बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आगोले पोल्यो भने तत्काल के गर्ने ?

शुक्रबार, २८ मङ्सिर २०८१, १६ : ३२
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौँ । चिसो बढेसँगै न्यानोका लागि आगो ताप्नेहरूको सङ्ख्या बढ्न थालेको छ । यसरी आगो ताप्दा पोलिने (जलन) घटना समेत हुने गर्दछ । कीर्तिपुर अस्पतालको तथ्यांकअनुसार बर्सेनि ६ सयभन्दा बढी जलनका बिरामी उपचारमा आउने गरेको देखिन्छ । 

उपचारमा आउनेमध्ये अधिकांश आगो ताप्दा यस्तो घटनामा परेको अस्पतालको भनाइ छ ।  जाडोयाममा आगो ताप्दा हुने जलन घटनाबाट जोगिन अस्पतालले  विभिन्न सुझाव दिएको छ । साथै आगोले पोलिहालेमा तत्काल गर्नुपर्ने कार्यबारे पनि सुझाव  दिएको छ-

सुझाव र सावधानी

-आगोको काम सकिएपछि तुरुन्तै निभाउने,

-न्यानो रहन लुगा लगाउने/ओढ्ने, आगो ताप्नै परे आगोको नजिक नबस्ने, खुकुलो लुगा नलगाउने, बच्चा नबोक्ने, मट्टितेल पेट्रोल आदि नखन्याउने,

-फोहर र प्लास्टिक कागज आदि उचित तरिकाले विसर्जन गर्ने, यिनलाई पोल्दा प्रदूषण हुने मात्र हैन, पोलिन पनि सक्छ, सावधानी अपनाउने,

-आगो, तातो पानी र तातो पदार्थबाट बच्चाहरूलाई टाढै राख्ने,

-भुईँभन्दा अग्लो तहमा खाना पकाउने,  खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिट्टै आगो टिप्ने पोलिस्टर तथा टेरिकटनको कपडा नलगाउने,

-ग्याँस चूलो, पाइप र सिलिन्डरको नियमित चेकजाँच गर्ने, काम सकिएपछि रेगुलेटर बन्द गर्ने, ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने । सोही लगात्तै सलाई, बिजुली, टर्च, फोन प्रयोग गर्दा ठुलो विस्फोट हुनसक्ने हुँदा त्यसो नगर्ने ।

-हावा नखेल्ने बन्द कोठामा गिजर, हिटर चलाउँदा निसास्सिएर ज्यानै जानसक्ने हुँदा यसो नगर्ने र हिटर निभाएर मात्र सुत्ने गर्नुपर्छ ।

- आगोले पोलिहालेमा तुरुन्तै आत्तिएर दौडिनु हुँदैन, यस्तो अवस्थामा रोकिनुहोस्, भुईँमा लड्नुहोस् अनि लडिबुडी गरेर जिउमा लागेको आगो निभाउनुहोस् । यसरी ननिभे बाक्लो कम्बल वा सिरकले छोपेर निभाउन सकिन्छ ।

-आगो निभेपछि लुगा, घडी र गहनाहरू फुकाल्नु होस् । त्यसपछि घाउलाई धाराको पानीमा कम्तीमा आधा घण्टा धुनुहोस् । पोलेको घाउमा ३० मिनेट देखि एक घण्टा निरन्तर पानी खन्याउन पर्छ ।

-घाउलाई सफा कपडाले छोपेर नजिकको अस्पतालमा तुरुन्तै जाने, अस्पताल टाढा भएमा बाटोमा प्रशस्त नुन, चिनी, पानी वा  जीवनजल सेवन गर्दै जानु पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप