उपराष्ट्रपति यादव र सीपीपीसीसीका सदस्य शुनबिच भेटवार्ता
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग चीनको राजनीतिक सल्लाहकार निकाय ‘चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन’ (सीपीपीसीसी)को राष्ट्रिय कमिटी सदस्य यिन शुनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार भएको भेटमा नेपाल र चीनबिचको द्विपक्षीय जनस्तरीय सम्बन्ध, द्विपक्षीय भ्रमण र सहयोग लगायतका विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्दपूर्ण सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक र घनिष्ठ बन्दै गएको बताए । ‘सन् १९५५ मा स्थापित कूटनीतिक सम्बन्धले आगामी वर्ष सन् २०२५ मा ७० औँ वर्ष पुरा गर्न लागेकोमा म अत्यन्तै हर्षित छु’, उनले भने, ‘हाम्रो मित्रवत् सम्बन्ध आपसी सद्भाव, मित्रता, पारस्परिक लाभमा आधारित छ ।’ उनले नेपाल र चीनबिच जनस्तरमा समेत अत्यन्त सुमधुर सम्बन्ध रहिआएको बताए ।
उपराष्ट्रपति यादवले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेमा आफू विश्वस्त रहेको बताए ।
चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शनचन होङफा र नानसान मन्दिरका मठाधीस समेत रहेका राष्ट्रिय कमिटी सदस्य यिन शुनले प्रत्येक चिनियाँ भिक्षुहरु लुम्बिनीलाई आफ्नो ह्रदयमा राखेको धारणा राखे । लुम्बिनीप्रति सम्पूर्ण चिनियाँ नागरिकको ठुलो आस्था रहेको धारणा राख्दै उनले प्रत्येक वर्ष ७० हजार चिनियाँ नागरिकले लुम्बिनी भ्रमण गर्ने गरेको बताए ।
लुम्बिनी विश्वविद्यालयलाई चिनियाँ वेभसाइटमा समेत सूचिकृत गरिएको बताउँदै उनले भने, ‘चिनियाँ मन्दिर लुम्बिनी विश्वविद्यालयका विद्यार्थीलाई चीनमा पढ्न जानका लागि व्यवस्थापन गर्दै आएको छ ।’ उनले नेपाल पवित्रभूमि विश्वका सम्पूर्ण बुद्धमार्गीहरुको मन र ह्रदयमामा रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता