बन्नु हुँदैन भन्ने तपाईंहरूले नभुलिदिनुस् ।
तपाईंहरूले हाम्रा मसिनाहरूलाई सानैदेखि नै १२ पासपछि विदेशको आसतिर लागिहाल्नुपर्छ भनेर सिकाइदिनुस् । यो मुलुकमा बसेर अरूले उन्नति गरेको टुलुटुलु हेर्नेतिर नलागी घरबारी बेचेर वा ऋण–धन गरेर, उफ्रिएर, घुस्रिएर जसरी हुन्छ मुग्लानी हुने विद्या उनीहरूको खप्परमा घुसाइदिनुस् ।
मेरो अनुनयविनय के छ भने परिवार समाजको सामीप्यताको साटो सबै कुरा छोडी पुच्छरमा हात भनेझैँ गरेर बाह्र घण्टा इन्टरनेटमा भुल्न, केही घण्टा फ्री–फायरमा रमाउन र केही घण्टा पब्जीमा रमाउन उनीहरूलाई दक्ष बनाइदिनुस् । तपाईंंहरूले पनि वनको काँडालाई तिखार्नुपर्दैन आफैँ तिखारिन्छन् भन्ने कथन आत्मसात् गरिरहनुस् ।
बाजेबजैलाई छोराछोरीभन्दा पनि बढी नातिनातिनाको माया हुन्छ भन्ने मान्यतालाई निरन्तरता त दिनुस् तर नातिनातिनालाई बाजेबजैका सामीप्यमा बस्न, हाँस्न र उनीहरूबाट बानी–व्यवहार सिक्न उनीहरूका दन्ते कथा सुन्न नबहकाइदिनुस् । केटाकेटीले बहुमूल्य समय मोबाइल, टीभी, कम्प्युटरजस्ता विद्युतीय सामग्रीमा सानका साथ रनभुल्ल पर्दै गुजार्नुपर्छ भन्ने छाप उनीहरूको मगजमा पारिदिनुस् ।
व्यवहार निर्माणका लागि सामाजिक अन्तक्र्रिया, सांस्कृतिक हस्तान्तरण र पुख्र्याैली पेसागत सीपको आन्तरिकीकरण बेतुकका कुरा हुन्, फोस्साका किस्सा हुन्, नालायकले अलाप्ने गथासा हुन् भन्ने मगजमा घुसाइदिनुस् ।
मेरा नानीलाई संस्कारको झमेलामा नअलमलाई दिनुस् । ‘संस्काराद् द्विज उच्यते’ अर्थात् मान्छेले संस्कारबाट परिमार्जित भएपछि दोस्रो जन्म लिन्छ वा भनौँ द्विज बन्छ भन्ने तिनका कानमा नपारिदिनुस् । एकान्तमा बसेर कोठेराजा वा कोठेरानी बनेपछि संसार जितिन्छ, सम्राट बनिन्छ भन्ने दिव्य ज्ञानले उनीहरूको हृदय चम्काइदिनुस् । प्रत्यक्ष वार्ता होइन, स्न्याप च्याट वा अन्य च्याट अत्यन्त उपयोगी र साह्रै प्रभावशाली छन् भन्ने सत्य सन्देश उनीहरूलाई सुनाइदिनुस् ।
शक्तिको अभ्यास गर्ने राजनीतिक तहमा तपाईंको पहुँच पुग्यो भने काँचो माटोको रूपमा रहेका केटाकेटीका लागि सबैभन्दा कम रकम बजेटमा विनियोजन गर है भनेर उनीहरूको कान भरिदिनुस् ।
मेरा लालाबालाको दिव्य चक्षु ‘जसको लाठी उसैको भैँसी’ भन्ने दिव्य ज्ञानले उघारिदिनुस् । यो २१औँ शताब्दीमा ज्ञान, विवेक र तर्कले होइन बरु बलमिच्याइँले प्रतिस्पर्धीको वा विरोधीको रामधुलाई गरेर अघि बढ्नुपर्छ भन्ने अमृतमय जीवनकला सिकाइदिनुस् ।
कदाचित् मेरा सन्तान सामुदायिक पाठशालाका शिक्षक बने भने तिनीहरूलाई आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमा कदापि नपढाउनका लागि सतर्क बनाइदिनुस् । आफूले पढाउने विद्यालयमा पढाएर उनीहरूले सन्तानलाई हीनताबोधले कर्कलो गलाएझैँ नगलाउन् ।
आदरणीय गुरु–गुरुमाहरू ! मेरा बच्चाहरूको भविष्य निर्माण गरिदिने गहन जिम्मेवारी तपाईंंहरूलाई सुम्पेको छु । जमाना सुहाउँदो सबै कला तपाईंंहरूबाट उनीहरूले सिकुन् । छल, प्रपञ्च, धुत्र्याइँ जे–जति मात्रामा चाहिन्छ त्यति–त्यति मात्रामा सिकेर उनीहरू युगसापेक्ष बनुन्, माहिर बनुन्, काबिल बनुन्, योग्य बनुन् । मेरो अर्जी यही नै छ ।
(लेखक नेपाल सरकारका अवकाशप्राप्त उपसचिव हुन् । तुम्कोट, सन्धिखर्क– १, अर्घाखाँचीबाट ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दिलीप नाथ भन्छन्, ‘स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो’
-
संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
-
पत्रकार महासंघ निर्वाचन : निर्मला शर्माले ३०९२ मत ल्याउँदा रमेश विष्टको कति ?
-
बागमती किनारमा महिलाद्वारा आत्मदाहको प्रयास
-
सेतेको संसार– ३
-
पत्रकार महासङ्घ ललितपुर निर्वाचन : रमेश विष्टको अग्रता