बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अटो मोबाइल उपभोक्ताको दोस्रो घर हो, घरपछि दोस्रो लगानी गाडीमा हुन्छ

शुक्रबार, २८ मङ्सिर २०८१, ११ : ४०
शुक्रबार, २८ मङ्सिर २०८१

नेपालको अटो बजारको एउटा वर्षलाई  मात्र हेरेर पुग्दैन । खासमा यसलाई कोभिड भन्दा अघि र कोभिड भन्दा पछि गरेर विश्लेषण गर्न सहज हुन्छ । कोभिड पछिको बजारलाई हेर्ने हो भने धेरै उतार चढावमा देखिन्छ । 

खासमा कोभिड अघि राम्रो गतिमा अघि बढिरहेको थियो नेपाली अटो मोबाइल बजार । तर २०२० मा कोभिड आएसँगै समग्र अर्थतन्त्र नै प्रभावित भयो र देशमा वैदेशिक सञ्चिति घट्यो भन्ने कारणले गाडी आयात रोक्ने काम भयो । अर्थात् गाडीको समग्र बजारलाई नै निरुत्साहन गर्ने काम भयो । अटो लोन लगायतका विषयमा पनि कडाइ भइरहेको थियो ।  

यस बिचमा नेपालमा विद्युत् उत्पादन बढ्दै गएको र विद्युत् सर्पुलस हुने देखिएकाले यसको खपतका लागि विद्युतीय गाडीमा प्रोत्साहन प्रदान गर्‍यो । सरकारको यस्तो नीतिले नेपालको अटो मोबाइल बजारमा ठुलो परिवर्तन देखियो । 

जसमा कन्ट्री अफ ओरिजिन अर्थात् जुन देशबाट गाडा आयात हुन्थ्यो त्यसमा फरक देखियो भने गाडीको प्रकार र ब्रान्डमा पनि धेरै परिवर्तन देखियो । पहिले भारतबाट ९० प्रतिशत गाडी आउँथ्यो भने अहिले त्यो अवस्था छैन। खासमा अहिले भारत बाट ४० प्रतिशत आयात हुन्छ भने चीन बाट ५०/५५ प्रतिशत गाडी आयात देखिन्छ । 

 अब गाडीको बिक्री भोल्युमलाई हेर्दा कुनै समय नेपाल बजारमा १७–१८ हजार पुगेको थियो भने कोभिडको कारण वार्षिक ७ हजार युनिटसम्म घटेको थियो । यद्यपि बिस्तारै त्यो रिकोभर भएर २०२४ मा आइपुग्दा १३ हजार युनिटमा आइपुगेको छ र यो बढ्दो क्रममा छ । यद्यपि कोभिड पछिको बजार र यस भित्रका कम्पोनेन्टहरूमा चाहिँ ठुलै उथलपुथल देखिन्छ। 

 डिजेल पेट्रोलका गाडी बाट ईभीको मुभमेन्ट बढ्दो छ । यसको निरन्तरका लागि अहिले हाम्रो बजार ट्रान्जिक्सन फेजमा रहेकाले भविष्य यस्तै हुन्छ भन्ने अवस्था नरहे पनि मागको हिसाबले बजार रिकोभर भइरहेकै छ । 

 जसरी नेपालको अर्थतन्त्र मन्दीमा छ भनिरहेका छौँ त्यसका बावजुत पनि हाम्रो अटोमोवाइल बजार बिस्तारै अघि बढिरहेकै छ । यो आफैमा सुखद विषय हो । यद्यपि जसरी वार्षिक रूपमा १७–१८ हजार युनिटसम्मको माग हुने आधार तयार भएको थियो त्यहाँ पुग्न अझै सकिएको छैन । र, त्यहाँ पुग्न समय पक्कै लाग्छ ।

 आजको दिनमा हेर्दा उपभोक्तामा ईभीप्रतिको रुचि ७५ प्रतिशत देखिएको छ भने आइस करिब २५ प्रतिशत मात्र देखिन्छ । यसले नेपालको अटो बजारमा कोभिड पछि ठुलो परिवर्तन आएको पुष्टि पनि गरेको छ । 

 तर व्यक्तिगत रूपमा  म अटो बजारलाई ईभी र आइसिई भनेर छुट्टाउने पक्षमा छैन। उपभोक्ताले ईभी भनेर किने पनि आइसिई भनेर किने पनि गाडी चढ्ने नै हो । एक ठाउँबाट चढेर अर्को ठाउँमा झर्ने नै हो । गाडी किन्दा कतिमा किन्नु हुन्छ, त्यसलाई कति चलाउनु हुन्छ भन्ने विषय महत्त्वपूर्ण हो । तर, यी दुई वटामा इन्धनको स्रोत मात्र फरक हो । केही समय पछि हाइड्रोजनले बजार लिन सक्ला त्यो फरक विषय हुन् ।

 प्रश्न रह्यो उपभोक्ताले के छनौट गरिरहेका छन् भन्ने । कुनै समय कुनै ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गर्न सक्ने विशेषता थियो र त्यो चलेको थियो भने जस्तै ईभीमा पनि उपभोक्ताले केही खास विशेषता पाएका छन् । त्यसैले बजारमा ईभीको माग बढी छ । यसो हुनुमा नेपाल सरकारले ईभी गाडीमा ठुलो सहुलियत प्रदान गरेको छ र तुलनात्मक रूपमा ईभी सस्तो छ । यदि सरकारले ईभी गाडीमा यो तहको सहुलियत नदिएको भए नेपालीहरूलाई ईभी चढ्नै ठुलै सकस हुने पक्का थियो । 

 हुण्डाईको कुरा गर्दा २०२२ सम्म हामी नेपालको बजार हिस्साको सबैभन्दा अग्रणी स्थानमा थियौँ। त्यसपछि २०२४ को अन्त्यसम्ममा आइपुग्दा हामी तेस्रो स्थानमा छौँ । प्रथम र दोस्रो स्थानमा ईभीको बाहुल्यता भएकै ब्रान्ड रहेका छन् । यद्यपि हामी आईसिइ ब्रान्ड भएर पनि तेस्रो स्थानमा छौँ । र, यसपछिका चौथो पाँचौँ स्थानमा पनि ईभी गाडी भएकै ब्रान्ड रहेका छन् । 

अब ईभीलाई छाडेर आइसिइको मात्र कुरा गर्दा हामी २०२४ आइपुग्दा धेरै राम्रो अवस्थामा छौँ । हामी आइसिईमा पहिले पनि नम्बर १ थियौँ र आज पनि नम्बर १ नै छौँ । त्यसमा पनि हाम्रो बजार हिस्सा २०२४ को अन्त्यमा आई पुग्दा ४५ देखि ५० प्रतिशत हुन आउँछ ।

ब्रान्ड पहिलो कुरा हो भने, हाम्रा लागि उपभोक्ता नै सर्वस्व हुन् र उसको सन्तुष्टिका लागि सबैथोक गर्न हामी पछि परेका छैनौँ । नेपालमा हुण्डाईको यो लामो यात्राको सफलता पनि यही नै हो जस्तो लाग्छ । ग्राहकले गाडी खरिद गर्नु भनेको हामीसँग सम्बन्धको सुरुवात हुनु हो । आजपनि धेरै ग्राहकले म हुन्डाई गाडी चढ्छु भन्दा पनि, ‘म हुण्डा परिवारको मान्छे हुँ,’ भन्नु हुन्छ । सँगै रिसेल भ्याल्लुमा पनि हुण्डाई अगाडी नै छ ।

 हामीले नेपालमा हुण्डाईका विभिन्न ११ वटा मोडेलका गाडीहरू बिक्री वितरण गरिरहेका छौँ । त्यसमध्ये एउटा मोडेल मात्र हामी नेपालमा एसेम्बल्ड गरिरहेका छौँ । यसले कम्पनीमा ठुलो प्रभाव पार्ने अवस्था भएको छैन । तर जुन मोडेल हामीले बनाइरहेका छौँ त्यसप्रति उपभोक्ताको विश्वास र आकर्षण बढेको छ र त्यसको सेल्स बढाउन पनि ठुलो मद्दत पुगेको छ । 

एउटा मोडेलको उत्पादन बाट कम्पनीले परिवर्तन नै महसुस गर्ने भन्दा पनि बिस्तारै अन्य मोडेलको पनि उत्पादन सुरु गर्ने योजना लिएका छौँ । यद्यपि उपभोक्तामा भने ठुलो आशा, भरोसा र विश्वास बढेका हामीले पाएका छौँ ।

 हाम्रो कम्पनीको कुल उत्पादन क्षमता एक सिफ्टमा काम गर्दा एक वर्षमा ५ हजार युनिट उत्पादन गर्ने हो । तर त्यो भनेको सबै मोडेल बनाउन थालेपछि क्षमता अनुसारको उत्पादन हुन सक्ला । हामीले अहिले क्षमताको १०–१५ प्रतिशत मात्र उपयोग गरिरहेका छौँ । त्यसैले अहिलेको उत्पादन अनुसार लगानीको प्रतिफल आस गरिहाल्ने अवस्थामा कम्पनी छैन।  २०२५ मा हामी क्रेटाको उत्पादन सुरु गर्छौँ जुन नेपालमा धेरै बिक्री हुने मोडेल पनि हो । त्यसैले क्रोटाको उत्पादन पछि आशा गरौँ, लगानीको प्रतिफल सुरु हुँदै जाला ।

 नेपालमा ईभीको एडप्सन जुन गतिमा भईरहेको छ संसारमा कहीँ भए जस्तो लाग्दैन । १२÷१५ वर्षअघि देखि ईभीलाई प्रोत्साहन गर्ने भनेर लागेका देशहरूमा पनि बल्ल ७०÷८० प्रतिशत बजार विस्तार भइरहेको छ । तर नेपालमा ७५ प्रतिशत ईभीको बजार बन्नु भनेको आफैमा ठुलो विषय हो । यद्यपि यो कति दिगो छ, छैन भन्ने कुरा विश्लेषण हुनै बाँकी छ । हामी प्रयोगकै फेजमा छौं कि भन्ने पनि छ।

 अर्कातर्फ जसरी नेपालमा ईभी एडप्ट गर्न सहज भएका कारणहरू छन् ती भविष्यसम्म रहि रहन्छन् कि रहँदैनन् भन्ने विषय पनि महत्त्वपूर्ण छ । त्यसैले ईभी र आइसिईका गाडीको बजार प्रतिशत तलमाथि रहे पनि आइसिई गाडी अबको १०÷१५ वर्ष आरामसँग चल्ने निश्चित छ । 

विश्वका केही ठुला कम्पनीहरूले समेत ईभीलाई फुल फेजमा एडप्ट गर्न सकिरहेको देखिँदैन भने पछि आईसिईका भविष्य देखेर नै त होला। त्यसैले यो भन्न सकिन्छ कि, नेपालमा बढेको ईभीको प्रयोग अर्ग्यानिक अर्थात् नेचुरल मान्न सकिँदैन ।

 भारतकै कुरा गर्ने हो भने पनि त्यहाँ गाडी आफै उत्पादन गरिए पनि सरकारले सहुलियत प्रदान गरिरहेको छ भने नेपालमा त झनै ईभीलाई सहुलियत दिएको अवस्था छ । यसरी समग्रमा हेर्ने हो भने नेपालको ईभी बजारलाई सरकारले झन्डै ७० प्रतिशत माथिको सहुलियत प्रदान गरिरहेकाले मात्रै यसको एडप्टेसन तीव्र बढिरहेको देखिन्छ । यद्यपि हामीले इलेक्ट्रिक गाडीको उत्पादनको योजना पनि बनाइरहेकै छौँ । २०२५ भित्र नै उत्पादन सुरु गर्ने योजनामा कम्पनी रहेको छ । सन् २०२५ बाट नेपालमा क्रेटा गाडी इलेक्ट्रिकमा पाइने छ र त्यसको नेपालमै एसेम्बल्ड चाहिँ ६/८ महिना पछि हुन सक्छ ।

 फेब्रुअरीमा क्रेटा ईभी आउँदै छ । जुन भारतमा यो लन्च हुँदै छ । तर, यस बारेमा डिटेलमा अहिले नै यस्तो हुन्न भन्ने छैन। यद्यपि क्रेटाको ई भी मोडेल डेटिकेटेट ईभी प्लेटफर्ममा भने आउने होइन। यो आइसिइ र ईभी सेयर प्लेटफर्मका रूपमा बजारमा आउने तयारीमा छ । यसैगरी हामीले अहिलेसम्म ३ सय ५० वटा भेन्यु उत्पादन गरिसकेका छौँ र त्यो सत प्रतिशत बिक्री पनि भइसकेको अवस्था छ।

 उसो त हामी नीतिगत तवरबाट नै कमजोर छौँ । नीतिगत विषय स्पष्ट हुन आवश्यक छ । नयाँ नीति कहिलेबाट लागु हुने र त्यसले कहिलेसम्म काम गर्ने भन्ने विषय पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। 

यहाँसम्मकी जेठ १५ गते आउने बजेट भाषणले हाम्रो व्यापार लाही कता लैजाने हो भनेर डराएर बस्नु पर्ने अवस्था छ । जेठको १४ गते रातीसम्म पनि थाहा नभएका नीतिगत परिवर्तन जेठ १५ गते सुन्न पाइन्छ । यसले व्यवसायीहरूमा योजना तर्जुमा र कार्यान्वयनको अवसर नै दिइरहेको हुँदैन । जहिले पनि डराएर बस्नु पर्ने हुन्छ। 

अन्य मुलुकमा नीति कार्यान्वयनमा ल्याइनु भन्दा २/३ वर्षअघि नै घोषणा गरिन्छ र त्यसको तयारीको समय उपलब्ध गराइन्छ तर नेपालमा आजको भोली नै हुन्छ । मानौँ प्रदूषणको विषयमा हाल नेपालमा युरो थ्रीको मापदण्ड लागु गरिएको छ र अबका दिनमा युरो फेर वा युरो सिक्समा जाने भन्ने छलफलकै विषयमा छ । तर कुन दिन त्यो फाइल मन्त्री परिषद्मा पुगेर निर्णय हुन्छ र कार्यान्वयनमा आउने हो कुनै ठेगान छैन । यसले व्यवसायीहरूलाई अन्यौलता राख्ने र समस्यामा पार्ने गरेको छ। 

२०२० मा ई भी गाडीको भन्सार ४ देखि ५ सय गुणा बढ्यो । गाडीको मूल्य झन्डै दुई गुणा भएको थियो । त्यसबारे अघिल्लो दिनसम्म व्यवसायीहरूलाई केही थाहै थिएन । पछि त्यो सरकार हट्ने बित्तिकै  नयाँ सरकारले ह्वात्तै घटायो । यसले के देखाउँछ भने नीतिगत स्थायित्व पटक्कै छैन । व्यावसायिक वातावरण जुवा खेले जस्तै छ । तास हेरेपछि मात्रै दाउ परेको छ या छैन भन्ने थाहा भएजस्तै आज के छ र भोली के हुने हो कुनै टुङ्गो छैन । यति हो नीति कसैको पक्ष विपक्षमा भन्दा पनि यति टाइम फ्रेममा यति समयका लागि हो भनेर निश्चित हुनु पर्‍यो । 

 सरकाले केही विषयमा नीतिगत रूपमा बाध्यकारी नियमन गर्न आवश्यक छ । खास गरेर नेपालमा आयात गरिने गाडीहरूको गुणस्तरको मापदण्ड के–के हो त्यसमा नियमन आवश्यक छ । सेप्टी रिलेटेड, पर्फमेन्स रिलेटेड विषयमा न्यूनतम मापदण्ड तोकिनु जरुरी देखिएको छ ।

 अर्कातर्फ अटो मोबाइल भनेको उपभोक्ताको दोस्रो घर हो । पहिलो बस्ने घरपछि दोस्रो लगानी उसको गाडीमा हुन्छ । त्यसैले व्यवसायीहरू आफैले पनि ग्राहकको पुजी लगानी अनुसारको सेवा प्रभाव गर्नु पर्छ । त्यो सबैको दायित्व हो । आफूले बेचेको गाडीको विश्वसनीयता तथा गुणस्तरका बारेमा हरेक ग्राहकलाई सन्तुष्ट बनाउनु आवश्यक छ ।

 हुन्डाई र समग्र नेपाली अटो बजारका विषयमा लक्ष्मी ग्रुपका मेनेजिङ डाइरेक्टर निराकर श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप