शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबिच भेटवार्ता

शुक्रबार, २८ मङ्सिर २०८१, २१ : ०१
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक व्यापारसम्बन्धी मन्त्रीसमेत रहेका बर्नार्डसँगको सो भेटका क्रममा उनीहरूबिच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्यलगायत विषयमा कुराकानी भएको थियो । 

सो भेटका क्रममा मन्त्री डा देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गरेका थिए । 

नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि छलफल भएको थियो । 

नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि युरोपियन युनियनमार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा देउवाले धन्यवाद ज्ञापन गरेकी थिइन् । 

सो भेटका क्रममा परराष्ट्रमन्त्री डा देउवाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन् । 

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालले अकल्पनीय क्षति ब्यहोर्नुपरिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियममार्फत् युरोपियन युनियनसँग उनले आग्रह पनि गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप