शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सिक्लेसको सौन्दर्य

हिजो र आजको सिक्लेस

शुक्रबार, २८ मङ्सिर २०८१, ०८ : ४८
शुक्रबार, २८ मङ्सिर २०८१

कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर १ मा पर्दछ सुन्दर गाउँ, सिक्लेस । पछिल्लो समय आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा सिक्लेस गाउँ पर्ने गरेको छ । यहाँको कला, संस्कृति र प्राकृतिक  सुन्दरताले गाउँमा आउने पर्यटकलाई आकर्षित गर्ने गर्दछ । 

सिक्लेसबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई सजिलै लोभ्याउने गर्दछ । करिब चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै दोस्रो ठुलो गाउँ हो । सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि प्रख्यात छ । 

सिक्लेस हुँदै कोरी, क्हफुचे र गुरुङहरूको पैतृक थलो क्होलासोथर समेत सजिलै जान सकिन्छ भने सिक्लेसबाट तसा, कोरी, ठुल्ने, दुधपोखरी हुँदै मनाङसमेत निस्कन सकिन्छ । परापूर्वकालमा मनाङ नुन लिन जाँदा यो सिक्लेसको बाटो भएर जाने गरेको बताइन्छ । सिक्लेससँग विशेष गरी तीनवटा विशेषताहरू रहेका छन् । 

क. सांस्कृतिक विशेषता: 

सिक्लेस गाउँ गुरुङ जातिको बाहुल्यता भएको गाउँ हो । गुरुङ प्ये ( शास्त्र ) मा सिक्लेस गाउँको आफ्नै व्याख्या र महत्त्व पाउन सकिन्छ । गुरुङ समुदायमा प्ये म्हयस्या च्यीली याद अर्थात् शास्त्र हराए एक चोटि सिक्लेस पुग्नु भन्ने भनाई पनि छ । जसको तात्पर्य हुन्छ, गुरुङ समुदायको सांस्कृतिक इतिहासमा यो गाउँको महत्त्व । 

सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यीली भनेर चिनिन्छ । गाउँको नाम च्यीलीबाट कसरी सिक्लेस रहन गयो भन्ने बारे हालसम्म त्यस्तो कुनै यकिन तथ्य, प्रमाण तथा विवरणहरू फेला परेको छैन । यद्यपि गुरुङ समुदायको मौलिक प्येमा च्यीली भनेरै अध्ययन गर्ने गरिन्छ । जसलाई च्यीली क्याल्सा, च्यीली ङारु पनि भनिन्छ । 

गुरुङहरू क्होलासोथरबाट सिक्लेस बसाइसरि आउने क्रममा सुरुमा पाँच थरका गुरुङहरू आई बसेकोले सिक्लेसलाई च्यीली ङारु भनिएको गुरुङ खेकीहरु बताउँछन् । यहाँको भाषा, संस्कृति, परम्परा, रीतिथिति र चालचलनहरू नै सिक्लेस गाउँको प्रमुख विशेषता हो, जुन अन्य ठाउँमा पाउन सकिँदैन ।

ख. प्राकृतिक विशेषता

समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाइमा अन्नपूर्ण र लमजुङ हिमालको काखमा यो गाउँ पर्दछ । सिक्लेसको जहाँबाट हेर्दा पनि हिमाललाई देख्न सकिन्छ । गाउँको माथि नाँसाकोमा सिक्लेस पार्क निर्माण गरिएको छ भने चायाक्वोबाट हिमपहिरो खसेको मजाले देख्न सकिन्छ । अझ हिँड्न सक्नेहरूको लागि रिसिधुँ डाँडा (पछिल्लो क्रममा राजिङ डाँडा भनिएको ) बाट हिमाललाई नजिकै देख्न सकिन्छ ।

सिक्लेस र नजिकका घुम्नैपर्ने ठाउँहरू

१. सिक्लेस पार्क गाउँबाट २० मिनेट उकालो खुला चौरबाट हिमालको दृश्यावलोकन

२. चायाक्वो डाँडा गाउँबाट १५ मिनेट तेर्सो बाटो हिमाल र चराचुरुङ्गीको अवलोकन

३. इदी झरना गाउँबाट करिब १ः३० घण्टा झरना र चराचुरुङ्गीको अवलोकन

४. तातोपानी कुण्ड गाउँबाट करिब १ः३० घण्टा तातोपानीमा स्नान

५. कोरी गाउँबाट २ दिनमा पुग्न सकिने भुँइ फुल, हिमाल र वन्यजन्तु जनावरहरूको अवलोकन

६. क्हफुचे गाउँबाट १ दिनमा पुग्न सकिने हिमताल, हिमाल र वन्यजन्तु जनावरहरूको अवलोकन

७. ताराहिल टप गाउँबाट १ दिनमा पुग्न सकिने,

घलेखर्कबाट पनि आउन सकिने हिमशृङ्खला, गुराँस, वन्यजन्तु जनावरहरूको अवलोकन

८. त्ही डाँडा गाउँबाट १ दिनमा पुग्न सकिने हिमशृङ्खला, गुराँस, वन्यजन्तु जनावरहरूको अवलोकन

९. क्होलासोथर गाउँबाट १ दिनमा पुग्न सकिने गुरुङ समुदायको बस्तीको पुरानो भग्नावशेषहरू रहेको, अध्ययन अनुसन्धानको थलो ।

१०. सिक्लेस म्युजियम गाउँभित्रै गुरुङ समुदायसँग सम्बन्धी पुराना पुराना सामाग्री र इतिहासबारे जानकारी हुने

११. क्होँइवो धीँ गाउँको दायाँ र बायाँ दुई ठाउँमा मौलिक वोन धर्मको आस्थाको केन्द्र, गुरुङ संस्कृतिका वारे जानकारी

ग. राजनीतिक इतिहास: 

सिक्लेसले देशको मुख्य राजनैतिक घटनाक्रममा ठुलो भूमिका खेलेको छ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , अर्का नेता बाबुराम भट्टराई मिति २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक कृष्ण प्रसाद सिटौला सिक्लेस आई विस्तृत शान्ती सम्झौताको खाका सिक्लेसबाटै कोरिएको हुनाले शान्ति सम्झौताको प्रस्थान विन्दुको रूपमा नेपाली राजनीतिको इतिहासमा सिक्लेसलाई लिने गरिन्छ ।

सिक्लेसमा पर्यटनको अवस्था:

कास्की जिल्ला मादी गाउँपालिका वडा नं १ मा पर्ने सिक्लेसमा हाल पर्यटनको अवस्था सन्तोषजनक छ । बाह्य भन्दा आन्तरिक पर्यटकले भरिपूर्ण हुने सिक्लेसमा दैनिक रूपमा ४/५०० सय पर्यटक गाउँमा भित्रिने गर्दछ भने शुक्रवार र बिदाको दिनमा भने त्यसको तीन गुणा जस्तो सङ्ख्यामा पर्यटक गाउँ आउने गर्दछन् । यद्यपि होटल होमस्टेले पाहुनाको विवरण राख्ने कार्य भने गर्न सकेको छैन । सिक्लेसमा हाल सिक्लेस सामुदायिक होमस्टे समिति मातहत ३७ वटा होमस्टेहरू र सिक्लेस होटल व्यवस्थापन समिति मातहत ४७ वटा होटलहरु सञ्चालनमा रहेका छन् ।

  • सिक्लेसको पर्यटनमा देखिन सक्ने चुनौती तथा समाधान:

१. गाउँको घरको स्वरूप परिवर्तन: 

दिन प्रति दिन सिक्लेसमा घरहरू थपिने क्रम जारी छ । सिक्लेसको पुरानो ढुंगा माटो र जस्ताले बनेको घरको स्वरूप बिस्तारै परिवर्तन हुन थालेको छ । पुराना ती स्वरूपहरू सिमेन्ट र ढलान घरहरूले विस्थापित गर्ने देखिन्छ । जसले गर्दा सिक्लेसकै पुरानो स्वरूप कुरूप बन्ने उत्ति नै सम्भावना छ । यसको लागि स्थानीय स्तरबाट र गाउँपालिकाबाट सिक्लेसको लागि एउटै छुट्टै बिल्डिङ कोड बनाई लागु गर्न सके सिक्लेस पछिसम्म सिक्लेसकै संरचनामा रहनेछ । 

२. पदमार्ग व्यवस्थापन:

हाल सिक्लेसबाट सिक्लेस कोरी, सिक्लेस क्हफुचे, सिक्लेस क्होलासोथर, सिक्लेस ताराहिल , सिक्लेस मनाङ र सिक्लेस त्ही डाँडा लगायतका पदमार्गहरू सञ्चालनमा छन् । यी सबै पदमार्गहरू मध्ये सिक्लेस कोरी, सिक्लेस क्हफुचे पदमार्गमा मात्र खाना बस्नको सुविधा छ भने अन्य पदमार्गहरूमा खाना बस्नको लागि स्वयमले व्यवस्था गरि जानुपर्ने हुन्छ । पछिल्लो क्रममा एकदमै चलेको पदमार्ग भनेको सिक्लेस कोरी, क्हफुचे पदमार्ग हो जहाँ खाना बस्नको लागि साना साना होटलहरु सञ्चालनमा रहेका छन् । ती पदमार्गहरूको स्तरोन्नतिको लागि एक्याप कार्यालय, वडा, गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था हुने गरेको छ । तर ती क्षेत्रहरूमा निर्माणाधीन तथा निर्माण हुन लागेका ठुला ठुला परियोजनाहरू जस्तै हाइड्रोपावर, केबलकार जस्ता परियोजनाहरूले ती पदमार्गहरूलाई नकारात्मक प्रभावहरू पार्ने उत्तिकै सम्भावना रहेको देखिन्छ । कोरी, क्हफुचे पदमार्गको अलावा सम्भावना एकदमै भएको तर प्रचारमा नआएका अन्य पदमार्गहरूको विकास प्रवर्धनको लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्छ ।

३. पर्यटन व्यवसायी र पर्यटकहरूको लागि आचारसंहिता:

गाउँमा पर्यटकहरू आएसँगै राती अबेरसम्म होहल्ला गरेको, आपसमा झैझगडा हुने गरेको तथा फोहोरमैला समेत बढ्न थालेको गुनासाहरू स्थानियवासीबाट आउने गरेको छ । त्यसैले पर्यटन व्यवसायी र पर्यटकहरूका लागि वडा कार्यालयले पर्यटन व्यवसायीहरूसँग बसेर गरेका आचारसंहिताहरू अक्षरशः पालना गर्नुपर्ने देखिन्छ । अन्यथा भोलिको दिनमा स्थानीयबाट नो मोर टुरिजम इन सिक्लेस समेत भन्न सक्ने सम्भावना छ ।

४. थप नयाँ गन्तव्यहरूको पहिचान:

गाउँमा आउने पर्यटकहरूलाई सिक्लेस बसाइ लम्ब्याउनको लागि थप नयाँ नयाँ गन्तव्यहरूको पहिचान गरी त्यसको प्रचार र विकासको लागि थप वडा गाउँपालिका, एक्याप, स्थानीय व्यवसायी र पर्यटनसँग निकायबिच समन्वय गर्नुपर्ने देखिन्छ ।

सिक्लेस कसरी पुग्न सकिन्छ ?

पोखराबाट ३८ कि.मी दुरीमा रहेको सिक्लेस पुग्नलाई पोखरा १३ काहुँखोलामा गाडी पाउने गर्दछ । हिउँदको समयमा बाइक, स्कुटर, जिप, बसमार्फत सिक्लेस आउन सकिन्छ भने वर्षायाममा बाइक र जिपमार्फत सिक्लेस आउन सकिन्छ । काहुँखोलाबाट विजयपुर, छाचोक, तप्राङ, चिप्ली, खिलाङ, पार्चे गाउँ हुँदै सामान्यतय २ देखी ३ घण्टाको समयमा सिक्लेस आइपुगिन्छ ।  जिपमा प्रतिव्यक्ति रु ५००, बसमा प्रतिव्यक्ति रु ४०० तिरेर पोखराबाट सिक्लेस आउन सकिन्छ । जिप मान्छे भरेपछि जुनसुकै समयमा पनि आउँछ भने बस चाहिँ बिहान र दिउँसोको समयमा आउने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीजंग गुरुङ
देवीजंग गुरुङ
लेखकबाट थप