‘रुकुम मैकोट’ले नेपाली संस्कृति विश्वमा चिनायो – राई
काठमाडौँ । फिल्म ‘खुस्मा’को लोकप्रिय गीत ‘रुकुम मैकोट’ युट्युबको ग्लोबल ट्रेन्डिङमा धेरै रहन सफल भयो । गीतले सफलता प्राप्त गर्नुमा शब्द, सङ्गीत र स्वरको अलावा यसको कोरियोग्राफीलाई पनि लिइएको छ । एसडी योगीको सङ्गीत, शान्ति श्री परियार र योगीकै स्वर रहेको गीतका कोरियोग्राफर सुरेन्द्र राई (सुरेन) हुन् ।
सानै उमेरदेखि हिप–हप र नेपाली सांस्कृतिक नृत्यमा लगाव राख्दै आएका उनी गीतले चर्चा पाउनुमा गीतमा समेटिएको सांस्कृतिक पाटो पनि भएको उनी बताउँछन् । ‘नेपाल कलासस्कृतिले एकदमै धनी छ । त्यो हामीले हाम्रो गीतसंगीतमा देखाउन सक्यो भने अन्तर्राष्ट्रिय रूपमा पनि चर्चा पाउँछ’, राईले थपे ‘मैले यो गीतको कोरियोग्राफी गर्दा सम्पूर्ण दर्शकहरूले यसलाई रमाइलो र उत्सवको रूपमा महसुस गरून् भन्ने चाहेको थिएँ ।’ ‘रुकुम मैकोट’ गीत चर्चित हुनुमा यसको मन छुने लोकलय र सरल ‘हुक स्टेप’ रहेको उनी सुनाउँछन् । ‘खुस्मा’का लागि गीतले पनि दर्शक हलसम्म तान्ने काम गरेको थियो ।
बाल्यकालदेखि नृत्य प्रशिक्षक बन्ने सपनाका साथ हिप–हप समूह ‘द वाइल्ड रिपर्ज क्रू’मा आबद्ध हुँदै नेपाल र भारतका विभिन्न प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गर्दै अगाडि बढेका राईले २०१२ मा नेपाल डान्स च्याम्पियन र सन् २०१६ मा ‘इन्डियाज बेस्ट डान्स क्रू’ उपाधि समेत जितेका छन् । भारतीय चर्चित रियालिटी शो ‘डान्स प्लस सिजन २’मा फष्ट रनरअप र ‘डान्स च्याम्पियन’मा सेमिफाइनलिस्ट बनेका उनी नेपालको नृत्य रियालिटी शो ‘सुपर डान्सर नेपाल’का निर्णायक पनि हुन् । कान्तिपुर टिभीबाट प्रसारण भएको यो शोम मार्फत झन् उनले नेपाली नृत्यको विविधता र नवप्रतिभाहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने अवसर पाए । जुन कुरा आफूलाई गर्व र आनन्द लागेको उनी बताउँछन् ।
‘खुस्मा’ अगाडि राईले नेपालकै पहिलो नृत्य विधामा आधारित फिल्म ‘ज्याकी – आई एम २१’ मा कोरियोग्राफी गरेका थिए । उनको कोरियोग्राफी रहेको ‘कबड्डी ३’को गीत ‘दुबो फुल्यो’ पनि दर्शकले निकै रुचाएका थिए ।
सुरेन्द्र फिल्म तथा म्युजिक भिडियो व्यावसायिक र अन्तर्राष्ट्रिय बनाउन कोरियोग्राफीमा अझै मिहिनेत गर्नुपर्ने बताउँछन् । ‘रुकुम मैकोट’ जस्तो गीतले नेपाली गीतलाई मात्र नभएर सम्पूर्ण नेपाली कलालाई विश्वमा चिनाउने उनको धारणा छ ।