रिहा भएपछि के भने अल्लु अर्जुनले ?
हैदराबाद । हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को एक सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो । तर, केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो । तर उनी राति रिहा भएनन् । जेलबाट रिहा भएपछि अल्लु अर्जुनले आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । उनले भने, ‘धन्यवाद, म कानुन पालन गर्ने नागरिक हुँ। म कानुनको सम्मान गर्छु। म यस विषयमा पूर्ण सहयोग गर्नेछु।’
अल्लु अर्जुनले दुर्घटनामा ज्यान गुमाएका महिलाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । यद्यपि, उनले भने, ‘यो पूर्णतया अनजानमा भएको थियो तर जे भयो त्यसको लागि म माफी चाहन्छु। म यस परिवारलाई सक्दो सहयोग गर्न सधैँ तयार रहनेछु ।’
कडा सुरक्षा व्यवस्थाका बिच प्रहरीले उनलाई शुक्रबार उनको निवासबाटै नियन्त्रणमा लिएर चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको थियो । कानुनी मामिलाहरूसँग सम्बन्धित समाचारहरू कभर गर्ने वेबसाइट लाइभ लका अनुसार, तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि जमानत दिएको थियो। वेबसाइट बार एन्ड बेन्चका अनुसार न्यायमूर्ति जुवाडी श्रीदेवीको एकल इजलासले पहिलो नजरमा अल्लु अर्जुनलाई यस घटनाको लागि जिम्मेवार ठहराउन नसकिने बताएका थिए । किनभने उनी आवश्यक कुरा लिएर फिल्मको शोमा आएका थिए र अनुमति पनि लिएका थिए।
अल्लु अर्जुनले आफूविरुद्ध दर्ता भएको मुद्दा खारेज गर्न अदालतलाई अनुरोध गरेका थिए । यस विषयमा भारतीय न्यायिक संहिताको धारा १०५, ११८(१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। ४ डिसेम्बरमा अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२ : द रुल’ को रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आएका थिए ।
अल्लु अर्जुनको टोलीले अचानक यहाँ उनको भ्रमणको योजना बनायो र उनी थिएटरमा पुग्ने बित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चियो। त्यतिबेला ठुलो सङ्ख्यामा समर्थक र सुरक्षाकर्मी पुगेपछि भागदौड मच्चिएको थियो । यसै क्रममा त्यहाँ एक ३५ वर्षीया महिलाको मृत्यु भयो ।
यस मामिलामा अल्लु अर्जुनसहित कैयौँ व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार महिलाका श्रीमानको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त