शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

प्रिय इन्दु !

शनिबार, २९ मङ्सिर २०८१, १३ : ०५
शनिबार, २९ मङ्सिर २०८१

अरुण पश्चिम क्षितिज पुगेर
डुब्ने तरखर गर्दै गर्दा
उदास साँझको आँगनीमा
उदास म अनि मेरो मन
सन्न्यासी अरुण अस्ताउन सकेको थिएन
नीलो छायामा केही सेतो बादलको 
बुट्टा सहितको आकाश 
दिनले उज्यालो मै जन्माएको बेहोस इन्दुको कोमल अनुहार;
समयको फूलपातीले सजिएको 
सेतो बादलको अट्टालीमा दुलहीको रमाइलो झलक
प्रिय इन्दु ।

चरी फर्के गुँड दैनिकको अन्त्य गर्दै;
दिनको अन्त्यमा अरुण  सुत्दा,
आकाशका नीला पर्दाहरू सजाउँदै टिलपिल 
चम्केको  एक हुल ताराहरूको साथमा 
इन्दु चम्कँदै थियो ।
टाढा-टाढा सम्मको अँध्यारो अन्धकार चिर्दै,
गतिमा विभाजित भएका
फाक्कल फुक्कुल अल्छे ताराहरू
बिस्तारै बिउँझेर 
सुदूर उत्तरमा, सलबलाउँछ ।
पातलो धुलोको मैलो पाप्रा हरूले
बादल काखी च्यापेर 
इन्दु छेउछाउ पुगेर 
इन्दुको सुन्दर रूपलाई कुरूप बनाउन खोज्दै छ ।
कठै प्रिय इन्दु ।।
         ~०००~
त्यो अम्बर को निराकार
विशाल रङ्गमञ्चमा चाँदी रङको चमकले ढाकेको इन्दु
म बबुरो भुईँ मनुवा रुखको टुप्पो चढेर 
नजिकिएर छुने  ठुलो भ्रम 
बादलले इन्दुलाई घेरेको छ
पटकपटक फेरि अर्को पटक 
तिनीहरू बादल , वर्षा , चट्याङ्ग मिलेर 
उज्यालो र प्रकाश सबै रङहरू 
खोस्ने जालसाजी गर्दैछ ।
र पनि
इन्दु आफ्नो आश्चर्य जनक औचित्यमा
बैरिको दुस्साहसलाई ओझेल पार्दैछ ।
आहा कति राम्री इन्दु ।।।

नरम र न्यानो प्रकाशले चम्किरहेको अनुहार
 तिम्रो ओजस्वी उज्यालो को आश्वस्त 
 अँध्यारो डरलाग्दो रात बेकार
 सम्भ्रान्त सहर को 
 आलिसान महल देखि 
अभावको पीडामा पिल्सिएका 
सुदूर प्रिय गाउँको झुपडी र दलन,दैलोमा
तिम्रो प्रेमिल उज्यालो उत्तिकै 
प्रिय इन्दु तिमि रातको कोमल उच्च रानी
तिम्रो उपस्थितिले मनहरू उमङ्गले पुलकित 
देख्न सकिने 
छुन नसकिने उदात्त अनुग्रहको साथ;
चम्किलो चमक बोकेर 
सदा चम्किनु
प्रिय इन्दु ।।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप