फिल्म निर्देशक विकासले ल्याए ‘बिटुजी सिद्धान्त’मा नृत्य पुस्तक
![फिल्म निर्देशक विकासले ल्याए ‘बिटुजी सिद्धान्त’मा नृत्य पुस्तक](https://npcdn.ratopati.com/media/news/467477880_1097980988661947_6481747203940150583_n_0mAAvnt6p5.jpg)
काठमाडौँ । फिल्म निर्देशक विकास घले गुरुङ लिखित नृत्य सम्बन्धी पुस्तक ‘नृत्य तथा नाट्य अध्ययन’ सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, वरिष्ठ नृत्य विज्ञ भैरवबहादुर थापा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, प्राज्ञ बखतबहादुर हमाल, नृत्य अनुसन्धानकर्ता भावना कार्की लगायतले पुस्तकको सामूहिक विमोचन गरे ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाटै प्रकाशित पुस्तक ‘बिटुजी सिद्धान्त’ प्रतिपादित रहेको छ । यो एकदमै व्यावसायिक नृत्यको सिद्धान्त हो । यसले नयाँ नृत्य निर्देशक यो क्षेत्रमा अगाडि बढ्न एकदमै सजिलो हुने कार्यक्रममा लेखक गुरुङले बताए ।
‘स्नातकोत्तरको परीक्षा सम्बन्धित निकायले प्रश्नपत्र समेत तयार गरेर उपलब्ध गराउन नसक्दा खाली उत्तर पुस्तिका बुझाउनु परेको तीतो अनुभवले आफूलाई नृत्य विधामा पुस्तक लेख्न प्रेरित गरेको हो’ गुरुङले भने ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नृत्य विधालाई प्राज्ञिक र शैक्षिक प्रणालीसँग जोडेर लैजान ‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गरे । कुलपति राईले मानजगतले उपार्जन गरेको सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्दै नेपाली नृत्य शास्त्रलाई मानवशास्त्रीय दृष्टिकोणले व्याख्या, पुनव्र्याख्यामार्फत् रैथानेकरण गर्न आवश्यक रहेको औँल्याए ।
त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले लेखकले नृत्यलाई ललतिकला विधासँग समेत जोडेर लेखेको भन्दै प्रशंसा गरे । नृत्य अभिव्यक्तिको कलात्मक भाषा भएको धारणा राखेका उनले नेपालको भूगोल, संस्कृति, ज्ञान र परम्परामा आधारित भई सैद्धान्तिककरण गरे मात्र नेपाली नृत्य शास्त्रले पूर्णता पाउने बताए ।
वरिष्ठ नृत्य विज्ञ भैरवबहादुर थापाले ‘पुर्ख्यौली व्याकरण’लाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको भन्दै लेखक गुरुङले ‘बिटुजी’ नृत्य विधि अघि सारेर आफ्नो ‘इथिक्स’ सहित पुस्तक लेखेकोमा प्रशंसा गरे । कुनै पनि व्यक्तिले अनुभव र अध्ययनका आधारमा इथिक्स् तयार गर्नु नै ठुलो कुरा भएकाले त्यसलाई अरुले पछ्याउलान् नपछाउलान् भनेर चिन्ता लिन आवश्यक नरहेको पनि बताए ।
नृत्य अध्येता एवम् अनुसन्धाता भावना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले थोरै भए पनि पूर्ति गर्ने भन्दै नयाँ नृत्य निर्देशकहरुलाई नृत्यको आधारभूत र सैद्धान्तिक ज्ञान पनि दिने बताए ।
प्रज्ञा—प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने ‘सम्पूर्ण’ माध्यम भएको दाबी गर्नु हुँदै नेपाली नृत्य क्षेत्रमा प्रस्तुत पुस्तकले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।
नृत्य क्षेत्रका अनुसन्धाता, लेखक, कलाकारहरूको उल्लेख्य उपस्थिति कार्यक्रममा रहेको थियो । लेखन गुरुङ निर्देशित फिल्म ‘फिच्यो’ केही दिन पहिले युट्युबमा सार्वजनिक भएको छ ।