शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सिक्लेसको सौन्दर्य

सिकलेसको स्वरूप नबिगार्ने चुनौती

शुक्रबार, २८ मङ्सिर २०८१, ०९ : ००
शुक्रबार, २८ मङ्सिर २०८१

नेपालकै ठुलो मध्ये पर्ने सिक्लेस गाउँमा गुजुमुज्जु गुरुङहरूको घर हेर्न मान्छेहरू यहाँ आइपुग्छन् । यहाँबाट नजिकै हिमाल छ । अन्नपूर्ण २, अन्नपूर्ण ४, लमजुङ हिमाल आडैमा छ । 

कतिपय यहाँको संस्कृति हेर्न पनि आइरहेका हुन्छन् । प्रत्येक दिन समाज घरमा बेलुका १० बजेसम्म सांस्कृतिक कार्यक्रम हुन्छ । शुक्रबार ११ बजेसम्म रमाइलो गर्छन् । सबैभन्दा चिन्ता चाहिँ पुराना संस्कृतिहरू हराउने हो कि भन्ने छ । रोधी हराउँदै गएको छ । उमेर ढल्केका मान्छेहरू अशक्त हुन थालेका छन् । त्यो संस्कृति पुस्तान्तरण हुन सकेको छैन । अरू पहिचान त खासै हराएको छैन । तर पितापुर्खाले चलाइआएका संस्कार र संस्कृति अहिलेका पुस्तामा सर्न नसक्नु दुखद हो । 

मैले होटल चलाएको १५ वर्षको अवधिमा हालैका वर्षमा जस्तो पर्यटक कहिल्यै आएनन् । त्यो बेला पर्यटक आउँदैनथे । स्कुल नजिकै थियो, स्कुलका शिक्षक र कर्मचारीका लागि लक्षित गरेर एउटा मात्रै होटल थियो । विदेशी पर्यटक त्यसअघि धेरै आउने गरे पनि केही समय मत्थर भयो । 

भूकम्प र कोरोना पनि प्रमुख कारण थियो । अहिले विदेशी भन्दा धेरै नेपाली पर्यटक आउँछन् । विदेशीको सङ्ख्या पनि बढ्दै गएको छ । सुरुमा त सिक्लेस चिनाउनै दुख भयो । सामाजिक सञ्जालको प्रयोग बढ्दै गयो, यहाँ आइपुगेकाहरूले फोटो र भिडियो खिचेर पोस्ट गर्न थाले । खासमा सिक्लेसको यति सारो प्रचार हुनुमा सामाजिक सञ्जालको देन छ । गाउँमा पर्यटक ल्याउनुपर्छ भनेर प्रचारका लागि समाज मिलेर ठाउँठाउँमा पुग्यौँ पनि । ओख्खो, सिक्लेसमा यति धेरै पर्यटक आउलान् भन्ने त कसले कल्पना गर्‍यो र ? १० वर्षअघि सम्म फाट्टफुट्ट घुमन्ते आउँथे । त्यसपछि २–४ हजार आए । उनीहरूलाई पछ्याएर २०–२५ हजार पुग्यो । झन् परार २५ हजार जति आएका थिए होला । रेकर्ड त हामीले राखेनौँ, परार साल ४० हजार पर्यटक आएको हुनुपर्छ । पोहोर सिजनको ४ महिनामै ६० हजार आएको रेकर्ड हामीले जम्मा गर्‍यौँ । जे होस्, अहिले वर्षमा सजिलै १ लाख पर्यटक आइपुग्छन् । नेपालीहरू लौरी टेकेर, झोला बोकेर यही बाटो ट्रेकिङ आउन थालेको ४ वर्ष जति भयो । सिक्लेस त १० वर्ष पहिलेदेखि नै आउँथे । 

शुक्रबार यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन । अघिल्लो शुक्रबारको मात्रै कुरा गर्दा, ३७ वटा बस, ४ सय भन्दा बढी बाइकमा पर्यटक आएका थिए । साना गाडी गनिसाध्ये हुँदैन । २ वटा पार्किङ पूरै भरिन्छ । त्यो शुक्रबार गाउँभरि १५ सय पर्यटक आएका रहेछन्, सबैको विवरण मागी हेर्दा । एक शुक्रबारको मात्रै कमाई कति भयो त ? सामान्य प्याकेजको मात्रै कुरा गर्दा पनि १८ लाख एकै रातमा भित्रियो । यो चानचुने कुरा हो त ? मेरो एउटै होटलको हिसाब गर्दा वर्षभरिमा ५ हजार भन्दा पनि धेरै पर्यटक आएर बस्छन् । सबैको अवस्था यही हो । रेकर्ड राख्न थालेको खासै धेरै भएको छैन । एकजना पर्यटकसँग हामी बेलुकाको खाना, बिहान ब्रेकफास्ट र रुम सहित १२ सय लिन्छौँ । होमस्टेले ११ सय लिन्छन् । आलु, प्याज, लसुन, तरकारी, सागहरू सिक्लेसमै उत्पादन हुन्छ । चामल, पिठो जस्ता सामग्री बाहिरबाट ल्याउनुपर्छ । पर्यटकहरू गुन्द्रुक, भटमास, सागहरू चेपेर फर्किन्छन् । भाङ्ग्रा, घलेकहरू पनि विक्री हुन्छन् । 

कतिपयको सोख गुरुङ ड्रेस लगाएर फोटो खिच्नेमा छ । उनीहरू १ सय तिरेर ड्रेस लगाएको फोटो भिडियो खिच्छन् । जे होस्, पर्यटक आएपछि प्याकेजमा सीमित हुँदैनन् । एक जनाले कम्तीमा ३–४ हजार त खर्च गरेकै हुन्छन् । सिक्लेसमा पर्यटकको माग अनुसार फूलमाला र बाजागाजाले स्वागत गरिन्छ भने सधैँ टिका र माला लगाएर बिदा गरिन्छ । पञ्चेबाजाको खर्च चाहिँ पर्यटकले नै बेहोर्नुपर्छ । पर्यटक नआउँदा तरकारी, आलु, काउलीहरू कुहिएर जान्थे । अहिले यहीँ खपत भएको छ । गाउँलेहरू निकै खुसी छन् । वर्षभरिको हिसाब गर्नुभयो भने सिक्लेसमा पर्यटकबाट मात्रै २५–३० करोड भित्रिन्छ । होटलवालाले मात्रै होइन, किसानले पनि राम्रै कमाउँछन् । सिक्लेस खासगरी शुक्रबारे बसाइको रूपमा परिचित हुँदै गएको छ । त्यसो त अरू समयमा पनि २ सय जति पर्यटक त आइरहेका हुन्छन् । अहिले सिक्लेसमा पर्यटकको सिजन र अफसिजन भन्ने छैन । पर्यटकको चहलपहल कम हुने असार, साउन, भदौमा पनि कोरी र कपुचे यात्राका कारण होटलको खर्च धान्ने पर्यटकहरू आइरहेका छन् । 

  • रूप नबिगार्न पर्यटकले सुझाउँछन्

हामीलाई खासै वास्ता नलागेको हुन सक्छ, तर बिस्तारै हाम्रो गाउँको स्वरूप बिग्रिँदै गएको रहेछ । पहिले सबै घरहरू ढुङ्गाले छाएका हुन्थे । प्रायः २ तला माथिका घर थिएनन् । ढुङ्गाको छाना चुहिन थालेपछि भद्र भलाद्मी बसेर टिनको छाना छाउने सहमति गरियो । सबैजसोको घरमा अहिले टिनको छानो छ । यद्यपि ५–७ वर्षकै अवधिमा दर्जनौँ ढलानका घरहरू यहाँ बनिसकेका छन् । उनीहरूले छाना छाउँदैनन् । वर्षमा त्यस्ता घर ५–७ वटा बनिरहेको छ । पर्यटकहरूले ढलान घर नबनाऊ, गाउँको रूप नबिगार भनेर सुझाव दिइरहेका छन् । अहिले पो म त झसङ्ग भएँ । पर्यटक नै चिन्तित भएपछि हामी वडासँग समन्वय गरेर पूरा नै शैलीको घरहरू बनाउन सहमत भएका छौँ । छिटपुट सहमति नमान्नेहरू पनि छन् । 

यहाँका मान्छेहरूको घर पोखरामा पनि छ । यहाँ पनि छ । सिक्लेस पूरै रित्तिने अवस्था कहिल्यै आएन तर मान्छे घट्दै गयो एक समय । अहिले त सहर झरेका र विदेश गएकाहरू पनि होटल चलाउन गाउँ नै फर्किएका छन् । कोरी र कपुचेतिर भर्खरका युवाहरू व्यवसायमा लागेका छन् । पढ्ने मान्छे बाहिर गए पनि अरू गाउँतिरै छन् । एक हिसाबले भन्ने हो भने सिक्लेस अहिले गुलजार छ । आमा समूह, युवा क्लब, टोल समितिहरू सक्रिय छन् । आमा समूह, एक्याप र संघ संस्थाले मिलेर फोहोर व्यवस्थापनमा धेरै नै जोड गरेका छन् । महिनामा २ पटक फोहोर जम्मा गर्छन् र भारी पुगेपछि गाडीमा हालेर पोखरा पठाउँछन् । सिसाका बोतलहरू पूर्ण बन्देज छ । बियर पनि क्यानमा मात्रै पाइन्छ । ह्विस्कीका सिसाहरू तुरुन्तै पोखरा पठाइदिन्छौ । यो काममा एक्यापले सहयोग गरिरहेको छ । 

  • सरकारको साथ छ

पर्यटकीय गन्तव्यमा सूचिकृत भएपछि सिक्लेसलाई बाह्य दृष्टि परेको छ । सरकारकै आर्थिक लगानीमा सिक्लेसको बाटो सबै ढुङ्गाले छापिएको छ । सिक्लेस सांस्कृतिक ग्राम घोषणा भएपछि पर्यटन मन्त्रालय मार्फत ५ करोड भन्दा बढी बजेट विनियोजन भयो । पदमार्ग बनाउन (ढुङ्गाले बाटो छाप्न) २ करोड ६९ लाखमा सम्झौता भयो । आधा बजेट सिँढी बाटो र बाँकी रकम विद्युतीकरणमा खर्च भएको छ । गाउँभरि ५ सय वटा स्ट्रिट लाइट राखिएको छ । ६४ वटा सिसी क्यामेराले पर्यटकलाई निगरानीमा राख्छ । पर्यटक अझै धेरै आउने सम्भावना त छ । तर सबैभन्दा बढी समस्या बाटोमा छ । उनीहरूको गुनासो बाटोमा नै छ । पोखरादेखि सिक्लेस सडक छिटो पिच भए अझै पर्यटक बढी आउँछन् । सिक्लेसदेखि कपुचे हुँदै कोरीसम्म पदमार्ग राम्रो बनाउनुपर्छ । अहिले पालिका र संघ सरकारले पनि काम त गरिरहेको छ । अझै द्रुत गतिमा प्राथमिकताका साथ काम होस् भन्ने लागेको छ । सरकारको ध्यान त्यसतर्फ जानुपर्छ । 

गुरुङ होटल व्यवस्थापन समिति सिक्लेसका अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्रजंग गुरुङ (पारस)
सुरेन्द्रजंग गुरुङ (पारस)
लेखकबाट थप