स्वरूप गुमाउँदै सिक्लेस
पोखरा । एकै लहरका घर, जस्ताको छाना । आँगन र बाटोभरि ढुङ्गाका छपनी । उत्तरतिर चियाउँदा आँखैअघि सेताम्मे हिमाल । जोसुकै सिक्लेस पुगेपछि भन्छन्, ‘आहा क्या राम्रो गाउँ, कति सफा ठाउँ ।’ १० वर्षअघि सिक्लेसको स्वरूप अझै फरक थियो । अहिले जस्ता टाँगिएका छाना उतिबेला ढुङ्गाका थिए । प्रायः गुरुङ गाउँहरू यसरी नै सजाइएका हुन्छन् । यही हेर्न र प्रकृतिसँग रम्न पर्यटकहरू सिक्लेस पुग्छन् । धेरै टाढाको कुरा होइन, १० वर्षअघि सिक्लेसमा पाहुना बोलाउन ठाउँठाउँ पुग्थे स्थानीय ।
अहिले अवस्था फेरिएको छ, पाहुना व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ उनीहरूलाई । थेग्नै नसक्ने गरी पर्यटक जान थालेपछि सिक्लेसका वडाध्यक्ष देविजंग गुरुङले अलि समयअघि फेसबुकमा स्ट्याटस लेखे, ‘सम्बन्धित होटलसँग समन्वय नगरी, सूचना नलिई सिक्लेस नआउनुहोला । होटलहरु भरिभराउ भएका कारण दुख हुन सक्छ ।’ यस्तै खालका सूचना उनले पटक पटक पोस्ट गरिरहनु परेको छ । सिक्लेसमा भएका होमस्टे र होटलले धान्नै नसक्ने गरी पर्यटक पुगेपछि कतिपय पर्यटकहरू रातसाँझ गरेर पोखरा फर्किनुपर्ने बाध्यता छ ।
सिक्लेसमा यसरी पर्यटक ओइरन थालेको उति लामो समय भएको छैन । २–३ वर्षयता चाहिँ आन्तरिक पर्यटकले लगभग बाह्रमास भरिभराउ हुन्छ, सिक्लेस । यहाँ ३५ हाराहारी होटल र ३७ वटा होमस्टे छन् । होटल र होमस्टे प्रायः भरिभराउ हुन्छन्, खासगरी शुक्रबारको साँझ । कोलाहलबाट नजिकै हिमालको काखमा सुस्ताउने गज्जबको गन्तव्य हो सिक्लेस् । तर, गाउँ भित्रिने पर्यटकको आधिकारिक तथ्याङ्क कुनै पनि निकायसँग छैन ।
होटल र होमस्टेमा बसेका पाहुनाहरूको गणना गरेर हिसाब जोड्दा शुक्रबारको दिन १५ सयसम्म पर्यटक गाउँमा पुगेका होमस्टे समितिकी अध्यक्ष टाइमाया गुरुङले बताइन् । ‘शुक्रबार पाहुना स्याहार्न हम्मेहम्मे पर्छ । अरू दिन पनि कुनै घर रित्तो हुँदैनन्,’ उनले भनिन्, ‘यसरी पर्यटक सिक्लेसमा ओइरेलान् भनेर कल्पनासम्म पनि थिएन ।’ सिक्लेसमा बर्सेनि १ लाखभन्दा बढी पर्यटक पुग्छन् ।
२०७८ मा ३५ हजार हाराहारी पर्यटकले सिक्लेस घुमेको अनुमानित तथ्याङ्क छ । २०७९ मा त्यो बढेर ६० हजार कट्यो । २०८० मा १ लाख पर्यटक सिक्लेस पुगेका थिए । यो वर्ष अझै बढ्ने अनुमान छ । पर्यटकको भीड लागेपछि नयाँ नयाँ होटलहरु थपिने क्रम जारी छ । लामो समय मकाउमा जागिर र व्यवसाय गरेर फर्किएका लेखबहादुर गुरुङ २ वर्षदेखि सिक्लेसमा होटल खोलेर बसेका छन् । गाउँमा पर्यटकहरू बढ्न थालेपछि उनी मकाउलाई चटक्कै छाडेर गाउँ फर्किन राजी भएका हुन् ।
‘कमाई त उता पनि राम्रै थियो । गाउँमा पर्यटक भरिन थालेको देखेपछि मकाउ फर्किन मन लागेन,’ उनले भने, ‘होटल खोलेर बसेको छु । यहाँ पनि राम्रो कमाइ हुन्छ ।’ लेखजस्तै गहनसिं गुरुङ पनि हङकङको विलासी जीवन छोडेर सिक्लेस फर्किएका छन् । ४ वर्षदेखि उनले होटल चलाउन थालेका हुन् । वर्षैपिच्छे होटलहरु थपिने क्रम जारी छ । कास्कीबाट मनाङ जोड्ने पदयात्राको गेट–वे पनि हो सिक्लेस ।
- सिक्लेस छिरेको सहर
पर्यटकको आगमनसँगै होटलहरु थप्ने होडले सिक्लेसको प्राचीन स्वरूप गुम्ने डर गाउँलेलाई छ । अहिले बनाइएका भवन संरचनाहरू कङ्क्रिटका छन् । ढलान घरहरू बनाउँदा पुरानो स्वरूपमा धक्का लाग्ने स्थानीय अगुवा टंक प्रसाद गुरुङ बताउँछन् । सरकारले सिक्लेसलाई सांस्कृतिक ग्राम घोषणा गरेको छ । ‘नेपालका १ सय पर्यटकीय गन्तव्यमध्ये एउटा सिक्लेस पनि हो । तर अहिले जुन हिसाबले ठूल्ठूला आरसीसी भवनहरू बनिरहेका छन्, यसले सांस्कृतिक ग्राम रहिरहन्न कि भन्ने चिन्ता छ,’ उनले भने, ‘नक्सापास विना अव्यवस्थित रूपमा भवनहरू बनिरहेको छ । बेलैमा रोक्न सकिएन भने यसले नकारात्मक असर भविष्यसम्म पार्न सक्छ ।’ सिक्लेसको बनोट भिरालो भएकोले ठूला भवन बन्न नहुने उनको तर्क छ ।
‘यही पुराना शैलीका घर हेर्न पर्यटक बढी लालायित हुन्छन् । कङ्क्रिटका बिल्डिङ नै ठड्याउने हो भने सिक्लेस किन आउने ?,’ उनले अघि भने, ‘आज एउटा, भोली अर्को गर्दै सहर नै सिक्लेसमा छिर्दैछ । त्यसलाई हामीले रोक्न सक्नुपर्छ ।’ कङ्क्रिटका संरचना बनाउन नहुनेमा सबै सहमत त छन्, कार्यान्वयन भएको छैन । अचेल सिक्लेस पुगेका पाहुनाहरू पनि पुरानो स्वरूप जोगाउन सुझाउँछन् । ‘पहिला भिडियो र फोटोमा देखेको सिक्लेस अहिले छैन रहेछ । गाउँका बिचबिचमा ढलानका घरहरू बनेछन्,’ सिक्लेस पुगेका इन्जिनियर समेत रहेका उदय बास्तोलाले भने, ‘यहाँ पर्यटक आइरहुन् भन्ने हो भने हिजोको सिक्लेस रहिरहनुपर्छ । नत्र पछुताउनुको विकल्प रहँदैन ।’
वडाध्यक्ष देविजंग गुरुङले सिक्लेसको स्वरूप बिग्रिन नदिन गाउँसभा र कार्यपालिका बैठकमा पटक पटक प्रस्ताव राखिसकेको बताए । ‘जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै पर्दैन आजकल । त्यो हाम्रो काबु बाहिरको कुरा हो । काबुमा के छ भने सिक्लेसको स्वरूप बिग्रिन नदिने हो,’ उनले भने, ‘गाउँपालिकामा पटक पटक कुरा उठाउँदै आएको छु । यो स्वरूप कायम राख्न सके मान्छे आउने हो, सिक्लेसलाई पोखरा, काठमाडौँ जस्तो बनाउने होइन ।’
पुरानो सिक्लेस भविष्यसम्म जीवित राख्न छुट्टै बिल्डिङ कोड आवश्यक रहेको उनले बताए । ‘सिक्लेसको स्वरूप जोगाइराख्न छुट्टै बिल्डिङ कोड बनाइनुपर्छ । नक्सापास विना घर बन्न नदिने गरी कडा कानुन कार्यान्वयन गर्नुपर्छ,’ अघि भने, ‘गाउँसभाबाट कानुन पास गरेर कार्यान्वयन गर्नुपर्यो । बिल्डिङ कोड पालना गर्नेलाई बरु कर सहुलियत दिन सकिन्छ ।’ सिक्लेसमा बनिरहेका घरले नक्सापास नगरेका उनले सुनाए । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल गौतम स्थानीय सहमत भए सिक्लेसको छुट्टै भवन संहिता बनाएर लागू गर्न सकिने बताउँछन् ।
‘अण्डा भित्रबाटै फुट्यो भने चराको जीवन बन्छ । बाहिरबाट फुट्यो भने त्यही अण्डाबाट जीवन ध्वंस हुन्छ । आफ्नै संरचना भएको पुरातात्त्विक गाउँ हो सिक्लेस । हामीले नियम बनाएर लागू गराउँदा समस्या आउन सक्छ । बरु सिक्लेसका नागरिकले स्वः स्फूर्त रूपमा नीति बनाए त्यो बढी कार्यान्वयन होला,’ उनले भने ‘जे होस्, हामी सभा र कार्यपालिका बैठकमा यो गम्भीर विषयमा छलफल चलाउँछौँ । एउटा निर्णयमा त पुग्नैपर्ने भयो । नत्र सिक्लेस लामो समय देख्न पाउने अवस्थामा रहँदैन कि भन्ने चिन्ता पालिकालाई पनि बढेको छ ।’
- सिसा प्रतिबन्ध, फोहोर पोखरा ‘रिटर्न’
सिक्लेसमा सिसाजन्य बस्तुहरू प्रतिबन्ध छ । गाउँले पनि लैजाँदैनन् । अरूले पनि लान पाउँदैनन् । त्यति मात्रै होइन, सिक्लेस पुर्याइएका फोहोर जम्मा पारेर गाडीबाट पोखरा नै फिर्ता गरिन्छ । ‘हामीलाई थाहा छ पाहुनाले पैसा मात्रै ल्याउँदैनन्, फोहोर पनि ल्याउँछन् । होटल, होमस्टे र किराना पसलमै सिसा ल्याउन नदिने निर्णय गरे फोहोर कम होला भनेर कडाइका साथ कार्यान्वयन पनि गरेका छौँ,’ होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजंग गुरुङले भने, ‘महिनामा २ दिन फोहोर सङ्कलन गरेर गाडीबाट पोखरा पठाउने गरिएको छ । यसमा एक्यापले पनि सघाएको छ ।’ खानामा अर्ग्यानिक स्वाद पस्किन प्रयास गरिरहेको उनले सुनाए । ‘होमस्टेमा आउँदा होमस्टेको स्वाद पाउनुपर्यो, होटलमा बस्दा होटलकै स्वाद पाउनुपर्यो । यो विल्कुल फरक हो भन्ने बनाउन सकेका छैनौँ,’ अघि भने, ‘वडा र पालिकाले विशेष नीति बनाएर कार्यान्वयन गराए सजिलो हुन्थ्यो ।’
सिक्लेस प्राकृतिक र सांस्कृतिक ठाउँ त हो नै । नेपालको राजनीतिलाई शान्त बनाउने सेतु पनि हो । तत्कालीन माओवादी र सरकारबिच शान्ति प्रक्रियाको वातावरण यही ठाउँमा बनेको थियो । द्वन्द्वरत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई २०६३ साल असार २ गते सिक्लेसबाट नै पहिलो पटक सार्वजनिक भएका थिए । त्यही सम्झनामा २०७५ सालमा यहाँ शान्ति स्तम्भ निर्माण गरिएको छ । गाउँको पूर्व र पश्चिमतिर क्हैंवो निर्माण गरिएको छ । सिक्लेस झल्काउने सङ्ग्रहालय छ । संरक्षण क्षेत्रभित्र पर्ने भएकोले प्रकृति सुन्दर छ । सुन्दरता र मौलिकता जोगाइराख्नु बडो चुनौतीपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
-
स्वास्थ्यकर्मीहरूलाई सरकारी सरह पारिश्रमिक दिन निजी अस्पताललाई मन्त्रालयको निर्देशन
-
मन्त्रालयको दराजमा थन्कियो सुरुङ मार्ग
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु
-
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी