बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
चलचित्र

पुसमा फिल्म रिलिज गर्न किन अनिच्छा ?

२ फिल्ममात्र रिलिज हुने निश्चित
शुक्रबार, २८ मङ्सिर २०८१, १९ : ००
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय नेपाली फिल्मको व्यवसाय उकालो लागेको छ । व्यवसाय बढेसँगै फिल्म निर्माण र चलचित्र घर पनि बढेको विभिन्न तथ्याङ्कले देखाउँछ । फिल्मको व्यवसाय र निर्माण बढेपछि फिल्मको प्रदर्शन बढ्नुपर्ने हो । तर, यो मंसिरमा झै आगामी पुसमा पनि रिलिज हुने फिल्मको अभाव देखिएको छ । 

अहिलेसम्मको रिलिज क्यालेन्डर हेर्दा पुसमा ‘बमबहादुर’ र ‘कासाङ’ गरेर दुई फिल्म मात्र रिलिज देखिन्छ । नयाँ नेपाली फिल्म चाडपर्व विशेष बाहेकको समय शुक्रबार रिलिज परम्परा छ । सोही अनुसार पनि ४ शुक्रबार रहेको पुसमा दुई शुक्रबार बाहेकको फिल्म नरहेको हो । पुसको पहिलो साता (५ गते शुक्रबार) फिल्म ‘बमबहादुर’ र अन्तिम शुक्रबार (२६ गते) ‘कासाङ’ छ । बिचका दुई शुक्रबार दोस्रो र तेस्रो साता फिल्म छैन ।

नेपाली फिल्म क्षेत्रमा पुस महिना नयाँ फिल्म रिलिज गर्न निर्माताहरू चाहँदैनन् । त्यसैले, अन्य समय रिलिजका लागि तँछाड मछाड गर्ने, एकअर्कासँग फिल्म भिडाउने निर्माता निर्देशक पुसमा चुप बस्छन् ।

गतवर्ष पनि पुसमा फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’ रिलिज भएको थियो । ती दुवै फिल्मले व्यवसाय भने गर्न सकेन ।

कतिपय पुस जाडो र छोटो महिना हो भन्दै फिल्म रिलिज गर्न तर्किन्छन् । कतिपयले पुसमा व्यवसाय हुँदैन भन्दै आएका निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘विगतका धेरै वर्ष अगाडिदेखि पुस महिना फिल्मको व्यवसाय राम्रो भएको रेकर्ड छैन’, श्रेष्ठले भने ‘म फिल्म राम्रो भए महिनाले केही फरक पर्दैन भन्छु । निर्माता चासो देखाउँदैनन् ।’ पुसमा अन्य समय फिल्म भिडाउने निर्माता निर्देशकले समेत खाली जान दिने गरेको श्रेष्ठको भनाई छ । ‘हल खाली भयो भनेर मात्र के गर्नु, फिल्मको व्यवसाय हुँदैन । नहालौँ भन्छन्’, निर्माताको कुरा श्रेष्ठले दोहोर्‍याए ।

निर्माता तथा चलचित्र प्रदर्शक गोपालकाजी कायस्थ पनि श्रेष्ठको कुरासँग सहमत छन् । ‘व्यवसाय हुन्छ भनेर हालेको समय त कतिपय फिल्म डुबेका छन् । व्यवसाय नै हुँदैन भन्दा भन्दै कसले फिल्म रिलिज गर्छ ?’, उनको भनाइ छ ।  

  • कस्ता छन् पुसका फिल्म

पुसमा रिलिज हुन लागेका दुई फिल्म ‘बमबहादुर’ र ‘कासाङ’ चलेका कलाकारका फिल्म हुन् । फिल्मको टिजर हेर्दा दुवै राम्रो भएको अनुमान गर्न सकिन्छ । दुई मध्य एक ‘कासाङ’ पुस २६ मा रिलिज हुन लागेको फिल्म हो । फिल्ममा दयानहाङ राई, जितु नेपाल, सिर्जना निङलेखु, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । यम शेर्पा निर्देशित फिल्म शेर्पा समुदायको कथामा निर्माण भएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

त्यस्तै, फिल्म ‘बमबहादुर’मा अभिनेता सौगात मल्लको मुख्य भूमिका छ । सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्ष चित्रण गरिएको बताइएको फिल्ममा सौगातको अलवा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी अभिनय छ ।

जोन राईको निर्देशन रहेको फिल्म बस्ट ब्रदर्स फिल्मस् प्रा.लिको ब्यानरमा बनेको हो । फिल्मका निर्माता सञ्जीव सार्की हुन् । फिल्म रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।

  • माघमा भने ४ फिल्म

पुसमा रिलिज फिल्मको खडेरी देखिएपनि माघको ४ शुक्रबार नै फिल्म प्याक छन् । माघमा ‘फिरफिरे फिरिरि’, ‘केटी हराएको सूचना’, ‘एक्टर टेक वान’, ‘ममी’ रिलिज हुँदैछ ।

‘फिरफिरे फिरिरि’ माघ ४ गते रिलिजमा आउने फिल्म हो । हरर कमेडी जनरामा बनेको ‘फिरफिरे फिरिरि’को निर्माता मनोज कुमार अधिकारी हुन् । फिल्ममा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूको अभिनय छ ।

‘केटी हराएको सूचना’ माघ ११ गते रिलिज हुने फिल्म हो । प्रेमकथामा बनेको फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

त्यस्तै, ‘एक्टर टेक वान’ माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी लगायतको अभिनय रहेको फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको हो । थम्मन कुमार भण्डारी निर्माता रहेको फिल्म राजन भुसालको निर्देशन गरेका हुन् ।

फिल्म ‘ममी’ भने माघ २५ गते प्रदर्शनमा आउने तयारीमा छ । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको फिल्ममा प्रियंका कार्की, दिया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारको अभिनय छ । समर निरौलाको लेखन तथा निर्देशन रहेको फिल्मको लोकराज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप